प्रेम ओली ढकलपुरेथोरै जन्ती ल्याउनू
दुलाहा त ल्याउनै पर्यो
सम्धिनीलाई पनि ल्याउनू
दुईचार जना
घरका मान्छे ल्याउनू
सम्धिज्यू आउँदा
थोरै जन्ती ल्याउनु ।
सुनको सिक्री दिएकै छु
दराज खाट दिएकै छु
भटभटे पनि दिएकै छु
बिस बर्ष पालेकी छोरी पनि
दिएकै छु
अब अरु त के दिन भ्याउनु
सम्धिज्यू आउँदा
थोरै जन्ती लिएर आउनू ।
सम्धिनीलाई कोटाको धोती
सम्धिज्यूलाई कछनी धोती
दुईचार जनालाई
दक्षिना टक्राउँला
छुटपुटलाई खाली खाम
पक्राउँला
जन्ती भनेपछि त
जो पनि आउने
सबैलाई भोज कसरी भ्याउनु
सम्धिज्यू आउँदा
थोरै जन्ती ल्याउनु ।
पहिलो छोरीको बिहेमा
धेरै जन्ती बोलाकै हो
भोज भतेर चलाकै हो
टन्न मासु भात खाकै हुन्
बियर हवीस्की लाकै हुन्
दक्षिणा पनि पाकै हुन्
छोरीले पछि भनेको
लुच्चा फटाह रहेछन्
छोरीलाई भनेछन्
तिम्रो जन्तीमा जाँदा
मासु भात टन्न खाइयो
तर खसीको भनेको त
राँगोको पो पाइयो
रक्सी पनि टुन्न लाइयो
तर लोकल पो खाइयो
चोर डाँका परेछन्
बजियाहरूले गर्नु बिजेत गरेछन् ।
आधा दर्जन छन छोरी
धेरै छैन खेतबारी
दुई छोरीको बिहे गर्दा
बोकेको छु ऋणको भारी
घरकै सदस्य मात्र आउनु होला
सम्धिज्यू जसरी हुन्छ
थोरै जन्ती ल्याउनु होला ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































