साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबार

Nepal Telecom ad

फान्सको भर्सिलिज दरबारको र्याङको ठ्याङ अनुकरण गरी चन्द्र सम्शेरको आदेशमा निर्माण गरिएको दरबार । नेपाली जनताले सारा शरीरलाई घोटी–घोटी, दिनहुँ मरिमेटी, स्नायुलाई रोटी जस्तो बनाएर सारा पसिना खन्याएर भोक भोकै मरेर भए पनि, तराईबाट ईंट ओसारेर, त्यसमा मासको पीठो, अण्डा र पाकेको र्इंटको धुलो मिसाएर लेपन गरी सिमेन्ट सरी पक्का हुने भव्य दरबार बनाए । राणाहरूको रमाइलो सपना जनताहरूले साकार गरिदिए । त्यो भिमकाय विशाल दरबारको दर्पण ठ्याक्कै अगाडिको तलाउमा तैरिन थाल्यो ।

दरबार जन्मिसके पछि बाहुन बोलाएर न्वारान, स्वारान गरे कि गरेनन् ? तर नाम त गज्जब कै राखे बा ! सिंह दरबार ! फ्याट्टै हेर्दा उनीहरूसँगै मिल्ने चिरिच्याँट्ट परेको नाम राखे जहाँनिया जङ्ग वीरका जन्ती शासकहरूले ! जहाँ मान्छे नामका रुपधारी सिंहहरू बस्छन् त्यो दरबारको नाम सिंहदरबार नराखेर भैंसी दरबार वा गाई दरबार, बाख्रा दरबार वा हात्ती दरबार, गैडा दरबार वा गिद्ध दरबार, कालिज दरबार वा काग दरबार राखेको भए के सुहाउँथ्यो त ? सिंहदरबार भन्नासाथ सारा जंगली र पाल्तु जनावरहरूको सातोपुत्लो त उड्थ्यो नै, अझ बढी बाठो मान्छेको त झन् होस नउड्ने कुरै भएन । त्यसो त सिंहदरबारमा मान्छे बस्ने त कुरै भएन, सिंह नै बस्छ । सिंह त सर्व शक्तिमान जंगली राजा, यसले सोझा निर्दोष र कमजोर सृष्टीहरूलाई बोलाएर बसी–बसी जुँगा निमोठ्दै घुँडा धसी–धसी घाँटी अमेठ्दै हसुर्छ ।

यसरी अनेक नामका सिंहहरूले बसेर यो खोरबाट थुप्रै मान्छेको शिकार गरे । यी सिंहहरूको मिति पुगे पछि नयाँ– नयाँ सिंहहरू भर्ति भए यो दरबारमा । अटल, अचल र निरन्तर शिकार गरे पनि कहिल्यै अघाएन यो सिंह दरबार ! यसरी सिंहहरूको शासन अविरल चलेकै छ । पञ्चहरू पट्केको बीस वर्ष नाघी सक्यो तर अझैँ पनि थुपै्र नयाँ सिंहहरूको लुछाचुँडी र झिना झपटीमा लम्तन्न छ यो सिंह दरबार !

सुत्ने बेला नाई–नाई उठ्ने बेला हाई–हाई भनेजस्तो बेला न कुबेला सयौ वर्ष पुरानो अस्थिपञ्जर चुस्नमा मस्त छ यो सिंहदरबार । अनेकौ नामका भूत, प्रेत, पिचाश, प्रेतात्मा, राक्षस र प्रथम गण सहितको हाड खोडले ग्रस्त छ यो दरबार । यस्तो सिंहको दरबारले मान्छेको काम गर्दैन भन्ने जानी जानी पनि यी मान्छे नामका सर्दारहरूले यसको पुच्छर समाएर किन सत्ता सट्टापट्टा गरी रहेका होलान् ? सिंहको दरबारले मान्छेको व्यवहार गरिदिने भए के यसको नाम सिंहदरबार रहन्थ्यो त ? सिंह दरबारको प्रमुख सिंह नभएर के मान्छे हुन्छ त ? धन्य हो सिंहदरबार ! जुनसुकै तन्त्र आए पनि नयाँ नामका सिंहहरूको सपना हुने भो साकार । त्यसैले त कोर्दाकोर्दै बन्छ यहाँ कवितामय आकार ।

पालेकै छ थरिथरीका सिंहहरू
चालेकै छ एकहोरो
चेसका गोटीहरू खुरु–खुरु,
रुवाएकै छ दुनियाँलाई धुरु–धुरु
चुपचाप, निसंकोच,
रक्ताम्य रातो मुहार लिएर
बढेकै छ अगाडि सुरु–सुरु
सधैँ तेरै हातमा हुने भो
त्यो भयानक तरबार !
धन्य हो,
ए, सिंहदरबार !
प्युठान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
0
Would love your thoughts, please comment.x
()
x