सुलसुलेअन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सम्मेलन जापानको टोकियोमा हुने भएको छ । युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसर पारेर आगामी सेप्टेम्बर १९ र २० मा हुने यो सम्मेलन अनेसासको चौथो सम्मेलन हो । सन् २००९ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको यो सम्मेलन त्यसपछि प्रत्येक २÷२ वर्षमा आयोजना हुँदै आएको छ । सन् २०११ मा बेलायत र सन् २०१३ मा अमेरिकाको वासिङ्टन डिसीमा सम्मेलन आयोजना गरिएको थियो ।
यसपटकको सम्मेलनका लागि अनेसासका उपाध्यक्ष प्रकाश पौडेल माईलाको संयोजकत्वमा तयारी समिति गठन भएको छ । यसैगरी कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न अनेसासका अध्यक्ष पदम विश्वकर्माको संयोजकत्वमा एक उच्चस्तरीय समिति पनि गठन गरिएको छ । सो समितिमा अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्षहरू राम खत्री र प्रकाश पौडेल माईला, महासचिव गोवर्धन पूजा र अनेसास जापानका अध्यक्ष आलोक चालिसे रहेका छन् ।
समितिको हालै बसेको बैठकले विशेष सल्लाहकार र सल्लाहकार चयन गरेको छ । विशेष सल्लाहकारमा डा. कविता लामा, डा. खगेन्द्रप्रसाद लुइँटेल, गङ्गाप्रसाद उप्रेती, जीवा लामिछाने, डा तारानाथ शर्मा, देवमान हिराचन, भवन भट्ट, डा. श्याम कार्की, र होमनाथ सुवेदी रहेका छन् भने सल्लाहकारमा डा. कुमार बस्नेत, गीता खत्री, गोविन्दराज विनोदी, तिलक मल्ल, डा. दुबसु क्षेत्री, भारती गौतम, भूषण घिमिरे र सीता पाण्डे रहेका छन् ।
दुई दिने सो सम्मेलनका क्रममा कार्यपत्र प्रस्तुति, कवि गोष्ठी, छलफल तथा जापान घोषणा पत्र जारी गरिने छ भने विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिने, कृति बिमोचन गरिने कार्यक्रम रहेको छ । सम्मेलनमा जापानका साहित्यकारका साथै नेपाल, अमेरिका, अष्ट्रेलिया, भारत, बेल्जियम, इजराइल, बेलायत, बर्मा लगायतका मुलुकमा रहेका सर्जकहरूको सहभागिता रहने छ ।
Subscribe
Login
0 Comments
Oldest












































