डा. दामाेदर पुडासैनी किशाेरबेरोजगारको बयान
अब म
जङ्गे पिलरहरू उखेल्दिन्छु
मेचीकाली सुकाइदिन्छु
र
सप्पै हिमाल भत्काइदिन्छु
मेरो आजसम्मको अजस्र राष्ट्रभक्ति
रोटीमा बदलिएन ।
दुर्बोध्य खेस्राजस्तो
डेट एक्सपायर जिन्दगी
देख्छ÷देखिरहन्छ
काला सपनाहरू÷सेता सपनाहरू
सम्भव सपनाहरू÷असम्भव सपनाहरू ।
सपनाहरूले मृगतृष्णाहरूको जुलुसको नेतृत्व गरेर हिँडिरहेको
टुलुटुलु हेरिरहेछ
स्वर्गीय सडकको सवाल्टर्न साइडमा बसेर
दुर्बोध्य खेस्राजस्तो
डेट एक्सपायर जिन्दगी ।
स्मृतिको कोलाजमा झल्कने
राष्ट्रभक्तिका विशृङ्लित यादहरूको एउटा ग्लिम्प्स
तिम्रो गलाको टाइमा फाँसी चढ्दै छ
सम्झनू–
न म कहिल्यै थिएँ
न म कहिल्यै हुनेछु ।
पोतेका बिड्स् औलाले गन्दै
एउटा पेसेवर पियक्कडले मधुशालामा
गायत्री जपेजसरी
ऊ जपिरहेछ ग्लुमी सन्डे–
सम्झनू
न म कहिल्यै थिएँ
न म कहिल्यै हुनेछु ।
जिन्दगी एउटा असमाप्य जाँच रहेछ
प्रश्नको जवाफ कहिल्यै नसकिने
सुख एउटा ह्याभी ड्रिङ्सको ह्याङओभर रहेछ
पीडैपीडा निम्त्याएर हराइ जाने
प्यारा साथीहरू
मलाई बुझेर पनि बुझ पचाएका हौ भने
सम्झनू
न म कहिल्यै थिएँ
न म कहिल्यै हुनेछु ।
मेरो असिम राष्ट्रभक्ति
कहिल्यै छानोमा बदलिएन
मेरो अटल राष्ट्रभक्ति
ओखतीमा कहिल्यै बदलिएन
म अब बिरानो ओडार पस्छु
र, किल्ला बान्छु
र, मोर्चा कस्छु
मेरो अटुट राष्ट्रभक्ति
छानोमा कहिल्यै बदलिएन ।
२४ असार २०७० कीर्तिपुर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































