मुनामदन !
देश उही छ
परिवेश उस्तै छ
महत्व धनकै छ
तर प्रेम फेरिइसक्यो
प्रेमीहरू फेरिइसके !
आजकाल मदनहरू
खाडीमा रमाउँछन्
अनि मुनाहरूलाई पराईले
गाडीमा घुमाउँछन् !
त्यो दिलदार भोटे
भेटिँदैन परदेशमा
आत्मीयताको प्यास
मेटिँदैन परदेशमा
बरू आफ्नाबाटै
आफ्नाहरू लुटिन्छन्
कुटिन्छन्, पिटिन्छन् !
दिलहरू
पत्थरबाट बन्छन्
र त सानो र गहु्रुङ्गो दिल
ठूला हुँदैनन् आजकाल
बरू जातहरूका आवाज
ठूला सुनिन्छन्
र त मानिसहरू
जात, धर्म र सम्प्रदायले
ठूला पल्टँदैछन् !
माफ गर्नुस् महाकवि
तपाईँको मदन अर्कै भैसक्यो
तपाईँकी मुना फेरिइसकी
तर आज पनि
पहिलेझैँ वियोग छ
मुनामदनको
आँसुको सागरमा हैन
अदालतमा
मृत्युको पीडामा हैन
सम्बन्ध विच्छेदको मुद्दामा !