रमेश खकुरेलम कविता लेख्दिन
तिमी राम्री छौ भन्दैमा
मैले कविता लेख्नै पर्छ भन्ने केही छ ?
म लेख्दिन ।
हो तिमी राम्री असाध्यै रहिछौ
मैले पनि एकछिन आँखा छल्दै हेरेँ
तिम्रो रोज दलेको गाला हेरेँ
लिपिस्टिकको प्याला हेरेँ
सेतो चट्ट घाँटी हेरेँ
घाँटीको त्यो माला हेरेँ
तिम्रो चाला हेरेँ ढाला हेरेँ
देखिने जति सबै हेरेँ
हेर्दैमा कविता लेख्नै त पर्दैन नि ।
तिमीले लेख भनेकी छैनौ भन्दैमा हुन्छ ?
मेरो मनले मान्नु परेन ?
कति जिद्दी छ मेरो मन
तिमीलाई के थाहा ?
तिमीले साँच्चै नलेख भन्न खोजेको भए
तिमी यति राम्री नै हुनुहुन्थेन ।
तिमी पक्का दोषी हौ
तिमीलाई त बैंश कैद हुनु पर्छ
तिम्रा गाला नचाउरिएसम्म
त्यो पोटिलो शरीर नदाउरिएसम्म
तिमीलाई खुल्ला छाड्नुहुँदैन
तिमीलाई देखेर जाने कुन पुरुषको
पुरुषत्व जाग्दैन होला ?
कसले त्यो दिन घरमा आफ्नी
बुढी कुट्दैन होला ?
विचरी मेरी बुढी
हिजो बेलुकी देखी थला परेकी छ
तिमीलाई त पाप लाग्छ मेरी बुढीको
दुनियाँको घर भाँडेकी छौ तिमीले
भँडुवाई हौ तिमी
अनि मलाई यस्ती भँडुवाईको बारेमा
कविता लेख्नु पर्ने
अहँ म त लेख्दै लेख्दिन ।
लेख्न सक्दैन भन्ने नसोच नि फेरि
तिमी जस्ती कती सुन्दरीलाई
कलमको चुच्चाले घोचेर
कागजमा रिँगटा चल्ने गरी
घुमाइदिएको छु
तिमीलाई घुमाउन पनि
दाहिने हातका तिन औँला
भन्दा बढी अरु केही चाहिँदैन
तर म घुमाउँदिन
म घुमाउँ किन ?
मलाई चित्त दुखेको छ तिमीसँग
मैले त्यत्रो बेर तिमीलाई हेर्दा
तिमीले पनि एकचोटी
मलाई हेर्दिए के जान्थ्यो तिम्रो ?
मेरो बिहे हुनु भन्दा अगाडि
मसँग भेटिन हुन्थेन ?
अब त्यो तिम्रो छिनेको कम्मर
घुमाउँदै नहिँड मैया
मेरो छँदाखाँदाको घर बिग्रिन्छ
अनि यस्ती विषालु गोमन सर्पको
मलाई कविता लेख्नु पर्ने ?
अँह लेख्दिन, लेख्दै लेख्दिन
मरिजाउँ लेख्दिन ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































