सुलसुलेकविवर मिश्रको १०६ औं जन्मजयन्ती
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले पुस २६ गते समारोह आयोजना गरी कविवर युद्धप्रसाद मिश्रको १०६ औँ जन्म दिवस मनाएको छ । मिश्र प्रतिष्ठानका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि हुनु हुन्थ्यो ।
समारोहमा प्रा.डा.जीवेन्द्रदेव गिरी, प्राज्ञहरू सुलोचना मानन्धर, बूँद राना, रामकृष्ण दुवाल, नर्मदेश्वरी सत्याल र प्रा.गोपीकृष्ण शर्मा अतिथि हुनुहुन्थ्यो ।
साहित्यकार कलाधर काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकारहरूलाई प्रतिष्ठानकी सदस्य लक्ष्मी मिश्रले स्वागत गर्नु भएको थियो भने कविवर मिश्रको तस्बिरमा प्रमुख अतिथि, अतिथिहरू र परिवारका तर्फबाट महेश्वरप्रकाश मिश्रले माल्यार्पण गर्नु भएको थियो ।
जनार्दन न्यौपानेले कविवर मिश्रको एउटा कविता वाचन गर्नु भएको थियो भने प्राज्ञ रामकृष्ण दुवालले कविवर मिश्रको कालजयी कविता ‘रक्तक्रान्तिको ज्लालामुखीमा’ लाई सस्वर गाउनु भएको थियो ।
कार्यक्रममा प्राज्ञ डा.महादेव अवस्थीले कविवर मिश्रको कवित्वका बारमो प्रकाश पार्नु हुँदै कविवर मिश्रका बारेमा जे जति शोध, अनुसन्धान भएका छन् ती पर्याप्त नभएको बताउनु भयो ।
समारोहमा प्राज्ञ नर्मदेश्वरी सत्यालद्वारा लिखित ५२ ओटा कविताहरूको सङ्ग्र्रह ‘नयाँ नेपालको चित्र’ र ‘शब्दका तिमालहरू’ नामक समीक्षा सङ्ग्रह लोकार्पण गरिएको थियो । ङ्गकृतिहरूको लोकार्पण प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले गर्नुभयो । लोकार्पित कृतिहरूका बारेमा समीक्षक प्राज्ञ सुलोचना मानन्धरले टिप्पणी गर्नु हुँदै साहित्यकार नर्मदेश्वरी सत्याल कुशल शिक्षक, सामाजिक रूपान्तरणकी अभियन्ता, कुशल गृहिणी, सुशिक्षित परिवारकी नेतृत्वकारी व्यक्तित्व समेत रहनु भएको बताउनु भयो ।
लेखकीय मन्तव्यका क्रममा प्राज्ञ नर्मदेश्वरी सत्यालले ‘साहित्य सन्ध्या–मन प्रतिभा पुरस्कार’ स्थापनार्थ अक्षयकोषका लागि साहित्य सन्ध्यालाई रु.१ लाख ५० हजारको चेक हस्तान्तरण गर्नु भयो । उहाँले असहाय टुहुरा बालबालिकालाई पठनपाठनका लागि सहयोग प्रदान गर्ने इच्छा समेत जाहेर गर्नुभएको थियो ।
समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले कविवर मिश्रका बारेमा प्राज्ञिक बहसको थालनी गरिएकोमा प्रसन्नता व्यक्त गर्नु भएको थियो ।
सभाध्यक्ष वासुदेव अधिकारीले कविवर मिश्रको विचारको बिउ झाङ्गिएर अहिलेको गणतान्त्रिक नेपाल बन्न सकेको तर हामी अनुयायीले नै उनका योगदानका बारेमा जति बहस, खोज, अनुसन्धान गर्नु पर्ने थियो त्यति गर्न नसकेको ठानेर कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
-सुलसुले
Subscribe
Login
0 Comments
Oldest












































