प्रेम ओली ढकलपुरेडिबी परेपछि
सातपल्ट डिबी भरेपछि
बल्ल बल्ल एकपल्ट पारियो
यस्तो लाग्यो कि जीवनमा
के के नै फारियो
पहिलो पत्र आएपछि
बल्ल बल्ल दोस्रो पत्र आयो
कुर्दा कुर्दा दोस्रो पत्रले
झन्नै सासै खायो
कागजपत्र पनि धौ धौले जुटाइयो
त्यसैमा पनि पैसो नहुँदा
आफन्तमा चन्दा नै उठाइयो ।
भिसा अप्लाई गरेपछि
अन्तर्वातालाई बोलाउँदै बोलाउँदैन
सोधखोज गर्न जाँदा पनि
कुनै कुरो खुलाउँदैन
कुर्दा कुर्दा
कोही आन्दोलन कस्या छन्
कोही अनसनमा बस्या छन्
अमेरिका अमेरिका भन्दा भन्दै
कति पैसो डुबाइ फस्या छन्
बल्ल बल्ल एक दिन
अन्तर्वार्तालाई बोलायो
झ्याप्प भिसा लागेपछि
एक छिन त छोरो टोलायो ।
फेरि आर्को चटारो
ऋण धन गरेर भए पनि
टिकट काटियो
डलर साटियो
अलिक भाको सम्पति पनि
भाइ भाइमा बाँटियो ।
झिटी झ्याम्टा बोकी
नयाँ मुलुक लागियो
मात्रृभूमिलाई त्यागेर
पातालतिर भागियो
न गाँसको ठेगान छ
न बासको ठेगान छ
कसैले मदत गर्ला कि भन्ने
न कुनै आश ठेगान छ
सस्तो मस्तो कोठा खोजी
दुइचार दिन टेकियो
कहिले नगरेको काम गरी
स्वर्ग पनि देखियो ।
एक दिन बुढीले भनी
न राम्रो बास छ न टन्न छ माम
नेपाल भन्दा दुख गर्न के बस्ने
लौ बुढा बरु नेपालतिरै जाम
भाषा पनि नबुझिने कसरी गर्ने काम
खान लाउन पनि नपुग्ने
कस्तो हो अमेरिकी दाम ।
सङ्घर्ष गर्न आको बुढी सङ्घर्ष गर
हामीले दुख गरे पनि
सन्तानले त सुख पाउलान्
न तिम्रा बा आका थिए
न हाम्रा मामा आउलान्
भएको धन सम्पत्ति सकिसक्यो
अब उता पनि के पो बँच्या छ
बगाउ पसिना समाउ डलर
कमसेकम खाको त पच्या छ ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































