साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रेकिङ भ्यूज

Nepal Telecom ad

यदि आगो सल्क्यो, चोर पल्क्यो, बाढी आयो, भूकम्प गयो, दुर्घटना भयो, आत्महत्या गर्न लाग्यो, घाइते मान्छे मर्न लाग्यो भने यस्तो अवस्थामा कसले के गर्छ र तपाईं–हामीले के गर्नुपर्छ ! आउनोस्, यही विषयको गजुरियल विश्लेषण गरौं र रियल समाधान निकालौं ।

रियल सिद्धान्तले भन्छ, यस्तो अवस्था आए, सबैभन्दा पहिले फसेकाको उद्धार र घाइतेको उपचार हुनुपर्छ । त्यसपछि राहत, सुरक्षा, सूचना, अधिकार, नियम, कानुन, कर्तव्य, सिद्धान्तको काम क्रमशस् गर्दै जानुपर्छ, तर हाम्रो देशमा यसको ठीक उल्टो हुन्छ र देखिन्छ ।

एकैछिनलाई मान्नोस्, कुनै गाउँमा पहिरो खस्यो र मान्छेलाई थिच्यो । त्यहाँ सबैभन्दा पहिले स्थानीय रमितेहरू पुग्छन् । त्यसपछि ‘कभर स्टोरी’ वाला संवाददाता तथा ‘ब्रेकिङ न्यूज’वाला ‘टिभी जर्न्लिस्ट’ को ताँती लाग्छ । त्यसपछि पार्टी प्रतिनिधि, मानवअधिकारकर्मी, राहत वितरणकर्ता एवं अन्तिममा उद्धारकर्मीहरू आइपुग्छन्, जति बेला घाइतेको ‘रामनाम सत्य’ भैसकेको हुन्छ ।’ आउनोस्, यसको गजुरियल प्रत्यक्ष प्रसारण हेरौं ।

पहिरो खसेर मान्छे किच्यो, रमितेको जन्ती लाग्छ, जो चोकको पसलमा चार दुला हुलुत्त अर्थात् क्यारेमबोर्ड, हल्लन् ट्वाक अर्थात् लुँडो र बाउन्न पत्ती सत्यानाशी पुस्तक अर्थात् तास पढिरहेका हुन्छन् । एउटाले भन्छ, ‘ओहो, टाउकै फुटेछ बिचराको !’ अर्को भन्छ, ‘रगतै निस्किएछ नि !’ उसकी आमा कराउँछिन्, ‘तँलाई पनि लाग्छ, यता आइज ।’ अर्काकी पत्नी चिच्याउँछिन्, ‘हजुरचाहिं किन त्यहाँ, खुरुक्क घर हिँडिस्यो !’

अब टिभी जर्नालिस्ट पुग्छन्, ‘ब्रेकिङ न्यूज दर्शकबृन्द ! उहाँ ढुङ्गाज्यू आफ्नै गतिमा झर्दै हुनुहुन्थ्यो । यी महानुभावले आफ्नो टाउको थाप्नुभयो । बिचरा ढुङ्गा आफ्नो गन्तव्यमा पुग्न सक्नुभएन ।’ क्यामेरा ढुङ्गातिर सोझिन्छ, ‘यी महानुभावसँग तपाईंको दुस्मनी थियो कि ढुङ्गाज्यू ?’ घाइते बाँच्ने आशामा भन्छन्, ‘त्यो ढुङ्गाज्यू होइन, म ढुङ्गानाको ज्वाइँचाहिँ घाइते भएको हुँ ।’

रमिते हटाउँदै, स्थानीय प्रहरी घाइते छेउ पुग्छ, ‘तपाईंको नाम के हो ?’ घाइते भन्छ, ‘मलाई दुख्यो ।’ प्रहरी टिप्छ, ‘माइला दुखी ।’ प्रहरी फेरि सोध्छ, ‘बाबुको नाम ?’ घाइते चिच्याउँछ, ‘मरें नि बाबा ।’ प्रहरी टिप्छ, ‘बाबु मरे छन् ।’ प्रहरी अन्तिम प्रश्न सोध्छ, ‘कसैमाथि शङ्का छ ?’ घाइते मसिनो स्वरमा भन्छ, ‘हे भगवान्, यो के गर्यौ ?’ वाकीटकीबाट प्रहरीले जाहेर गर्छ, ‘सर, भिक्टिमले भगवानमाथि शङ्का गरेको छ ।’

त्यसपछि एउटा पार्टी प्रतिनिधि पुग्छ, ‘जसले हाम्रो साथीलाई घाइते बनायो, त्यसको घोर भत्र्सना गर्छौं । हिंड साथी हो, विरोध जुलुस निकालौं ।’ अर्को पार्टीवाला घाइतेकी आमालाई सम्झाउँछ, ‘नआत्तिनोस् आमा, हामी घाइतेको बदला घाइते बनाएरै छाड्छौं ।’ तेस्रो पार्टीको युवा कार्यकर्ता घाइतेकी पत्नीको हात सुमसुम्याउँदै भन्छ, ‘एकैछिन धैर्य गर्नोस् भाउजू, दाइलाई तल–माथि हुन दिनोस, हजुरका साथमा म छु ।’

डाँडामा माइकिङ सुनिन्छ, ‘घाइतेले परमेश्वरको काख पाऊन् । प्रार्थनाका लागि मण्डलीमा पाल्नुहोला ।’ नजिकै उभिएका पुजारी भन्छन्, ‘नारायण–नारायण, वैकुण्ठ बास होस् ।’ त्यहीबेला इन्सुरेन्सवाली महिला झुल्कन्छिन्, ‘भाउजू, जीवन बिमा थियो ?’ घाइते पत्नी बोल्छिन्, ‘जीवन र बिमा थिएनन् नि । दुवै दिदीभाइ स्कुल गएका थिए ।’ बिमाकर्ता दङ्ग पर्छिन्, ‘अब तिनै जनाको इन्स्युरेन्स गर्नुपर्छ ।’

चाउचाउका प्याकेट बोकेर एक टोली घाइते छेउ पुग्छ, ‘दाइ, राहत खानोस् ।’ घाइतेकी आमा कराउँछिन्, ‘मेरो घाइते छोराले के बिगारेको छ र तपाईंहरूको ‘लात’ खान ?’ तुरुन्तै एनजीओको मान्छे कारबाट उत्रिएर सोध्छ, ‘सरकार आएको छैन ?’ घाइते मसिनो स्वरमा भन्छ, ‘खकार आइरहेको छ ।’ एनजीओवाला फोटो–सोटो खिच्छ र हिंड्ने बेलामा भन्छ, ‘हामी सरकारको नालायकी विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्छौं ।’

अन्त्यमा, केही विदेशीसहित नेपाली स्वयंसेवी युवाहरूको एउटा टोली आइपुग्छ । घाइतेलाई एम्बुलेन्समा राख्न खोज्छन् । …तर, उसको शरीर लल्याकलुलुक हुन्छ । विदेशी टोलीमा रहेका डाक्टरले नाडी छाम्छन् र भन्छन्, ‘हि इज डेथ ।’ नेपाली स्वयंसेवी डाक्टर थप्छन्, ‘हामी पाँच मिनेट अगाडि पुग्न सकेका भए बचाउन सक्ने थियौं !’

क्यामेरा पर्सनले हत्तपत्त क्यामेरा सोझ्याउँछन्, बारीको पाटामा चुरोट तानेर बसेका ‘ब्रेकिङ न्यूजवाला’ दौडिएर आउँछन्, भट्याउन थाल्छन्, ‘दर्शकहरू ! अघि हामीले जुन न्यूज ब्रेक गरेका थियौं, त्यो व्यक्तिको अहिले भर्खरै मृत्यु भएको छ । लाइभ, प्रत्यक्ष, हामीले हेर्दाहेर्दै, हजारौं मान्छेका अगाडि । यस्ता दृश्य तपाईंलाई हामी फेरि–फेरि देखाउनेछौं, हेर्दै गर्नुहोला, ब्रेकिङ न्यूज च्यानल !’ त्यसपछि विज्ञापन बज्न थाल्छ, ‘हामी बनाउँछौं नेपाललाई !’
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x