लक्ष्मण गाम्नागेहाम्रै देश नेपाल थियो अरे …
एकादेशमा एउटा देश थियो अरे । देश भएपछि त्यहाँ नागरिक हुने नै भए । नागरिक भए पछि कसै न कसैले त्यहाँ नेता भएर अवतार लिने नै भए । नेता जन्मेकैले गर्दा त्यहाँका नागरिकहरू जनतामा रुपान्तरित भए अरे । यदि त्यहाँ नेता नभएका भए ती नागरिकहरू नागरिक मात्रै हुन्थे वा मान्छे मात्रै हुन्थे अरे, तर तिनीहरूभन्दा धेरै माथि टाउकामा बसेर शासन गर्ने नेताहरूको प्रतिष्ठाका लागि तिनीहरू जनता भइदिए अरे ।
जनता भएपछि निरीहता हुने नै भयो । जनताहरू निरीह थिए । उनीहरूलाई सधैं खान लाउनको दुःख थियो । यातायातको असुविधा थियो । खानेपानी थिएन । अस्पताल थिएन । स्कुल थिएन । विजुली थिएन । भए पनि कम्ति थियो, अपुग थियो । उनीहरूलाई आफ्ना भाग्य विधातासँग अनेक मागहरू राख्न सिकाइएको थियो । नेता नहुँदा देउतालाई उनीहरू भाग्य विधाता सम्झन्थे, नेता जन्मेपछि नेतालाई नै भाग्य विधाता सम्झन थाले । आफू समक्ष माग राखिएपछि नेताहरू साह्रै खुशी हुन्थे । आफूलाई देउता नै ठान्थे र जनताले जति माग गर्थे त्यसमा कैयौं गुना थपेर उनीहरू जनतालाई ‘तथास्तु’ भनिदिन्थे ।
शुरुशुरुमा त्यहाँका जनताले कसैसँग केही माग्न जानेका थिएनन् । आफ्नै मेलोमेसो गर्थे, हलो कोदालो गर्थे, खर्क र बेसी गर्थे । मिहिनेत गर्थे, खान्थे । नेताहरूले नै आफैंसँग उनीहरूलाई माग राख्न उक्साएका हुन् । जनताका मागहरू सारै सामान्य खालका साना साना हुन्थे । उनीहरू बिचार गर्थे पूरा हुनेसम्मका माग राख्नुपर्छ, पूरा नहुने सपना देख्नुहुन्न । तर नेताहरू एकपछि अर्को उनीहरूका घर आँगनमा आउँथे र जनताले देखेका सपनाभन्दा सय गुना ठूला सपना देख्न लगाउँथे ।
जनताहरू बिहान बेलुकाको छाक ढिँडो, गुन्द्रक, आँटो पिठो जेले भए पनि टार्ने सपना देख्थे र नेताहरू समक्ष त्यसका लागि भरथेगको माग राख्थे । नेताहरू दाल, तरकारी, अचार, गाईको दूधसँग मसिना चामलको भात खुवाउने कुरा गर्थे । हप्ताको एकदुई छाक माछामासु र फलफूल पनि खान पाउने व्यवस्था गरिदिने वचन दिन्थे । प्रत्येक जनतासँग एउटा घर, खेति, चरन र लैनो गाई हुनेछ भनेर घोषणा गरिदिन्थे ।
जनताहरूले गाउँमा एउटा प्राथमिक स्कुलको सपना देखे । नेताहरू आएर तिमीहरूलाई नाथे प्राइमरी स्कुलले कहाँ पुग्छ, विश्वविद्यालय नै चाहिन्छ भन्दै विश्वविद्यालय ल्याउने निर्णय गरेर सही गरिदिए । जनताहरू स्वास्थ कार्यकर्ता सम्म भएको एउटा स्वास्थ्य चौकी भए हुन्थ्यो भनेर कुरा उठाउँथे, नेताहरू डाक्टरहरूले भरिएको कुन्नि कति शैयाको ठूलै अस्पताल ल्याइदिन राजधानीतिर लाग्थे ।
जनताहरूको गाउँमा बाटोको साह्रै समस्या थियो । कति भरियाहरू, कति गोठालाहरू, कति घाँसीहरू, कति स्कुले केटाकटीहरू बाटो हिँड्दा कतिपटक भिरको ढुङ्गामा ठोक्किएर खोँचमा खसेका थिए । त्यो ढुङ्गो फुटाएर टाउको नठोक्किने बनाइ माग्न उनीहरूले नेतालाई गुहारे । नेताहरू आएर त्यो भिरमा ढुङ्गो फुटाउने होइन, सडक खन्ने र कालोपत्रे समेत गर्ने कटिवद्धता प्रकट गरेर गए । अरु धेरैजना भिरबाट लडेपछि अर्कोपल्ट कुरा उठाउँदा त्यो भिरमा सुरुङ मार्ग नै बनाउने टुङ्गो लगाएर नेताहरू शहर पसे र उतै बसे । जनताको गाउँमा केटाकेटीका लागि खेल्ने चौरको दर्कार थियो । गाउँलेले श्रम लगाएर चौर खन्ने निर्णय गरेको थाहा पाउनासाथ नेताहरूले त्यो ठाउँमा खेल्ने चौर होइन हावाइजहाज बस्ने एयरपोर्ट नै बनाउने घोषणा गरे ।
खानेपानीको झन् कुरै भएन, दुई घण्टा लगाएर कुवामा पुगिन्थ्यो । जनताले त्यो कुराको समाधानका लागि डाकेको वैठकमा एकाएक प्रवेश गरेर नेताहरूले गाउँमा खानेपानी मात्रै होइन, घरघरमा माछा पाल्न समेत पुग्ने गरी पानी ल्याउने कसम खाए । डाँडापारिको खोलाबाट टनेल खनेर कुन्नि कति मेगावाटको विद्युत उत्पादन केन्द्र बनाउने र सिँचाइ समेतलाई पुग्ने पानी ल्याएर त्यो गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने गरी जनताले आशै नगरेका माग समेत पूरा गरिदिए नेताहरूले ।
जनताले देशमा विकास खोजे, नेताले हिंसात्मक क्रान्ति नै उपलव्ध गराए । जनताले क्रान्ति पुग्यो अब शान्ति र सुरक्षा भए पुग्छ, भने, नेताले कहाँ पुग्नु तिमीहरूलाई त संविधानसभा पो चाहिन्छ त भने । जनताले लौ ठिकै छ, तर सानो आकारको संविधानसभा भए हामीलाई पुग्छ भने । नेताले सानोले कहाँ पुग्छ, कम्तिमा छ सय एकजनाको संविधानसभा चाहिन्छ भन्दै जनताले मागेको भन्दा कैयौं गुना ठूलो आकारको संविधानसभा दिएर नेताहरूले चमत्कारै गरे । जनताले दुई वर्षमा बनाएको संविधान हामीलाई पर्याप्त हुन्छ भने । नेताहरूले भने, दुई वर्षमा बनाएको संविधानले तिमीहरूका अधिकार रक्षा गर्न सक्तैन, तीन चार वर्ष लगाएर बनाइदिन्छौँ । यसरी नेताहरूले जनताको मागभन्दा धेरै गुणा बढी पूर्ति गर्दै गए, गर्दै गए । जनताले संविधानसभा पुग्यो अब अरु नै कुनै उपाय गर्नुहोस् भनेर नेतालाई भने । नेताले भने, त्यसरी कहाँ हुन्छ, दोश्रो पटक निर्वाचन गरेर भए पनि हामी संविधानसभाबाटै संविधान बनाएर तिमीहरूलाई केही दशकमै संसारकै धनी जनता बनाउँछौं । उनीहरूले फेरि दोस्रो संविधानसभाको निर्वाचनमा जनतालाई हुले ।
लामो अनुसन्धान पछि पत्ता लाग्यो त्यो देशमा विकास नहुनु र जनताले झन् झन् दुःख पाइरहनुको खास कारण नेताको मन साह्रै ठूलो र जनताको मन साह्रै सानो भएर रहेछ । जनताको बुद्धि नपुगेर तिनीहरूले दुःख पाएका रहेछन् । जनता थोरै थोरै माग्ने, नेता घ्याप्घ्यापी दिने । यो माग र आपूर्तिको असन्तुलनले गर्दा देश अगाडि नबढेको रहेछ ।
ती महान् र दयालु नेताहरू र साह्रै छोटो मन भएका मूर्ख जनताहरू भएको देश अरु कुन हुन्थ्यो ! हाम्रै देश नेपाल थियो अरे ।
नेपाल ०७२ भदौ
Subscribe
Login
0 Comments
Oldest







































