साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई स्वास्नीको पोइ, कुना पसी रोइ

Nepal Telecom ad

निवासमा एक हातमा टुपी र एक हातमा चुल्ठो भएपछि त्यसलाई गृहयुद्ध भनिन्छ । यसरी निजी बुढाबुढीमै तँछाडमछाड चल्छ भने कहिले परालको आगो भएर बल्छ त कहिले भुसको आगो भएर जल्छ । त्यसैले आगो आगै हो, यसले सबैलाई दहन गर्न पनि सक्छ र मुख्य कर्मलाई बहन गर्न पनि सक्छ । जे होस्, टुपी र चुल्ठाबाट पैदा भएको आगालाई ख्यालख्यालमा नलिनोस् यसले तपाइँ स्वयं भँड्खालामा पर्न पनि सक्नुहुन्छ ।
लोकसेवा आयोगले नेपाली भाषालाई लात मारे पनि स्वास्नीको अर्थ हुन्छ सु–चरित्रवती स्त्री सधवा पत्नी हुन्छ भने ‘पोइ’ भन्नाले कसम खाएर स्वास्नीको गाँस, बास र कपासको जिम्मा लिने, अर्धाङ्ग बन्ने प्रण गर्ने ‘खसम’ भन्ने बुझिन्छ । उमेरले मस्त–मस्त तरुनी, तन्नेरी भए पनि यी दुवैको अर्को नाता हो बुढाबुढी । यहाँ बुढाबुढीलाई दुई फ्याकमा बाँड्न सकिन्छ– एकथरी बुढाबुढीको कपाल फुलेर सेताम्य हुन्छ ने अर्काथरी जवानीको पहिलो प्रहरमा पाइला टेकेका हुन्छन्, तिनको कपाल आद्योपान्त कालाम्य नै हुन्छ । एकथरी बुढाबुढीको गालाको छाला सातपत्रेझैं मुजा परेको हुन्छ भने अर्का थरीको गालाको छाला मुटु कलेजोझैं पुस्टायमान हुन्छ, जसलाई जति चाटे पनि चाटूँ–चाटूँ लाग्छ । जब यसरी चाटूँ–चाटूँ लाग्ने उत्कट इच्छालाई खुम्च्याएर राख्न सकिँदैन तब निवासमा अर्धानो पत्नीको ठाउँमा नयाँ पत्नीलाई प्रतिस्थापन गर्न पुगिन्छ । यो स्थिति नै यस लेखको टाउको हुनपुगेको छ ।
जब कुनै बहादुर वरले एउटी वधूलाई दाउँदा–दाउँदै अर्की मोरीलाई पनि भ्याउन पुग्छ त्यो अवस्थामा ती वीरपुरुष दुइटी स्वास्नीको पोइ हुन्छन् । यसरी दुइटी स्त्रीको मिस्त्री भएपछि त्यस सज्जनले सपना पनि पूरापूरी देख्न पाउँदैन, खुराक पनि समयमा आउँदैन, एकलौटी माया कसैलाई दिन पाउँदैन, निवासमा कुनै दिन शान्ति छाउँदैन, त्यसैले एउटा पोइले दुइटी श्रीमती ल्याउन पनि स्वाउँदैन । जब यस्तो समस्याको चक्रले फन्को मारिराख्छ तब ती वीर पोइ कुना पसी रोई’ हुनपुग्छन् ।
“पहिले, वराजुको पालामा पैसा गन्थे डालामा, आज हाम्रा पालामा पीठो छैन थालमा ।” किन यस्तो भयो त भन्दाखेरि उस बेलामा मर्दका दशवटी हुन्थे । दशवटी पत्नीको दाइजो काँ जाओस् ? अनि बाजेले डालामा पैसा नगनेर केमा गनून् त ? हाम्रा पालामा पीठो पनि छैन, पीठो पनि कसरी होस् लिटो नपाएको बेलामा । दाइजोको लागि एउटीभन्दा अधिकलाई आफ्नो वशमा ल्याउन पनि पाइँदैन । उस बेलामा ‘जसको भैंसी उसको वन’ भनेझैं आज त भैंसी भए पनि डाँडाकाँडाको तालु खुइलेको कारणले भैसी विनाश भइराखेको छ ।
मर्दले ल्याउँछ नामर्दले कुरा गर्छ भन्नुहोला । उस बेलामा दशवटी स्त्रीको मिस्त्री हुन चाहनु चानचुने कुरा थिएन । प्रत्येक मैयाँको साथमा रात बिताउने शैयासाथै उर्वरा भूमि भएकाहरूलाई जति सेवा प्रदान गर्न सक्यो उति नै डाँडाकाँडा ढाक्ने मेवा पैदा गर्न सकिन्थ्यो, तर “आज नातिका पालामा बेसन छैन थालमा, रक्सी हुन्छ प्यालामा, काम पाइँदैन ज्यालामा” । एउटी स्त्री त घाँडो हुन्छ भने दुइटीलाई कसरी ख्वाउने फाँडो ? कित हुनुप¥यो ठूलो भाँडो हैन भने मिल्दैन चाँजो ।
हुन त, युगै यस्तै छ रुखो युग, न कतै शान्ति छ न अनुहारमा कान्ति छ, न स्वास्नी प्रशस्त भित्र्याउन पाइन्छ, न भुराभुरी प्रचुर मात्रामा जन्माउन लाइन्छ, न मीठो–मसिनु हसुर्न पाइन्छ, न प्रशस्त जग्गा कमाइन्छ, न विदेश वैरिन सकिन्छ न वस्त्र पैरिन सकिन्छ । आफ्नो मान्छे सत्तामा गए पनि सुख छैन नगए पनि सुख छैन । अझ जानी–जानी दुइटी भित्र्याएर आफू विकासको शून्य चरणमा र नामर्दको अन्तिम चरणमा पुगेको छु ।
सरकारले भन्छ, “छोरो या छोरी बराबरी ।” छोरो नै चाहिन्छ भन्छन् दुइटी मोरी, आखिरी जन्माउन त केही थिएन, पखेटा लाइदिने के गरी ? सन्तानदेखि लिएर सरकारसम्मले दुःख दिए । यसो सन्तानको पखेटासम्म लाईदिन पाए बम्बै या हङकङसम्म जाने थिए र एड्स भित्र्याएर नेपालीलाई ढाडस दिने थिए कि ?
वरले खोज्छ राम्री चिटिक्क परेकी, जति चिले पनि कम्बर बारुलाको समान, आँखामा जति रङ पोले पनि परेवाको समान, कपाल जस्तै कुरूप देखिए पनि वाईवाई (नुडल्स) आकारको औ“लाका नङ नङ नभएर नङ्ग्रा भएकी निबुवाकेस्री ओठ भएकी, दारिमका दानाझैं दाँत भएकी, जिभ्रो फड्कार्न नेताभन्दा सिपालु, कलमबाहेक शस्त्रअस्त्र चलाउन पोख्त, हिँडाइ खुराक पुगेको घोडाको समान, पशुपतिमा माझेर राखेको पी“धविनाको गडुवाजस्ती यस्ती आधुनिकताले ओतप्रोत वधूलाई एकैचोटि होस् वा एकपछि अर्को भित्र्याइन्छ भने त्यस सदनमा शंका छैन रणचण्डी मच्चिन्छ । चिताउँदै नचिताएको शून्य समयमा पनि भुइँचालो जान्छ, एउटाले ख्वाउँछ, अर्काले खान्छ भयङ्कर भुमरी चल्छ, हात मासी सब गल्छ, फलतः पतिको पुर्पुरोमा अगणित टुटुल्का फल्छ या पोइको टाउको खोइ भन्नुपर्छ ।
नेपाली राष्ट्रिय आभूषणले युक्त भएकी सुकन्यालाई भित्र्याउँदा त रि“गटा लाग्छ भने आधुनिक त्यस माथि पनि दुइटी परीलाई भित्र्याएर मनपरी गर्नदिँदा वरलाई उपर्तली नहुने त कुरै भएन । अनि त श्रीमान् स्वयं धाराशायी हुनपुग्छन् ।
कुनै काम वा सभा–समारोहमा गएर लखतरान भएर घर फर्किदा तपाईंकी दुइटी वधूको जादू देखेर तपाईं तीनछक्क परेर एक मग पानी पिउन नपाई जिउन बाध्य हुनुहुनेछ । प्रथम प्यारीले भन्छिन् ‘कान्छीले देली नि खाना’, दोस्री प्यारीले बक्छिन् ‘जेठीले देली नि दाना’, ‘तैं रानी मैं रानी कसले भर्ने कुवाको पानी’ ? बिचरा वीर वर जेठीको पनि आसे कान्छीको पनि आसे दुइटी स्वास्नी आफ्नै पोइको तमासे । अनि बहादुर वर भन्न बाध्य हुन्छ– “म किन बाँचे“” । जश पाइँदैन कान्छीसँग नाचे र जेठीलाई साँचे । उठ्यो चिन्ता, सुत्यो चिन्ता, बस्यो चिन्ता, हाँस्यो चिन्ता, रोयो चिन्ता, छोयो चिन्ता, आयो चिन्ता, गयो चिन्ता, छुट्यो चिन्ता, भेट्यो चिन्ता, ओक्र्यो चिन्ता, फक्र्यो चिन्ता त्यसैले दुइटी स्वास्नीको पोइ कुना पसी रोई, आजीवन चिन्ता, बाँचे पनि चिन्ता, नबाँचे पनि चिन्ता, चिन्तैचिन्ता ।
जेठी पत्नीलाई चिसो लाग्छ र नौं ठेकी तेल लगाएर सेक्यो कान्छी चिसिने, कान्छीलाई सर्दी लागेर गरम सर्बत पिलायो, जेठीलाई उपर्तली हुने, जेठीलाई माया ग¥यो कान्छीलाई छाया पर्ने, कान्छीको शरण प¥यो जेठीले मरण गर्ने, लगनगाँठो कसि“दै जान्छ कि भन्दा फुस्किदै जान्छ, कहिले होला मर्ने दुइटी स्वास्नीको पोइले कसो गर्ने ? के गरेर वैतरणी नदी पार तर्ने ? कि यो अवोध वरको बीमा गर्ने ? दुइटी ठिटीलाई एकै ठाउँमा राखेर सोधू त मेरै गालामा दागा धर्ने, बेथा हुन्छ वरको छेर्ने, न जेठीले टेर्ने न कान्छीले टेर्ने, आफ्नो शिक्षा भएर के गर्ने ? दुइ–दुइटीको पोइ, ख्वाउने कमाइ खोइ ? अनि त कि, चुनाव लड्ने ? कि देशै छोड्ने ? कि मायैं तोड्ने ।
एउटी मात्र वधु हुन्थिन् भने चरित्रमा शंका गर्नु पर्थेन । पकाउँथिन् ख्वाउथिन्, जुटाउँथिन्, चुठाउँथिन्, सुताउँथिन्, उठाउँथिन्, डुलाउँथिन, हगाउँथिन्, मुताउँथिन् रिसाए फुल्याउँथिन्, रोए भुलाउँथिन्, क्या मजा भात भने भात, खाजा भने खाजा ।
कान्छी भित्र्याएर आफ्नै खुट्टामा आफैले बन्चरो हानिन्छ । दोहोरो मायाजालमा परौंला र हाइसञ्चले मण्डल मारौला, दोहोरो चाकरी पाउँला, मायापीरती बढाउँला, दुवैलाई हँसाउँला, घरजम बसाउँला– यी सबै सपनाका महल हुन् ।
महँगी र आधुनिकताले शत्रुलाई गोदेझैं गोदेको छ, दुइटी रानीको सेवामा कुनै कमी आउनु हुँदैन, सुताउने, उठाउने, हँसाउने, घुमाउने, नुहाउने, धुवाउने, आहार खुवाउनेदेखि सिँगार जुटाउनेसम्म वरकै थाप्लामा आइपर्छ । धन्न टीका टिकुलियाँको भाउ सरकारले घटाइदियो र बृहत् राहत हात लाग्यो । दुइटी भित्र्याएको पनि यसैको हुटहुटीले हो ।
पीर र कुपोषणले खुम्चिएका निधारका मुजा नेपालको विकास बढेझैं बढेका छन् । चाउरी हेरेर सरकारले राहत दिन्थ्यो भने मलाई नै पहिला दिन्थ्यो होला । के गर्ने चाउरीको ख्यालै गरेन उमेरलाई हे¥यो, मजस्तालाई पर्नु पीर प¥यो ।
कान्छीलाई काखी च्यापे जेठी दाह्रा किट्ने, जेठीलाई काखी च्यापे कान्छी कट्टी झिक्ने, जेठीलाई चिमोटे कान्छीको हड्डी हाँस्ने, कान्छीलाई निमोठे जेठी गर्भायमान हुने, कसलाई छुने कसलाई नछुने, कसलाई दुने (दुहुने) कसलाई नदुने, त्यसैले दुइटी स्वास्नी कसै गरे पनि नहुने । पति कति रुने ? न जेठीले दिन्छे आहार न कान्छीले दिन्छे आहार, आहारै हात लाग्दैन भने स्याहारको त कुरै नगरौं । जस्तै मै हुँ भन्नेको पनि दुइटी पत्नीको अगाडि माथ झुकेको हुन्छ र अथाह पीर लुकेको हुन्छ ।
दुइटी स्वास्नी ल्याएर कुनै गर्जो टर्दै टर्दैन भने दुइटी स्वास्नीको पोइ कुना पसी रोई कसले गर्नु पर्दैन ?
फुलबारी, पोखरा (कास्की)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x