बद्रीप्रसाद दाहाल ‘भस्मासुर’सत्ताको जोशमा ‘कोषहरु’ खोसाखोस…
सोझा जनताको भोट लिन — नोट, परेमा चोट, कोट र अठोटसम्म गरेर सत्तासीन भएकाहरु पद पाउनेबित्तिकै भैंमा न भाँडामा हुँदै मद भरिएको मत्ताझैं छाडा बन्न थालिहाल्छन् । झन् देशी विदेशी शक्तिकेन्द्र गुहारेर वा आफ्नै दलको सुप्रिमोलाई चाकरीले पुकारेर पटक —पटक पद हात पार्नेले त सत्ताको जोशमा मदले बेहोस हुँदै राज्यकोषलाई ढुटीमाटी बनाउन कसिन्छन् बा ! चाहे जनवादको चार्वाक सिध्दान्त छादून् वा बहुदलीय जनवाद, पूँजीवाद , उदारवाद , समाजवाद र वादविहीन ‘विनविन र गिभ एण्ड टेक’ —का बनियाँ सूत्रमा तातून्, सबैको तारो र चुरो कुरो कोशकै दोहनमा गएर टुङ्गिन्छ । पैसा देखेपछि महादेवको तीन नेत्र, भन्ने उखान चरितार्थ गर्न दारीवालादेखि सारीवाल्नीसम्म, त्यागीको लुर्कन झुण्ड्याउनेदेखि वागीको पगरी भिर्नेतक ‘जुन जोगी आयो कानै चिरेका’ कोही कमी छैन ।
त्यसैले त थरी थरीका कोष यतिखेर हामीकहाँ नयाँ नाममा रुपान्तरण भएका छन् । जस्तै सांसद विकासकोश, सांसद बिनाशकोशमा, गरीवी निवारणकोश, गरीबी वारणकोशमा, श्रमजीवी कल्याणकोश, पूँजीपति उत्थान ढुकुटीमा सुकुटी बनाइएको छ । यसो हेर्दा आज पशुपति विकासकोष, मनकामना उत्थानकोशजस्ता कोश सीमित पण्डा , सत्ताधारीका धुपौरे र आउरे —बाउरे लाउरे बन्ने तमासाबाहेक तातोछारो क्यै नहुने भयो भनेर धेरैको गुनासो गुन्गुनाएको छ । निर्वाचन क्षेत्र विकास कोश निर्वाचन क्षेत्रको विनाशमा सक्रिय भएका टाउकेहरु कै बीच नीच तरिकाले खोसाखोसमा बेहोस बनेको छ । अझ संसदीय निर्वाचनताक सहयोग पु¥याउने डन, दादा, चुल्ठे, मुन्द्रेलगायतका विभिन्न तह र तप्काका चाङ मागलाई कनिका छराइ गराएर कागजी बाघ तयार गरी अर्को बलात्कारी जमात पो बढ्दो छ । प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट अबिर धसेका अबिरेहरुको टीम अनावश्यक स्वदेश तथा विदेश भ्रमणको नाममा सबै खाले कोशमा होस गुमाएर राइँदाइँ मच्चाउँदा पनि सानो माछा समाउन मरिहत्ते गर्ने अख्तियार टुलूटुलू हेरेको हे¥यै छ भनेर छापाहरु मापा भएर लेखेको लेख्यै छन् गाँठे ? बीपी, गणेशमान, मनमोहन, मदन भण्डारी, आआफ्ना दलका सहिद, धर्मस्थल, गुम्बा, मन्दिर, बाटो, कल्भर्ट, पुलपुलेसोको नाममा दामलाई हाम गर्ने जोहो यतिखेरको राष्टकोष खोसाखोस प्रतियोगिताको टेलर बनिरहेको छ । स्मृति भवन, स्मारक , स्वास्थ्य संस्था स्थापनाको नाममा राज्यकोष जोप्पाई गरी ‘जो अगुवा उही बाटो हगुवा’ चरितार्थ चरमतातिर उक्लँदै छ । यसरी राज्यसत्ताको आडमा भत्ता , लत्ता , गद्दा लिएर मत्ता हुनेको जथ्थाले गरेका भद्दा लुट हेर्नै नसक्ने बन्न पुग्यो भनेर दुइ वर्षदेखि ज्येष्ठ नागरिक आन्दोलनमा सहभागी बाआमाले भलभल आँसुका धारा बगाउँ—दा त मैले दिउसै तारा देखेँ बा ! एकजना ज्येष्ठ हजुरबाले फुलेका लामा लामा जुँगा बटार्दै भन्नु भो— ‘ हैन आपूmलाई उदारवादी अर्थतन्त्रको प्रयोक्ता हुम् भनेर छाती पिट्ने हालका अर्थमन्त्री रावणशरण कि रामशरण भन्नेले छैटौंपल्ट अर्थमन्त्रीको कुर्ची घुमाउँदा पनि ज्येष्ठहरुको श्रेष्ठ मागलाई रौं बराबर नगन्ने अहम्वादमा कल्ले झापड हान्ला हँ ? भनेर प्रश्न तेस्र्याइ हाले । सँगैका अर्की पाकी हजुरमुमाले त तातिएरै भन्नु भो के यो राज्यकोष कुनै मन्त्रीको बपौती हो ? उनैको संपत्ति दिन परेझैं किन मुठी कसेका ?
वास्तवमा लोकतान्त्रिक राज्यसत्ता त देश र जनताको उत्थानमा निर्मम भएर प्रस्तुत हुन सक्ने निष्पक्ष तागत हो । त्यसै भएर त आधुनिक राजनीति चिन्तनका प्रसिध्द चिन्तक रवर्ट डाहल भन्छन् — ‘ वैधानिक शक्ति वा प्रभाव नै सत्ता हो । ’वास्तवमा शासकसित रहेको अनुशक्ति जसको माध्यमबाट शासन गरिन्छ , त्यही अधिकारको मान्यता नै राजनीतिक सत्ता हो’ । माथिका भनाइलाई केलाउँदा सत्तामा वैधानिकता, शक्ति र प्रभाव पूरक भएर रहेका हुन्छन् । सत्तासीन हुन खास गरेर राजनीतिक अभिकर्ताले जनअनुमोदन , झण्डा , विचारधारा र कार्यक्रमलाई बिम्ब बनाएका हुन्छन् । जसमार्फत उनीहरुले शक्ति ग्रहण गरी सत्ताधारी बन्दछन् । सत्ताबिनाको शक्ति नाङ्गो र उत्छृङ्खल बल हुन्छ भने शक्तिबिनाको सत्ता नङ्ग्रा र दाह्रारहित सिंहजस्तो । त्यसैले यी दुबै अन्योन्याश्रित हुन्छन् ।
यही गुह्य कुरा साङ्गोपाङ्ग चाहारेका गुह्ये कीराजस्ता सुविचारका अपाङ्गहरु वैधानिक सत्तामा हटहट गर्दै आदर्श , सिध्दान्त र नैतिकतालाई घोडा बनाएर उल्टो कोश लुट्नमा पो छट्छट् भन्दैछन् । जनताकातर्फबाट निगरानी राख्ने दायित्व बोकेका संसदीय समिति नै फजुलखर्ची बनेर तमासा मच्चा—एका कयौं काण्डको पछिल्लो कडी बन्यो बायोमेट्रिकको अध्ययनलाई ढाल बनाएर मलेसिया भ्रमणमा निस्कनै लागेका सलहका बथान । समयमै नारद मुनिहरुहरुबाट कामदार कल्याणकारी कोषलाई बेहोस बनाउन पल्केका बोसहरुको चर्तिकलाको सन्देश प्रवाह गरिदिंदा यो पटकको लुटमा ब्रेक लागेको छ । वैदेशिक रोजगारमा गएका कामदारहरुको हितको लागि भनी उनीहरुको रगतपसिनाबाट उठाइएको रकम खर्च गरेर २०० सय डलर दैनिक भत्ता मस्तीसित हसुर्न कसिने सांसदमा राणा , शाह र पञ्च–तन्त्रकै सिनुहरु गनायो । उता गरीबी निवारण कोशलाई शक्तिको आडमा कमिसनको भक्ति देखाउने गिरोहले दिउसै रात पारेका घातहरु सञ्चारमा छिरिलविरिल भैरहेको छ । चराको धोती हुँदैन , नकच्च–राको ओखती हुँदैन भन्ने आहानलाई महान् संझनेहरु सबै निर्वस्त्र भैसके । आपूmअनुकूलका गैरसरकारी संस्थामा करोडौं करोड अनुदान दिएर पदीय आडमा ‘स्लिपिङ पार्टनर’ बनाउने बिचौलियाहरु गरीबी निवारण कोशको मर्ममा दुष्कर्म छादिरहेका छन् । विश्वबैंकले दिएको यो वर्षको ऋण रकममा दुइ अर्ब पच्चीस करोड त यो कोषबाट खर्च गरिसक्यो तर त्यो सबै अनुत्पादकमूलक क्षेत्रमा । यसरी चील र गिध्दजस्ता नक्कली बीलभर्पाइ गराएर गरीवीनिवारण कोषमा अमीरहरुको दाइँ मजैले चलेको छ ।
यसरी धार्मिक , सामाजिक , सांस्कृतिक , स्वास्थ्य , शैक्षिक , प्राज्ञिक र विकासे कोशहरु बेहोस गरी लुटिँदा , ढुटिँदा र निमोठिँदा पनि सुशासनको डङ्का पिटेर लङ्का जलाउने अठोट बोकेका सत्ताधारी कता रनभुल्ल परेर घुमेका छन् ? कि त कमिसन र भागबन्डाकै चक्करमा अक्कर रोजिरहेका त छैनन् ? यक्ष प्रश्नहरु मडारिएका छन् । सत्तासीनहरु सबै खाले कोशलाई बेहोस बनाउदै सरकार , दल र संगठनमा तदर्थवादको स्वाइन फ्लूको भाइरस ओकलिरहेका छन् । विस्तारै अब सञ्चितकोशमा समेत हमला बोलेर कमला याने लक्ष्मीलाई क्षीर सागरतिर त धँकल्दैनन् ? सत्ताको आडमा राष्ट्रकोष बेहोस र बिचेत बनागनेसित होसियार ! होसियार ! ! होसियार ! ! !
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































