साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरवमा ‘गिरगिर’ खेप्नेहरूका नाममा

Nepal Telecom ad

अरवमा लाहुरे हुन जानेहरूले खाडीको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुन्न थाल्छन् । ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो । यता हाम्रो देशतिर कराएर कसैलाई हत्तुहैरान पार्नुलाई ‘किचकिच’ भनिन्छ । कसैलाई धम्क्याएर, झाँको झारेर थुरथुर पार्नुलाई खाडीतिर चैं भनिन्छ ‘गिरगिर’ । पहिले नै खाडीमा पसिना बगाएर पानी खाइसकेका भुक्तभोगीहरूलाई ‘गिरगिर’ शब्द नौलो होइन । तर पहिलोचोटी उताको सफरमा गएकाहरूलाई ‘कौतुहलको कोलाज’ भएर ‘खजुरको रुख’ ठिङ्ग उभिएजस्तै बाटो छेकेर उभिन्छ ‘गिरगिर’ ।

जीवनमा ‘मिनिङ्ग’ थाहै नभइ मान्छेले अनेक शब्द सुन्छ, उच्चारण गर्छ । त्यस्तै उता खाडीमा खोस्रिन गएका कामदारहरूले ‘गिरगिर’ शब्दको असली माने थाहै नपाइ सुन्न थाल्दछन् । जसै दिनहरू उताको बसाइमा लम्बिन्छन् ‘गिरगिर’ सहने बानी लाग्दै जान्छ । खाडी खसेको भोलिपल्ट ‘राम्रैसँग आइपुगें’ भन्नलाई फोनमा ‘हेल्लो’ भनिनसक्दै ‘साहुले ‘‘किचकिच’’ गरेर मार्न लागिसक्यो, पैसा चैं बेलैैैैमा पठा है नानी’ भन्ने नम्र ‘गिरगिर’ सुन्नुपर्छ ।

पहिलो सेलरी थापेर गन्न नभ्याउँदै दैलोमा उभिएर स्वास्नीले फोनमा भन्छे, ‘कान बुच्चै भएको छ, एकजोर मुन्द्रा हाल्न पाए हुन्थ्यो । ऋण त पछि तिर्दै गरौला, यसो एक तोला सुन आउने पैसो पठाइदिनुस् ।’ स्वास्नीको यो ‘हुकुमी गिरगिर’ सुनिनसक्दै चेलीबेटीको ‘घुक्र्याउनी गिरगिर’ सुन्नुपर्छ । दिदी भन्छिन्, ‘मेरो भाइ भनेको तैं त होस् नि । अरुको त कुरो छोड्दे, तेरै मात्र आश छ । भाञ्जाले ‘बिजुली साइकल’ भनेर घरै उचाली सक्यो । ए मेरो भाइ, पठाइदेन गोडातिसेक हजार ।’

दिदीलाई ‘हुन्छ, पठाइदिन्छु’ भनेर थपथप्याइ नसक्दै अर्की बहिनीको ‘मिस्डकल’को ‘नोटिफिकेसन’ले ‘इरिटेट’ बनाउँछ । ‘के परेछ त’ भनेर कलव्याक गर्दा बहिनी भन्छे, ‘दाजु, अहिले माइत आएकी छु । भाञ्जाको हातमा एउटा भए पनि बाला बनाइदिने दाम पठाइदे । पहिलोचोटी आएको भाञ्जालाई ‘रित्तै’ पठाउँदा ‘तिमेरकै नाक’ जाने हो । बहिनीको ‘आग्रह गिरगिर’ सुनेर ‘अर्को महिनासम्म पर्खि, पठाइदिउँला’ भनेर फोन काटिनसक्दै ‘कल वेटिङ्ग’ भएर भाइको नामको कल देखिन्छ । भाइको आइफोन र ल्यापटप पठाइदिनुपर्ने ‘गिरर्गिर’ सुनेपछि काम गर्ने जाँगर वालुवासँगै भुरुरु उड्छ अरवको पापी गर्मीमा ।

यसरी पैसा माग्ने ‘गिरगिरे’ कल आँदा कत्तिलाई त काल आए जस्तै लाग्दो हो । ‘गिरगिर’ गर्नेहरू देशदेशान्तरमा फैलिएका छन् । सामाजिक सञ्जालले त धेरैलाई बेहाल बनाएको छ ।
एकदिन फेसबुकमा छिर्ने बित्तिक्कै फुपूकी नातिनीको ‘गिरगिररे म्यासेज’ आयो, ‘मामा, त्यतातिरबाट यता नेपालतिर मोवाइलबाट ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्छ अरे, हो ?’ परेन फसाद, नौलो तालको गिरगिर । अर्का एक नातेदारले ‘फूलको झारले रेटे’ जस्तै गरी ‘गिरगिर’ गर्न थाले । उनको गिरगिर थियो ‘तपाई त मालामाल पैसो कमाउनु हुन्छ रे । ‘चाँदी कटाइ’ छ रे तपाईंको । हाम्लाई पनि यसो सके भिषा नसके ‘डो’ पठाइदिए खाएर भाग्ने थिएनौ, आउँदा तिर्ने थियौँ ।’

अर्का एकजना ‘ओल्ड इज गोल्ड’ साथीले फेसबुकको वालमै प्वाल पर्नेगरी ‘खबरदारी गिरगिर’ लेखेछन्, ‘के हो मित्र, पैसाको मुख देखेपछि बैंसको दौंतरी पनि चिन्न छोडियो ? हाइहेल्लोसम्म छैन होइन ? खाएर पचाएर नतिर्ने त होइनौ नि हामी पनि । बेलामा तिर्ने थियौँ । एउटा माघले जाडो जान्छ भने जाओस् ।’

अर्की एउटी इजरायलतिरकी ‘केयरगिभरे सोल्टिनी’ले भित्ताको फोटोमा ‘गिरगिरे कमेन्ट’ हानिछन् । ‘कमाउने भएपछि परिवर्तन भइएछ नि सोल्टीज्यू, हामीलाई ‘कुकाठै’ ठान्न थाल्नु भो त । तपाईंको भन्दा त हामी नै बेसी कमाउँछौं । तर पनि हामीमा घमण्डको ‘घ’ पटक्कै छैन । तपाईंले चैं यसरी किन चटक्कै माया मार्नु भएको ?’

बाउपट्टिका, साहुपट्टिका, ससुरालीपट्टिका, मावलीपट्टिका र आफैंपट्टिका नातेदार र साथीभाइको ‘गिरगिर’को जवाफ दिएर वाक्क, दिक्क र हारदिक्क नहुने यो खाडीमा कोही भेटियो भने त्यो ‘नमुना’ हो । तर त्यही ‘नमुना’ले पनि फोरम्यानको, एकोमोडेसन इन्चार्जको, स्टोरकिपरको, चार्जेन्टको, ड्राइभरको, सुपरभाइजरको, एकाउन्टेण्टको, इन्जिनियरको वा मुदिरको ‘गिरगिर’ सुनेकै हुन्छ, सहेकै हुन्छ । खाडी आएको मान्छेले बरु ‘खब्बुस’ र ‘खजुर’ नखाला ‘गिरगिर’ खाएकै हुन्छ ।

तर यता भिजेको मुसा भएर १८ घण्टा घोटिंदाको पीडा अनुभव गर्ने र गर्मीमा तल र माथिको तातोले लखतरान पारेर शरीर खाएको देखेर मनको बह बुझ्ने कोही छैन । चिनारूहरू जसलाई पनि पैसो चाहिएको छ र नै त होला यता हुनेहरूले ‘गिरगिर’ पाइएको छ ।

फर्किएर घर जानेहरूलाई पनि पँधेरोमा ‘अँधेरो मुख लाउने गरी’, चौतारी र चिया पसलमा ‘उल्टी आउने गरी’ कुरा काटेर ‘गिरगिर’ गरेको भोगेर आउनेहरूको ‘कथा’ सुनिनसक्नुको छ । पीडा छ खाडीमा र खाडीमा पीडा छ । यी ब्यथा घरकाले बुझिदिए खाडीमा भएका नेपाली दाजुभाइको ‘गिरगिर’ सुनाई धेरै कम हुन्थ्यो । त्यो गिरगिर कम भए तनावले ज्यान जान पनि कम हुन्थ्यो ।

अरवमा आफन्त हुनेहरू हो, आफैं टुँगो गर्नुस् गिरगिर गरेर आफन्तको ज्यान लिने कि उसलाई केही सुविस्ताको सास फेर्न दिने ? जिम्मा तपाईंकै ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x