साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईँलाई कसरी चिन्ने ?

Nepal Telecom ad

जैदाहा पार्कमा उभिइरहेका बेला नेपाली राजनितिक पार्टीका भातृ संगठनका दोहाका चल्तापुर्जा नेताले मलाई नसोचेको प्रश्नले हिर्काए । त्यसो त उनी र उनीजस्ता अरु थुप्रै कार्यकर्ता, हर्ताकर्ता र पार्टीका झण्डा बोक्ने, टिबि लागेको बिरामीले भाइरस खोकेजस्तै खोक्ने र मलाईजस्तै अरु धेरैलाई यस्ता असान्दर्भिक प्रश्नको भारीले ङिचिक्क हुने गरी थिच्ने, किचिक्क हुने गरी मिच्ने र हामीसँग भएको अलिकति गिदी पनि घिच्ने वा घिच्न खोज्ने धेरै मनुवा भेटिए । ति मध्येकै थिए उनी । नेपालमा राजनिति गर्न नसकेर वा त्यहाँ टिक्ने सम्भावना नभएर उनी यताका छाक टरुवा वा गरिवगुरुवाको रगत र पसिनाको राजनिति गर्न आएका थिए । उनको चालढाल देख्दा यस्तो लाग्थ्यो कि उनी पार्टीको झण्डा ओडेर श्रमिकका लागि सुनको अण्डा पारिरहेछन् र त्यो अण्डा छिट्टै नै नेपाली श्रमिकले खान पाउनेछन् । उनैले मलाई अकस्मात सोधनी गरे— ‘तपाईँलाई कसरी चिन्ने ?’
उनलाई उप समिति, इकाइ समिति (इकाइ समिति भित्र पनि उप समिति क, ख आदिइत्यादि), सह समिति, बैकल्पिक समिति बनाएर कहिले सनैया, कहिले अलखोर, कहिले दुखान अनि कहिले मिसाइदमा केही दीनहिन श्रमिक भेला पारेर ‘संगठन बिस्तार’ गर्दै हिँडेको देखिन्छ । म कल्पिँदा मुर्छा पर्छु झैँ हुन्छु यो सोचेर कि त्यो इकाइ समितिको उप समिति ‘क’को सदस्य कस्तो मान्छे होला ? उसले मूल समितिको अध्यक्षमा आउनु त परै जाओस् मूल समितिको मेजर पदमा आउन उसलाई जुनी फेर्नु पर्छ । जुनी नै नफेरे पनि उसले यो देश छोडेर मुलुक गएको भोलिपल्ट ऊ राजनितिक पार्टीको सक्रिय कार्यकर्तासम्म हुँदैन । तर मज्जाको कि लज्जाको कुरो के छ भने उसले महिनैपिच्छे गाँस काटेर लेवी बुझाउँछ । लेवी लिने माथिल्लो टाउके आर्थिक रुपमा हेवी भइसक्दा पनि लेवी बुझाउने त्यो लेवरले आफु नराम्ररी लडेको सुइँकोसम्म पाउँदैन । यहाँ आएर मलाई तिनै नेताको शैलीमा तिनै नेता र ति आश्वासनपीडित केटालाई पालैपालो सोध्न मन लाग्छ— ‘तपाईँलाई कसरी चिन्ने ?’
उनको अर्को पराक्रम पनि कम्ती मज्जाको छैन । त्यसै दिन अलपत्र परेको एउटा श्रमिकलाई सहयोग गर्नु साटो अर्कोलाई भिडाएर उनी टाप ठोके । काउसोको चिलाइ मरेपछि भएको आनन्दजस्तै सुखभोग गरे उनले त्यो दिन सुइँकुच्चा ठोकेर । पाहुना तर्काए झैँ गर्वित अनुहार पारेर उनी भागेर गएको देखेर यो खेलक उनको अगुवाइप्रतिको इमान्दारिताको मुक्त कण्ठले प्रशंसा गर्दै सोचखान्छ— ‘तिनले माखो मार्ने हैसियत राख्दैनन् भने धाक लाउन किन नछोडेका होलान् ? परेका बेलामा पार लाउन नसक्नेले संस्थाको बागघोर ओगट्नु ‘बुढो गोरुले गाई ओगट्न’ुजस्तै भएन र ? ‘जो अगुवा उही बाटो हगुवा’ भन्ने पुरानो उखान उनलाई सम्झिँदा नयाँ भएर आउँछ । त्यसैले उनलाई सोधिहिँड्न मन लाउँछ— ‘तपाईँलाई कसरी चिन्ने ?’
उनको अर्को तपाईँलाई नभनी नहुने खुविलिटी पनि छ र त्यो हो जुनसुकै संस्थामा पनि आफ्नो पार्टीको मान्छे खोज्ने । खोज्दा भेटिएन भने जबर्जस्ती खाँद्ने । यो तानाशाही शैलीको उनको कृति देख्दा म जिलखान्छु । यही कृति गरेर उनले धेरै संस्था चिरा पारेका छन् । शद्धे घाउमा किरा पारेका छन् । संघसंस्था फुटाउनमा उनी र उनीजस्ता हाइजिङ्गहरुको ठुलै जमात लागेको छ । यसरी गज्याङ्ग गर्ने तिनको ल्याङ्गल्याङ्गे ब्याबार देखेर ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो भएको छ मलाई । कपडाबाहिरैबाट म उनलाई नाङ्गो देख्छु । उनको ब्यावहार र विचार कुकुरको पुच्छरजस्तै बाङ्गो देख्छु । उनको चरित्र टिठलाग्दो उदाङ्गो देख्छु । यिनै कुरा मनमा खेल्दा उनलाई रयाखरयाख्ती पारेर सवाल गर्न मन लाग्छ— ‘तपाईँलाई कसरी चिन्ने ?’
धेरैलाई मान्छे चिन्नु ‘नामले कि कामले ?’ भन्ने प्रश्नको उत्तर दिन हम्मेहम्मे पर्ने गर्छ । एकथरीको भनाइ के छ भने मान्छेलाई नामले चिन्नुपर्छ । अर्कोथरी चैँ भन्छ मान्छेलाई
कामले चिन्नुपर्छ । यि दुवैथरीको दुईमत रहँदै आएको छ । अव त्यो ‘मान्छे चिन्नु, खसी किन्नु’ भन्ने उखानले पनि मान्छेलाई केका आधारमा चिन्ने भन्ने कुरो फुकाएको छैन । उसो र यो मान्छे चिन्ने मामलामा म सधैँ दोधार रहन्छु । दोधार रहनुका पछाडि एउटै उदाहरण काफी छ । मैले चिनेको एउटा मान्छे सुशिल सिटौला हो । सोह्र ननाघी उसले छिमेकीको घर फोरेर उधुम मच्चायो । सत्रमा उसले साइकल चोर्न थाल्यो । अठारमा पुग्दा उसले कान बटार्ने मोटरसाइकल चप्काउन थाल्यो । उन्नाइसमा पुग्दा हातहतियार लिनेदिनेको मध्यस्तकर्ता भएर काम निम्ट्यायो । बीसमा उसले ज्यान लिन थाल्यो । एक्काइस बर्षको हुँदा उसले ‘अघोषित रेडलाइट एरिया’ चलायो । बाइसमा टेकेपछि कार चोरेर नक्कली नम्बरप्लेट राख्ने, उच्च ओहोदाका हाकिमलाई बेच्ने, लागु औषध किन्दै बेच्ने, ठेक्कापट्टा मिलाइदिन ग्याङ्ग खोलेर डन भयो । तेहिसदेखि उन्तीससम्म ‘सर्वनास म्यानपावर कम्पनि’, ‘नाङ्गो डान्स सेन्टर’ र यस्तै यस्तै धेरै कम्पनि खोलेर धेरै दीनहिनहरुको पैसाको खोलो त¥यो । तीसमा हिँडेका दिनमा उसले राजनिति शुरु ग¥यो । आज उही जेल जानुपर्ने सुशिल सिटौला दरवारमा छ । अव उसलाई मैले कुनै दिन भेटेँ भने उसले नै उल्टै मेरो कन्पट्टीमा बन्दुक तेस्र्याएर सोध्ला— ‘तपाईँलाई कसरी चिन्ने ?’
त्यस्तै एकजना मान्छे छन्– झापा जिल्लाको माइधारमुन्तिर आइतबारे छेउछेउमा भद्रबहादुर बस्नेत । उनी पेशाले शिक्षक रहेछन् । मेरो मोवाइल बाटामा नखसीदिएको भए उनीसँग मेरो परिचय हुने नै थिएन । बेरोजगारीको बिकल्प खोज्ने तमाम बेगारीसँगै म पनि सिप सिक्न गएको थिएँ झापाको बिर्तामोड । एउटा विमा कम्पनिको एजेन्ट बन्न तालिम लिएर फर्किँदै गर्दा मेरो मोवाइल नहरचोक मास्तिर खसेछ । संयोगले उनले भेटेछन् । ‘भात पकाउनु है म आउँदैछु’ भनेर घरमा फोन्न मोवाइल खोज्छु त छैन । एउटा घरमा गएर इतिबृतान्त सुनाएपछि एककल गर्न पाइयो । फोन तिनै भद्रबहादुर बस्नेतले उठाए । उनले मलाई घरको लोकेशन दिए र म पुगेपछि मेरो मोवाइल हात लगाइदिए । मैले पनि मोवाइल भेटिएको खुसीमा उनलाई धन्यवादसँगै केही भुराभुरीलाई दक्षिणा दिएँ र बाटो लागेँ । अहिले गम्छु– उनी नामजस्तै भद्र रहेछन् । अव उनलाई नामले चिन्ने कि कामले ? त्यसैले हरेकपल्ट म मान्छे चिन्न नजानेर पछि परेको छु । तपाईँ चैँ बेलैमा मान्छे चिन्नुहोला र भर्नु होला झोला । खुव ख्याती कमाउनुहोला ताकी तपाईँलाई मलाईजस्तै कसैले नभनोस्– ‘तपाईँलाई कसरी चिन्ने ?’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x