फित्काैली डटकमजय लोडसेडिङ
‘गुहार ! गुहार ! बत्ति गयो । बिहानको नौ बजे बत्ति जाने तालिका सार्वजनिक गरिएको थियो तर साढे सात बजे नै बत्ति गायब ! बेला न कुबेला लोडसेडिङ भयो । गुहार ! गुहार ! बत्ति गयो । लौ न के गर्ने होला ?’ हर्केले गाउँ नै थर्कने गरी गुहार माग्यो । गुहार दिन म पनि कसरी सक्थें र ! बाबु हर्कु अहिले त यसरी बत्ति गयो, पछि त झन् बत्ति नै नदेख्ने दिन पनि नआउला भन्न सकिन्न भन्दै थुम्थुम्याउने प्रयास गरें । उसले लामो सास फेर्दै आशाका शब्दहरू ओकल्यो । हो, रमेश दाइ, हाम्रा बाउबाजेले पनि अँध्यारैमा जुनी काटे । हामीले पनि अँध्यारैमा जुनी काट्ने भयौं । अरु त सबै ठिकै लाग्यो मलाई । पञ्चायतको बिरोध गर्नेहरूले बहुदल ल्याएरै छाडे । बहुदलमा सुख पाउँछौं भन्थे । बहुदलमा पनि उस्तैउस्तै ताल । पछि केकेन गर्छौं भनेर माओवादीहरूले बन्दुक पड्काए । मान्छे मारे । गणतन्त्र ल्याउन ठूलो भूमिका निभाए । ऊ भावुक भएर अगाडि बढ्दै गर्दा मैले रोकें र मेरा कुरा सुनाएँ । हो त्यही माओवादीको बन्दुकले त बत्ति गएको हो नि ! ऊ तिनछक पर्यो । र, सोध्यो कसरी ? उनीहरूले बत्ति उत्पादनको काममा अवरोध गरे, पावर हाउस पड्काए । त्यसको असर देखिएको छ अहिले ।
माओवादीको सशस्त्र हिंसा र हिँसा दबाउन सरकारले गरेको जवाफी हिँसाको असर कहाँ छैन ! यही कारण एकादेशमा नेपाल भन्ने देश थियो रे ! त्यो देशमा विक्रम सम्बत १९६८ सालमा काठमाडौंको फर्पिङ भन्ने ठाउँबाट बिजुली निकालिएको थियो रे ! काठमाडौंबाट निकालिएको भए पनि बिजुली बाल्न ललितपुरको खोकनाको एउटा घरमा ल्याएर परीक्षण गरिएको थियो रे ! जलस्रोतको धनी देशका रुपमा विश्वमा नै दुई नम्बरमा पर्ने देश नेपाल हो । पहिलोमा ब्राजील पर्छ भन्ने पढिएको छ । तर, त्यही देशमा दिनको बाह्र घण्टा अँध्यारो हुन्छ । हुन त बाह्र घण्टा दिन बाह्र घण्टा रात प्रकृतिको नियम नै हो । यस्तो कथा भावी सन्ततिले पढ्नेछन् ।
हाम्रा बाले च्याटी बालेर निर्वाह गर्दा कुनै बनपालेले अवरोध गरेनन् । अहिले त बन पनि छैन । मान्छेको मन पनि छैन भने पनि हुन्छ । पारि बत्ति बलेको ठ्याक्कै सय वर्षपछि वारि मेरो घरमा बत्ति बालियो । बत्ति बलेको उपलक्ष्यमा धुमधामसँग नाचगान गरियो । रामरमाइलो भयो । त्यही उपलक्ष्यमा देव तिर्थस्थल घुमघामसमेत भ्याइयो । लौ जा त बत्ति आयो भनेर टुकी बत्ति घुँयत्रोमा राखेर फालियो । कहाँ पुग्यो दमपच । त्यही चार लिटरजति मटितेल थियो । त्यो पनि अब के काम भनेर बत्ति आएको जोशमा कति पनि होश नगरी रक्षानमा लगेर घोप्ट्याइयो । मटितेलका कारणले रक्षान वरिपरि अहिलेसम्मै सागपात केही आएको छैन ।
पहराबाट तार्दैतार्दै भए पनि लहराबाट आएको इन्धनले घरै उज्यालो भएको देख्दा सय वर्ष कटेका बा तिनछक । मलाई सोधे पानीबाट पनि कहीँ बत्ति बल्छ ? पानीले त बरु बलेको बत्ति निभाउँछ । बुढाको कुरा ठिकै हो । विज्ञानले कहाँको कुरो कहाँ पुर्यायो बुढा कराउने मात्रै हो । अब त गाउँमा बत्ति बल्यो बल्यो भनेको त फेरि उही बाजेको पालाको जस्तो दैनिक भारिमात्रामा लोडसेडिङ । पृथ्वी गोलो छ घुम्छ । समयको चक्र पनि फनफनी घुम्छ । दुःख सुख पनि घुमीरहन्छ भन्ने सुन्या थें । हो रहेछ । समय घुमेर बाउ बाजेको पालामा नै पुगी सक्यो । अब दैनिक चौबिस घण्टा लोडसेडिङ भए पनि आपत नमान्नु होला । बेलैमा बत्तिको विकल्पमा बत्तिको व्यवस्था गर्नुहोला । भोलिका दिनमा दैनिक पच्चिस घण्टा लोडसेडिङ भयो भने आश्चर्य नमान्नु होला । जय लोडसेडिङ । पराजय लोडसेडिङ । जे भने पनि हाम्रो प्यारो साथी लोडसेडिङ । सुख दुःखको साथी लोडसेडिङ ।
Subscribe
Login
0 Comments
Oldest





































