सुलसुलेप्रश्रित साहित्य कला महोत्सव २०७२ सम्पन्न
वरिष्ठ वाङमय साधक डा मोदनाथ प्रश्रितको ७४औँ जन्मोत्सवको अवसरमा प्रश्रित प्रतिष्ठान नेपाल तथा प्रश्रित प्रतिष्ठान नेपाल, कोशी पूर्व शाखाको संयुक्त आयोजनामा २०७२ आषाढ ५ गते सुनसरीको इटहरीमा एक भव्य र सभ्य कार्यक्रमका बिच प्रश्रित साहित्य कला महोत्सव २०७२ स्रष्टा सम्मान पुरस्कार वितरण तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
स्रष्टा सम्मानद्वारा सम्मानित हुने स्रष्टाहरूमा कृष्ण अधिकारी, (प्रश्रित साहित्य कला सम्मान– २०७१), प्रा डा टङ्कप्रसाद न्यौपाने, (प्रश्रित साहित्य कला सम्मान २०७१), ताराबहादुर बुढाथोकी (दशरथ–जोगमाया साहित्य कला पुरस्कार–२०७१ं, भवानी क्षेत्री (उपेन्द्र पागल–वृन्दा वस्नेत साहित्य कला सम्मान २०७१), मधुसूदन पोखरेल (कृष्णप्रसाद–खड्गकुमारी भण्डारी साहित्य कला सम्मान २०७१), डा यदुनन्दन उपाध्याय (मित्रप्रसाद–नरमाया आचार्य विद्वत् पुरस्कार २०७१), खेम नेपाली (कृष्णप्रसाद–खड्गकुमारी भण्डारी साहित्य कला सम्मान २०७२) रहेका छन् ।
त्यसै गरी डिल्लीराज भट्टराई (प्रश्रित साहित्य कला पुरस्कार २०७२), तिलक भुसाल (प्रश्रित साहित्य कला सम्मान २०७२), पुण्यप्रसाद खरेल (दशरथ–जोगमाया साहित्य कला पुरस्कार २०७२), प्रा.डा. भीमप्रसाद खतिवडा (उपेन्द्र पागल–वृन्दा वस्नेत साहित्य कला सम्मान २०७२), डा सुधनकुमार पौडेल–मित्रप्रसाद–नरमाया आचार्य विद्वत् पुरस्कारबाट सम्मानित भएका छन् ।
यसैगरी अक्षय कोष दाताहरू तथा पुरस्कार संस्थापकहरूलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो । कदरपत्रद्वारा सम्मानित हुने अक्षय कोष दाताहरूमा लेखनाथ घिमिरे, डमरुवल्लभ भण्डारी, गीता बस्नेत, मीना बस्नेत, चेतना सिंह, रुपा बस्नेत, रत्ना बस्नेत र जिना निरौला थिए ।
कार्यक्रममा मधु पोखरेलद्वारा लिखित ‘नबजाउ ताली’ (गजल सङ्ग्रह) र डमरुवल्लभ भण्डारीद्वारा लिखित ‘विगतदेखि वर्तमानसम्म’ संस्मरणात्मक निबन्ध सङ्ग्रहको लोकार्पण समेत गरिएको थियो । लोकार्पित कृतिहरूको समीक्षा क्रमशः प्रा.डा. भीमप्रसाद खतिवडा र कृष्ण अधिकारीले गर्नु भएको थियो ।
महाकवि मोदनाथ प्रश्रितको ७४औँ जन्मोत्सव (आषाढ ६ गते) को सन्दर्भमा उहाँलाई विभिन्न संघसंस्थाहरूबाट उपहार र शुभकामना पत्र प्रदान गरिएको थियो । कार्यक्रममा टीका आत्रेय, संजीव धिमाल, ताराबहादुर बुढाथोकी, खगिन्द्रा खुशी, गण्डकी पुत्र, डा.सुधन पौडेल, आरती पोखरेल, देवीचरण भण्डारी र तीला लेकालीले कविता, गीत तथा गजलहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, डा.बालकृष्ण थापा, चूडामणि रेग्मी, दुर्गाप्रसाद आचार्य र कार्यक्रमका अध्यक्ष तथा प्रश्रित प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. कपीलदेव लामिछानेले संवोधन गर्नु भएको थियो । प्राज्ञ उपेन्द्र पागलले स्वागत मन्तब्य र सञ्चालन रमेश घिमिरेले गर्नु भएको थियो ।
–देवीचरण भण्डारी
Subscribe
Login
0 Comments
Oldest












































