भूपिन खड्कापागलको गीत
हेर्नू, मेरो अञ्जुलीबाट
जीवनको समुद्र नै चुहिएर सकिएको छ ।
मेरो हत्केलाबाट खसेर
जीवनको ऐना टुक्रा टुक्रा भएको छ ।
आँखाभित्रै पहिरोमा पुरिएका छन्
सर्वाधिक प्रिय सपनाहरू
सम्झनाको लागि उपहार भनेर
अलिकति सपनाहरू चोरी लगेका थिए बिर्सनेहरूले
न उनीहरूले ती सपनाहरू आँखामा सजाएका छन्
न मलाई फिर्ता दिएका छन् ।
हातमा
उख्लिएको मुटु च्यापेर हिँडिरहेछु वर्षौंदेखि
न त्यसलाई छातीमा लगेर टाँसिदिने
कुनै मायालु हात छ
न त्यसलाई चितामा फ्याँकिदिने
कुनै महान् आत्मा छ ।
यो सडक नै हो मेरो पाठशाला
यो सडक नै हो मेरो धर्मशाला
मलाई कसले पागल बनायो ए बटुवा दाइ ?
मेरो बुद्धि, ईश्वर
वा यो कुरुप राज्यसत्ताले ?
कसरी झरेँ म यो सडकमा ?
यो सडक नै हो जीवनको प्रयोगशाला !
नवलपरासी
Subscribe
Login
0 Comments
Oldest








































