नारायण आचार्यबाङ्गोटिङ्गो यात्रा
“खोला बाङ्गो हुन्छ, पानी बाङ्गो हुँदैन,
बाटो बाङ्गो हुन्छ हिँडाइ बाङ्गो हुँदैन,
कुरा बाङ्गो हुन्छ, मुख बाङ्गो हुँदैन,
हेराई बाङ्गो हुन्छ, आँखा बाङ्गो हुँदैन !
हाई कलेजी हाई ! हाई !! हाई !!!”
अचेल रेडियोमा यो गीत रिमिक्स नभएर हो या किन हो बर्जित जस्तो भए पनि एक जमानामा यो गीत निकै चर्चित थियो । जतिखेर हामी धुलाम्मे भएर उँधमुन्टे झुण्ड्याउँदै शरीरमा लडीबुडी गर्दै सुन्थ्यौँ ! गीतको अर्थ नुबुझे पनि सुन्नलाई बडो आनन्द आउँथ्यो ।
गीतमा भनेजस्तो त्यतिखेर नबाङ्गिएका चीज बीजहरू अब त बाङ्गिन थाल्या छन् । त्यल्ले गर्दा खेरी पनि बाङ्गोटिङ्गो गीतको बडो खाँचो छ बजारमा । किनकि जतासुकै बाङ्गोटिङ्गो यात्राकै राम्रो फसल छ । यसकै रामंो पसल छ ।
हो त नि, के छ र जगतमा सिधा र सर्लक्क परेको ? जतिसुकै पावरफुल चश्मा ओढे पनि क्षणभरमै हुन्छ हाम्रो नजर बाङ्गो, जतिसुकै मिष्ठान्न व्यञ्जन कोचे पनि हाम्रो चाँेचो बाङ्गो, एकक्षण गोडा फाराक र सतर्क गरे पनि दिउँसभरि ढाड र हात बाङ्गैबाङ्गो, कुरा नबङ्ग्याउने हो भने त झन् न राजनीतिमा पास गर्न सकिन्छ न त विदेशीको आस गर्न सकिन्छ । सुटुक्क खुराक खाँदा होस् या सुराक गर्दा, बोटल तान्दा होस् या जाँड छान्दा, चुम्बनको चुस्की लिँदा होस् या आक्रमणको घुस्सी दिँदा, बन्दुक ताक्दा होस् या सन्दुक फोर्दा, बाङ्गोटिङ्गो मै बथान बस्नुपर्छ । त्यस्तै खेतबारी जोत्दा होस या भुइँ भित्ता पोत्दा, गाडी चलाउँदा होस् या साडी लागाउँदा, प्रेम गर्दा होस या चिलिम भर्दा, चिट चोर्दा होस् या रिट गर्दा बाङ्गोटिङ्गो नगरी साङ्गोपाङ्गो नै मिल्दैन । टेढोमेढो नगरेर त न यहाँ पैसा पाक्छ, न त कसैले हेलो हाई भनिराख्छ, बरु काम छैन त्यस्ता पाजीको भनेर तीन कोस टाढा पो भाग्छ् । त्यसैले मौका मिलेको बेलामा मज्जाले धनुषकाँडलाई पच्छार्ने गरी बाङ्गिनुस् या साइत पारेर अंग प्रत्यङ्गलाई बङ्ग्याउनुस्, बिग्र¬ेका ग्रहदशा पनि सप्रनेछन, गाँइगुइँ कुरा चले पनि आफनो बस्तीमा गज्जबले मस्ती मिल्नेछ ।
बाङ्गोटिङ्गो यात्रा नगरे न एउटा बेलुन फुले झैं फुल्छ, न त अर्को भदौरे गाभा सुके झंै सुक्छ । बाङ्गोटिङ्गो यात्रा नगरेर सिद्धान्तको जात्रा नदेखाए हामी गजबको पात्र बन्न कहाँ सक्छौँ र ? त्यसो त लाज न सर्म, संस्कृति न धर्म, चौबिसै घण्टा पानीमा ठोँड चोप्दा कुर्कुच्चोदेखि टुप्पीसम्म आफैँ बाङ्गिन्छ, विचारलाई बटार्नै पर्दैन । त्यही त अचेल सर्वत्र बाङ्गो पानी पाइन्छ । बाङ्गो बोटलमा पाइने यो बाङ्गो पानीले शरीररुपी मोबाइलमा रिचार्ज गर्दा अब के बाङ्गिन्न ? अब कुरै बाङ्गो, नजरै बाङ्गो, व्यवहारै बाङ्गो, खुवाई बाङ्गो, हातै बाङ्गो, खुट्टै बाङ्गो, टाउकै बाङ्गो, हिँडाइ बाङ्गो । यसरी बाङ्गिदा, बाङ्गिदै कहिले कुनामा ठोस्सिँदा नाकै बाङ्गो हुन्छ त कहिले ढिकलाई ढिस्काउँदा हातखुट्टा या करङै बाङ्गो हुनु कुनै नौलो न्यूज होइन हाम्रा नजरमा ।
यस्तो बाङ्गो झोलपानीले बाङ्गिदा, बाङ्गिदा चल्ला–चल्ली पनि बाङ्गो, श्रीमती बाङ्गो, घरपरीवार वाङ्गो, समाजै बाङ्गो अर्थात दुनिया नै बाङ्गिन थाल्दछ । उता मुखे प्वालको झ्यालबाट भित्र चियाउनुस्, मुटु कलेजो बाङ्गो, फोक्सो बाङ्गो, आन्द्राभुँडी बाङ्गो, मृगौला बाङ्गो । यसरी संसार नै बाङ्गो हुन थाल्दछ, अनि त मत्र्यलोक भन्दा यमलोक नै प्यारो लाग्दछ ! त्यस पछि मजाले छानी–छानी अतल,वितल, तलातल, रसातल वा पातल कै तलतल लाग्दछ । यसरी बाङ्गिनमा पल्किनेहरू या झोलपानीमा सल्किनेहरू जुनीभर यसमा जोड गर्नु झोल कम्पनीको निम्ति शुभ समाचार हो भने बाङ्गोटिङ्गो यात्राको निम्ति त झन् मसलादार खुराक होइन र ? भने कम मजाको छ बाङ्गोटिङ्गो यात्रा !
त्यस्तै दायाँवायाँ हेरौ,यस्ता बाङ्गिनेहरू पनि कति छन् कति ? रीमासँग विहे गरेको बाह्र दिन नहुदै वीरमान हिमातिर बाङ्गियो, बड्डो विदेशतिर गएको बीस दिन नहुदै बीष कुमारी भट्टी पसलेतिर बाङ्गिई, लेख्दालेख्दै सरम सिडको समाचार नै बाङ्गियो, हेर्दाहेर्दै हिजोका समाजवादी पूँजीवादतिर बाङ्गिए । कोही धोती न टोपी भएर बाङ्गिए, त कोही घर न घाटका भएर बाङ्गिए, कोहि हात न खुट्टा भएर बाङ्गिए, त कोही रुपैयाँको मुठ्ठा भएर बाङ्गिए, कोही बङ्गुर झैं फुक्दै बाङ्गिए, त कोहि लङ्गगुर झै हल्लँदै बाङ्गिए, कोही पराल झै सुक्दै बाङ्गिए, त कोही सुराल झै उद्रधै बाङ्गिए । बाह्र वर्षसम्म कुकुरका पुच्छर ढुङ्ग्रामा राख्यो ढुङ्ग्रो नै बाङ्गियो , के गर्ने ? कुरै बाङ्गो, विचारै बाङ्गो भएपछि नबाङ्गिएर सुख ?
खोतल्दै जाँदा बाङ्गिनेहरू कति छन कति ? अस्टाबक्रको शरीर आठ ठाउँमा बाङ्गिए पनि बिचार नबाङ्गेकाले जनक राजाले गुरु बनाए । तर यहाँ त नेत्तृत्व बाङ्गिएर होला दुनियाँले नेपालीलाई गोरु बनाए । त्यही त लाखौँलाख अरबतिर बाङ्गिएका छन्, हजारौँ हजार युरोप र अमेरिकातिर बाङ्गिएका छन, दशौ हजार भारततिर बाङ्गिएका छन् । यता घरबारै बाङ्गिएको छ । सम्पत्ती बाङ्गिएको छ । उता कोही विदेशी जेलमा बाङ्गिएका छन् यता फेसबुक र मेलमा बाङ्गिएका छन् । साच्चै कहिलेसम्म चल्ने हो यो बाङ्गोटिङ्गो यात्रा ? अस्तु !
लिवाङ, रोल्पा
Subscribe
Login
0 Comments
Oldest







































