साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजा ल्याउनैपर्छ

Nepal Telecom ad

‘हेर्नाेस्, अहिलेका कांग्रेस–कम्युनिस्ट नेताहरूले मुलुकलाई राम्ररी हाँक्न सकेका छैनन् । त्यसैले हामी राजालाई ल्याउन चाहन्छौं ।’
मलाई एउटा गोप्य स्थानमा आमन्त्रित गरिएको थियो । म जस्तो खुला प्रकृतिको व्यक्तिको यस्तोमा के काम हुनसक्छ भनी म मनमनै गुन्दै हिडेँ । त्यहाँ पुगेर एकदमै दङ्ग परेंँ म । यो त खुंखार राजावादीहरूको भेला पो रहेछ त !
‘आउनोस्, आउनोस् निभाजी ।’ एउटा कहलिएको राजावादी आफू बसेको सिटबाट जुरुक्क उभियो ।

‘यहाँ आउनलाई कुनै कष्ट त भएन तपाईंलाई ?’ एक अर्काे कपाल सेतै फुलेको अधबैंसे पनि स्वागत मुद्रामा अघि बढ्यो । मलाई दुवैले प्रेमपूर्वक मेरो दुवै हात समाइकन नजिकैको एक आरामदायी सोफामा लगेर बसाले ।

‘तपाईंहरूले मलाई किन बोलाउनु भएको हो ?’ मैले आसन ग्रहण गर्नासाथ सोझै प्रश्न गरेंँ ।
‘तपाईंजस्तो योग्य र असल मानिसलाई हामी खुबै सम्मान गर्छाैं ।’ दुवैले अतिशय नम्रताको प्रदर्शन गरेर भने, ‘यही हाम्रो एकमात्र उद्देश्य हो ।’

‘ठीक छ, ठीक छ ।’ मलाई एक प्रकारको असजिलो महसुस भइरहेको थियो, ‘तपाईहरू आफ्नो कुरा अलि खुलस्त पारेर भन्नोस् ।’

‘निभाजीलाई एउटा चिसो कोकाकोला ल्याउँ ?’ एउटा लगभग सवा सय किलोको धम्मरधुस मोटे मछेउ आएर करायो । ‘होइन, तपाईंहरू आफ्नो कुरा भन्नोस् ।’ मलाई बेसरी झोंँक चल्न थालेको थियो ।

‘हेर्नाेस्, अहिलेका कांग्रेस–कम्युनिष्ट नेताहरूले मुलुकलाई राम्ररी हाँक्न सकेका छैनन् ।’ कहलिएको राजावादीको फोक्से मुहुडा एक्कासी गम्भीर बन्यो, ‘त्यसैले हामी राजालाई ल्याउन चाहन्छौं ।’

‘तर म कुनै राजा मान्ने त होइन नि !’ मैले उसको पावरदार चस्माभित्रका आँखामा आफ्नो आँखा जुधाएर भनेंँ, ‘एउटा कट्टर गणतन्त्रवादीको कुनै पनि राजा–साजासँग के मतलब हुनसक्छ ?’

‘होइन, होइन, तपाईंहरू जस्तै सज्जन, इमानदार र ज्ञानवान व्यक्तिहरूले यो पुनित कार्यमा हाम्रो सहयोग गर्नुपर्यो ।’ उसले ‘सहयोग’मा जोड दिएर भन्यो, ‘यस्तो भएमा हामी छिटै राजालाई ल्याएर छाड्नेछौं ।’

अब मलाई यहाँ बोलाएर सहयोगको माग गरिनै हालियो भने मैलेचाहिँं के गर्नुपर्छ ? मैले निकै नै सोचविचार गरेंँ । र यिनीहरूका लागि केही न केही त गर्नैपर्यो भनी मैले सबतिर एक नजर डुलाएर भनेंँ, ‘ठिकै छ, म तयार छु ।’

‘विमल निभाजी, हाम्रो कुरामा पुरै सहमत हुनुभयो ।’ कहलिएको राजावादी प्रसन्नताले झन्डै उफ्रियो, ‘अब भने हामी राजालाई जसरी पनि ल्याएरै छाड्नेछौं ।’

‘निभाजीले हाम्रो राजा ल्याउने शुभकार्यलाई साथ दिने भएकोमा हामी उहाँको भव्य अभिनन्दन गर्नेछौं ।’ कपाल सेतै फुलेको राजावादीको मुखमण्डलको खुसी छचल्किएर तल पोखियो, ‘विमल निभाजी एक प्रबुद्ध एवं समझदार कवि हुनुहुन्छ ।’

‘तर यसमा मेरो एउटा शर्त छ ।’ मेरो स्वर केही उँचो भयो, ‘यसको पूर्ण पालना नभएसम्म म तपाईंहरूलाई साथ दिने छैन ।’

‘के सर्त छ ?’ उपस्थित राजावादीहरूका एकमुष्ट स्वर मेरो कानमा आएर ठोक्कियो । ‘तपाईंहरूले मलाई राजा बनाउनुपर्छ ।’ म थोरै मुस्कुराएँ, ‘मेरो यो शर्त मानिएमा म तपाईंहरूका साथमा छु ।’
मेरो भनाइ सुनेर पहिले त सबै राजावादी झस्किए, त्यसपछि एकसाथ अनुहार बिगारेर मलाई हेर्नथाले र अन्त्यमा क्रुद्ध आवाजमा भने, ‘हामीलाई थाहा थियो, तपाई यस्तै गडबड कुरा गर्नुहुन्छ ।’

अब मलाई राजावादीहरूले यसरी ससम्मान आरामदायी सोफामा बसाइराख्ने कुरै थिएन । त्यसैले तिनीहरूले ‘तपाई जानोस्’ भन्ने वचन ओकल्नु भन्दा अगावै म फुर्तिसाथ आसनबाट उठी राजावादीहरू भेला भएका गोप्य कोठाबाट बाहिरिएँ ।

वास्तवमा राजावादीहरूका गोप्य भेलामा मेरो अरू केही समय उपस्थिति भएको भए म थप आफ्नो निजी राजासम्बन्धी योजना तिनीहरू समक्ष सहज प्रकारले राख्ने थिएँ । तर यस्तो हुन पाएन । त्यसकारण सो योजना तल प्रस्तुत छ ।

१. मेरो भन्नु के हो भने सबै नेपालीलाई पालैपालो राजा बनाउनु पर्नेछ । याने तीन करोड नेपालीले राजा नबनेसम्म यो योजना चालु रहनेछ । यदि सबै राजा हुन पाउनेछन् भने के खराबी छ, यसमा ?

२. अर्काे कुरा के भने सबैले एक—एक दिनमात्र राजा बन्नु पर्नेछ । सबैले राजा बन्नुपरेकोले एक दिनभन्दा बढ्ता राजा बन्नु सम्भव पनि छैन । मतलव, एक दिन र एक रात संक्षेपमा चौबीस घन्टा ।

३. एकदिने राजाको काम एवं कर्तव्य असाध्यै सिम्पल हुनेछ । अर्काे शब्दमा भन्ने हो टन्न खानु, बस्नु र सुत्नु । अँ, यसमा अतिरिक्त रूपले पिउनुलाई पनि सामेल गर्न सकिनेछ । अर्थात् एक दिनको राजाले मीठो–मीठो खाएर तथा मोजपूर्वक पिएर आराम गर्न पाउनेछ । राजा भइसकेपछि अरू के गर्ने त ? तमाम राजाहरूका पूर्णतया विलासी इतिहास साक्षी छ । सबै राजाले यही एउटा कार्य त सफलतापूर्वक सम्पन्न गरेका छन् । होइन र ?

४. सबैले पालैपालो राजा बन्नुपरेकोले सबभन्दा पहिले कसलाई राजा बनाउने भन्ने समस्या आउन सक्छ । यो प्वाइन्टमा मैले धेरै चिन्ता गरेंँ । अन्तत एउटा चालु फर्मुला मार्का समाधानमा आएर अड्किएँ । याने अक्षर क्रमसँग ‘अ’ नाम हुनेले पहिले राजा बन्न पाउनेछ । जस्तै अजय, अजित, अनन्त, अनुप, अभय, अमर, अमृत, अशेष, अशोक इत्यादि । त्यसपछि आ, इ, ई…को नाम आउँदै गर्नेछ ।

५. मैले राजावादीहरूका गोप्य भेलामा आफू राजा हुने कुरा त गरँें, तर यो विलकुलै सम्भव छैन । किनभने मेरो नाम ‘विमल’ निकै पछि आउनेछ । ‘अ’बाट सुरु भएर…य, र, ल पश्चात ‘व’ आउँछ । ‘व’ मा पनि ‘वि’ हुन अलिक अरू टाइम लाग्नेछ । यसले मलाई केही बेर खिन्न पनि पार्यो । तर जेसुकै भए पनि मेरो योजनाले मलाई एकदिन राजा बनाउने लगभग पक्कापक्की छ । एकदिन म राजा बन्नेछु । एकदिने राजा । अर्थात् चौबीसघन्टे राजा ।

६. मेरो राजासम्बन्धी योजनाले सबभन्दा बेसी घाटा पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुनेछ । उनको नामको ‘ज्ञ’ अक्षर एकदमै लास्टमा आउने भएकोले उनी पुछारको राजा हुनेछन् । यसरी ज्ञानेन्द्र एकबाजी फेरि एकदिने राजा बने उनले एउटा रेकर्ड भने कायम गर्नेछन् । तीन पल्टको राजाको । एकपटक असाध्यै केटाकेटीमा, दोस्रोपटक स्वत वयस्कमा र तेस्रोपटक सायद वृद्धत्व प्राप्त गरेर (कदाचित मेरो राजासम्बन्धी निजी योजना त्यसबखतसम्म रहिरहेमा) । इति ।
कान्तिपुर भाद्र १९, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x