साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोन रिसिभका विभिन्न तरिका

Nepal Telecom ad

हाम्रो समाजमा फोन रिसिभका विभिन्न तरिका छन् । जस्तै ‘हेलो’, ‘हजुर’, ‘नमस्कार’, ‘फलानो बोल्दैछु, नमस्ते’, ‘यस’, ‘यस् प्लिज’, ‘भन्नोस्’, ‘अँ’, ‘अँ, भन्नोस्’, ‘भन्नोस् त’, ‘भनिहाल्नोस्’, ‘छोटकरीमा भन्नोस्’, ‘को हो ?’, ‘किन ?’, ‘को, बोलेको ?’, ‘बोल्ने को हो ?’ ‘कसलाई खोज्या ?’, ‘को होला ?’ ‘पछि गर्नोस्’, ‘सुनिएन है’, ‘हो होई’, ‘सुईंय’, ‘ज्यू’, ‘अहम्’, ‘को पर्नु भो ?’ ‘को पर्यो ?’ आदि–इत्यादि । यी प्रत्येक शब्दको आ–आफ्नै मनोज–विज्ञान छ । आउनुहोस्, तिनको गजुरियल विश्लेषण गरौं ।

‘हेलो’– यो फोन रिसिभ गर्ने सबैभन्दा चर्चित शब्द हो । कसै–कसैले हेलोलाई ‘हलो’ पनि भन्छन् तर दुवैको जोताई एउटै हो । हेलो र हलोमा प्रेम, स्वीकार, इच्छा, अपेक्षा, दायित्व, जिम्मेवारी, कर्तव्यबोध केही पनि हुँदैन । केवल रिंग बजेकाले उठाइ दिने औपचारिकता हो । मनोज–विज्ञानमा यसलाई फोन रिसिभिङको मृत प्रतिक्रिया भनिन्छ ।

‘हजुर !– ‘हजुर’ शब्दले फोन रिसिभकर्ताको विशाल छाती देखाउँछ । यसै पनि ‘हजुर’ सम्मानबोधक शब्द हो, त्यसमाथि चिन्दै नचिनेको फोनकर्तालाई हजुर भन्नाले मान्छेको व्यक्तित्व गजुरभन्दा अग्लो हुन्छ । याद राख्नोस्, ‘हजुर’ छोट्टो छ भने कुरा चाँडै सिध्याउनोस्, ‘हजु….र’ भनेर तन्किएको छ भने धित मरुञ्जेल बात मारे हुन्छ ।

नमस्कार– हलोको साटो जसले नमस्कार भन्छ, बुझ्नुहोस् रिसिभकर्ता तपाईंलाई उत्तिकै सम्मान गर्छ जति उसले आफूलाई गर्छ । यस्ता मानिससँग तपाईंले भन्न खोजको कुरा प्रस्ट भने हुन्छ । भन्न नखोजेको कुरा छ भने पनि भने फरक पर्दैन ।

‘म फलानो बोल्दैछु, नमस्ते’– गजुरियल विश्लेषण भन्छ, फोन रिसिभ गर्ने सबैभन्दा उत्तम तरिका यही नै हो । फोनकर्ताले सोध्ने प्रश्नहरू ‘को बोल्नु भा’ ?’, ‘यो कसको नम्बर हो ?’, ‘कहाँ पर्यो’ आदिको जवाफ ‘म फलानो बोल्दैछु’ बाटै आउँछ । यसो गर्दा समय र बोलीको बचत हुन्छ । पछाडि आउने ‘नमस्ते’ले सुन्नेलाई आनन्द र भन्नेलाई परमानन्द मिल्छ । संसारको शान्ति र समाजको सुन्दरता यस्तै मीठो बोलीमा अन्तरनिहित हुन्छ भन्ने गजुरियल ठम्याइ छ ।

‘भन्नोस्’– जुन रिसिभकर्ताले हेलो वा हजुरको ठाउँमा ‘भन्नोस्’ उच्चारण गर्छ, ऊसँग केही नबोली फोन काटिहाल्नोस् । तपाईंभन्दा अघि धेरैले उसलाई ल्याङल्याङ गरी सकेका छन् । अब तपाईंले महावाणी नै भने पनि उसले एउटाले सुनेर अर्को कानले उडाइदिनेछ । ‘भन्नोस्’ भन्नेहरू प्रायः प्रहरी, प्रशासन तथा राजनीतितिर हुन्छन् ।

‘अँ, भन्नोस्’– यस्ता मानिसहरूमा विशेष गरेर पेटको समस्या रहने भएकाले उनीहरू भन्नोस्को अगाडि ‘अँ’ जोड्छन् । पछाडिको भन्नोस्को मनोज–विज्ञानमाथि उल्लेख गरिसकिएको छ ।

‘को हँ ?’– यी मनुवाको स्वभाव अनौठो हुन्छ । साथीहरू सीमित हुन्छन् र तिनलाई एक कल फोन गर्नुभन्दा ट्याक्सी चढेर भेट्नै पुग्छन् । यिनमा यो शब्दको प्रभाव यति गहिरो हुन्छ कि, कहिलेकाहीँ सँगै सुतेकी श्रीमतीलाई पनि मध्यरातमा ‘को हँ ?’ भनेर केरकार गर्छन् ।

‘को बोलेको ?’– यस्ता मानिसहरू प्राय पूर्व प्रशासक हुन्छन् । उनीहरू यति आउटडेटेड हुन्छन् कि, मोबाइलको बोल्ने बाहेक अरू कामै छैन भन्ने मान्छन् । यदि यिनले बोल्न चाहेको मान्छे पर्नु भएन भने रिसले मोबाइल फुटाउन पनि बेर लाउँदैनन् ।

‘कसलाई खोजेको ?’– यिनीहरू यति कमजोर हुन्छन् कि आफू कसैले खोज्ने हैसियतको हुँ भन्ने नै विश्वास गर्दैनन् । प्राय पिए तथा रिसेप्सनमा बस्नेहरूको मनोज–विज्ञान यस्तै भेटिन्छ ।

‘किन गरेको ?’– एक्कैचोटी ‘किन गरेको ?’ भन्नेहरूको गृहस्थ जीवन ठीक छैन भन्ने बुझ्नुपर्छ । अधिकांश समय पत्नीसँग झगडा पर्ने भएकाले यस्ता मानिसहरू मोबाइलको हरेक रिङटोन बज्दा श्रीमतीकै फोन सम्झेर किन गरेको भनेर झर्किन्छन् ।

‘पछि गर्नोस्’– बुझ्नुहोस्, या त यिनीहरू प्रेमिकासँग रङ्गिइरहेका हुन्छन्, या त श्रीमतीसँग जङ्गिइरहेका हुन्छन् । रङ्गिन समयमा ‘पछि गर्नोस् ल’ भनेर लयात्मक तरिकाले बोल्छन् भने जङ्गिएको समयमा ‘पछि गर्नोस् है’ भनेर हप्काउँछन् । खान र पिनका बेला भने छोटकरीमा ‘पछि गर्नोस्’ मात्र भनेर फोन काट्छन् ।

‘सुनिएन है’– कोही–कोही एकैचोटी ‘सुनिएन है’ भनेर फ्याट्टै फोन काटिदिन्छन् । उनीहरू प्रेमिकाको डरले मोबाइलको स्वीच अफ गर्न पनि सक्दैनन् भने श्रीमतीको त्रासले कुरा गर्ने आँट पनि गर्दैनन् ।
साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x