सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राजीनामा ठोकेको बारे

Nepal Telecom ad

माननीय मन्त्री लालबाबु पण्डित !

(मनमा त लाले भन्न मन छ । अझ अर्थोक पनि के के भनेर गाली गर्न मन छ । तर, त्यसरी गाली गर्दा तिमी अझै लोकप्रिय हौला भन्ने डर छ, त्यसैले आक्रोशलाई जबरजस्ती दबाउँदै सभ्य भाषामा मनको तीतो पोख्नु पर्‍या छ, मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ ।)

यो जुनीमा हामीले तिम्रो केही बिगार गरेका थियौँ जस्तो लाग्दैन । अघिल्लै जुनीमा तिम्रो पिँडालु बारी फाँडेका थियौँ कि क्या हो ! होइन भने तिमीले किन यसरी हाम्रो खेदो खन्यौ ? एक हातमा चिची थियो, अर्को हातमा पापा, तिमीले पापा खोसिदियौ । हामीलाई विदेशै रोज्न बाध्य बनायौ । हाम्रो खाइपाइ आएको सुविधामा असिना बर्सायौ ।

वास्तवमा तिमी यो देशका लागि अनफिट नेता रहेछौ । एउटा कुरामा लागेपछि एकोहोरो लागेको लागै । अडान राखेपछि राखेको राखै । दायाँबायाँ हेर्दै नहेर्ने, लिँडे । मन्त्री भएपछि पनि न रंग फेर्ने, न ढंग । कस्तो सुक्खा जिब्रो तिम्रो, रसाउँदै नरसाउने  ! कस्तो कठोर छाती तिम्रो पग्लिँदै नपग्लिने  ? अर्कै ग्रहबाट आएजस्तो, न लोभलालच छ, न ज्यानको माया ! हामीले पुर्‍याएका त्यत्रा दबाब र धम्कीबाट पनि गल्दै नगल्ने कति साह्रो ! फलाम हो कि मान्छे, छुट्याउनै गाह्रो ।

हामीले देशको अहितमा केही गरेका थिएनौँ । जता बसे पनि योगदानै गरेका थियौँ । बेलाबेला नाक थुन्दै नेपाल आउँथ्यौँ । छि:छि: र दूरदूर गर्दै बस्थ्यौँ । मन्त्रालय, अफिसहरू जान्थ्यौँ । हाकिमहरूलाई चक्लेट खुवाउँथ्यौँ । कोसेली टक्र्याउँथ्यौँ । हाजिर मिलाएकै थियौँ । जागिर बचाएकै थियौँ । फेसबुक र ट्वीटरका स्टाटसहरूमार्फत निरन्तर राष्ट्रसेवा गरेकै थियौँ । अस्ति भर्खर संविधानको मस्यौदा च्यात्यौँ । पहिचान खोज्दै दूतावास घेर्‍यौँ । बेलाबेलामा नेपालबाट गएका विपक्षी दलका नेताहरूलाई कालो झन्डा देखाएकै छौँ । पार्टी राजनीति र गुट राजनीति गरिरहेकै छौँ । सात समुद्रपारि बसेर देशका लागि त्यत्रो योगदान गरेबापत के लिएका थियौँ र ! राष्ट्रिय ढुकुटीबाट केही सुविधा पाएका थियौँ, तिम्रो अंश त खाएका थिएनौँ नि ! हामीले कत्ति दु:खले पाएका थियौँ, पीआर र ग्रिनकार्ड ! कत्ति पढेर पास गरेका थियौँ लोकसेवा  ! तिमीले न कहिल्यै लोकसेवा दियौ, न डीभी भर्‍यौ ! अनि, हाम्रो दु:ख किन बुझ् थ्यौ  ! कति मिहिनेत गरेर आफ्ना सन्तानलाई सधैँको बन्द, हडताल, गरिबी, अभाव, अशान्ति, फोहरमैला र प्रदूषणबाट मुक्त गरेर युरोप, अमेरिकामा पढ्ने, बस्ने व्यवस्था मिलाएका थियौँ । आफ्ना देशका नागरिकले विकसित देशमा प्राप्त गरेको सुख तिमीलाई सह्य भएन । तैपनि, तिमी नै राष्ट्रवादी ? विडम्वना !

सुविधासम्पन्न करोडको गाडी दिँदा तिमीले फिर्ता गर्‍यौ रे, होइन ? भाग्यमा भए पो चढ्न पाउँथ्यौ । तिमीलाई सधैँ सार्वजनिक बसमै गुडिरहनु परोस् । मोटा चामलको खस्रो भातले कहिल्यै नछाडोस् । जिन्दगीभर डेरामै डल्लो परिरहनु परोस् । आफ्नै छोरी, सालो, भान्जा र भतिजीले ग्रिनकार्ड–पीआर लिएर खुरुखुरु विदेश गएको टुलुटुलु हेर्नु परोस् । श्री पशुपतिनाथसँग यही प्रार्थना गर्दै किटकिटकिट दाह्रा किट्तै राजीनामा ठोकेका छौँ । स्वीकृत गरे गर, नगरे नगर ।

– सम्पूर्ण मन्त्रीपीडित राष्ट्रसेवक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे