सुलसुलेसङ्गीतको अभिलेख र दर्जन एल्बम
काठमाडौं/२०७१ चैत्र ४ । सङ्गीतकार बुलु मुकारुङद्वारा सङ्गीतबद्ध १२ एल्बम र उनले लेखेको अनुसन्धानमूलक किताब ‘नेपाली संगीतको अभिलेख’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा सबै कृति एकसाथ सार्वजनिक गरिएको हो ।
पुस्तकमा लिच्छविकालदेखि अहिलेसम्मका नेपालभित्र र बाहिरका नेपाली सङ्गीतकर्मी, साङ्गीतिक गतिविधि, सांगीतिक सङ्घ–संस्था लगायतका बारेमा उल्लेख गरिएको छ । किताबमा ६ हजार नेपाली सङ्गीतकर्मीको परिचय तथा उनीहरूका कृतिका बारेमा जानकारी दिइएको छ ।
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले पुस्तक नेपाली सङ्गीत इतिहासमा अहिलेसम्मकै महत्वपूर्ण भएको टिप्पणी गरे । राजनीतिक आन्दोलनमा समेत जोडिएका मुकारुङले सङ्गीतको इतिहासमा पनि उत्कृष्ट योगदान पुर्याएको उनको भनाइ थियो ।
कार्यक्रममा सन्देश पठाउँदै प्रधानमन्त्री सुशील कोइरालाले अहिलेसम्मको नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्याएका स्रष्टाको अभिलेख रहेको किताबबाट सङ्गीतकर्मीलाई प्रेरणा मिल्ने उल्लेख गरेका थिए ।
१६ वर्षसम्म अध्ययन र अनुसन्धान गरेर पुस्तकको रूप दिन सकिएको लेखक मुकारुङले बताए । नेपाली सङ्गीत क्षेत्रमा भएका नयाँ विकासलाई आगामी संस्करणमा अद्यावधिक गरिने उनले जानकारी दिए ।
पुस्तकमा नेपालबाहेक सिक्किम, दार्जिलिङ, देहरादुन लगायतका भारतीय भूमि र बर्मामा समेत रहेका नेपालीभाषी सङ्गीतकर्मीलाई समेटिएको छ ।
२०३६ सालको जनमत सङ्ग्रहपछि विद्यार्थी राजनीतिमा पनि मुकारुङ सक्रिय थिए । कार्यक्रममा त्यस बेलाका उनका सहयात्री शोभाकर पराजुलीले राजनीतिक आन्दोलनमा पाएको दुखकष्ट संस्मरण गरे ।
विभिन्न साहित्यकारको रचना समेटिएका गीतहरू रहेका सुदीपन, अधरको मुस्कान, मुटुमा राखेको मान्छे, आगत, कैले कैले, प्रवास बोल्छ, घराना, नारी तिमी, यो मनको कुरा, चुम्बनबाट, जिन्दगीको बाटो र के मागौं नामका एल्बमहरू सार्वजनिक गरिएको हो ।
एल्बममा साहित्यिक क्षेत्रमा चर्चित तर गीत रेकर्ड नभएका स्रष्टाका गीतलाई समावेश गरिएको मुकारुङले जानकारी दिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य र सङ्गीतमा एकै स्रष्टाको यति धेरै कृति एकसाथ आउनु सुखद भएको बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो रचना रहेको एल्बमबाट सङ्कलित रकमको बाँकी ५० प्रतिशतमा त्यति नै थपेर उपचाररत गजलकार कौशला लामिछानेलाई सहयोग गर्ने घोषणा गरे ।
आर्थिक अवस्था कमजोर भएकी ब्लडक्यान्सर पीडित लामिछानेको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ ।
अन्नपूर्णपोष्ट
Subscribe
Login
0 Comments
Oldest











































