साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञाले मनायो कविता दिवस

Nepal Telecom ad

काठमाडौं, ०७१ चैत ८ । विश्व कविता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, पद्य विभागले एक कविता गोष्ठीको आयोजना गरेको छ । उक्त अवसरमा प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले ‘कविता साहित्यका सबै विधामध्ये सर्वाधिक लोकप्रिय र शिखर विधा हो, जसलाई युनेस्कोले समेत मान्यता दिएर यसलाई प्रमाणित गरेको’ बताउनुभयो ।

कार्यक्रमका संयोजक प्राज्ञ अमर गिरीले कार्यक्रमबारे प्रकाश पार्दै कविता सन् १९९९ मा युनेस्कोले पेरिसमा २१ मार्चलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको बताउँदै कविताले सामाजिकतालाई समृद्ध बनाउने बताउनुभयो ।

यसै गरी प्राज्ञ श्रवण मुकारूङले कविता सम्बन्धी धारणा राख्दै भन्नुभयो, ‘कविता भनेको लेख्दै जाँदा समृद्ध बन्दै जाने कुरा हो । आजका कविताहरू विचारले लेखिँदैछन् । बेला बेला कविता सङ्कटमा छ भन्ने बहस चल्छ तर यसमा सत्यता छैन ।’

कार्यक्रममा दिनेश अधिकारी, मन्जु काँचुली, पुरुषोत्तम सुवेदी, पूर्णविराम, पूर्ण वैद्य, सुलोचना मानन्धर, प्रह्लाद पोखरेल, राधेश्याम लेकाली, नरनाथ लुइँटेल, गायत्री विष्ट, गीता त्रिपाठी, पञ्चकुमारी परियार, रमेश क्षितिज, रमेश पौडेल, धीरेन्द्र प्रेमर्षि, सङ्गीत स्रोता, उमेश राई अकिञ्चन, पूर्ण इन्फादा लगायतका कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x