सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भारतीय हस्तक्षेप विरुद्ध साहित्यिक आक्रोश

Nepal Telecom ad

भैरहवा, ९ कात्तिक । भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलन विरुद्ध सडकमा उत्रिन यहाँका साहित्यकारले आम जनसमुदायलाई आह्वान गरेका छन् ।

विगत दुई महिना भन्दा धेरै समयदेखि भैरहवा लगायत तराई मधेसको जनजीवन प्रभावित हुनेगरी मधेसवादी दलले गरेको बन्द हड्ताल र भारतीय पक्षको नाकाबन्दीको विरोध गर्दै साहित्यकार, प्राज्ञ तथा बुद्धिजीवीहरूले अब चुप लागेर बस्न नहुने भन्दै सशक्त प्रतिकार गर्न पनि अपील गरेका छन् ।

सिद्धार्थ साहित्य परिषदको १७९ औं मासिक संगममा सहभागी भएका साहित्यकारहरूले भारत सधैं नेपालको लागि दुष्ट बनिरहेको बताए । नेपाली भाषा साहित्य र इंतिहासका विद्वान्हरूले साहित्यिक रचनामार्फत नेपाल भारत सीमा क्षेत्र भैरहवामा आयोजित साहित्यिक सभालाई सम्बोधन गर्दै एकै स्वरमा भने “नेपालको समृद्धि र शान्ति चाहने हो भने भारतीय नाङ्गो हस्तक्षेप र नाकाबन्दीको डटेर प्रतिवाद गर्नुपर्छ ।”

वरिष्ठ साहित्यकार परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता तथा परिषदका सचिव नरेश केसीको सञ्चालन एवं रामबहादुर श्रेष्ठको स्वागतमा सम्पन्न उक्त साहित्यिक संगममा प्रमुख अतिथि वरिष्ठ गजलकार रमेश समर्थनले नीजि स्वार्थ र कुर्सी लिप्सा भएका केही नेताको कारण मुलुकको राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि दुष्ट छिमेकी भारतले गिद्धेदृष्टि लगाउन खोजेको बताए ।

प्राज्ञ बूँद रानाले अझै पनि नेताहरूको चेत नखुले मुलुक झन झन खाडलमा पुग्ने हुँदा जनताहरू एक भएर नेताको चेत खुलाउँदै मुलुकलाई स्वाधिन र स्वनिर्भर बनाउन लाग्नुपर्नेमा जोड दिए । प्राज्ञ रानाले भारतीय पक्षले अन्तर्र्रािष्ट्रय पारबहन सन्धि विपरित गरेको नाकाबन्दीको घोर भत्र्सना गर्दै नेपाली जनता राष्ट्र र राष्ट्रियताको लागि एक भएर भारतीय दलाल र नोकरशाही तन्त्रको विरुद्ध एक ढिक्का हुनुपर्ने बताए ।

वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले देशको विकास र सामािजक सह अस्तित्वका लागि नेपालीहरू एक हुनुपर्नेमा जोड दिंदै लोभी पापीको भाँडो दक्षिणी छिमेकीको खुलेर भण्डाफोर गर्नुपर्ने जनाए । वरिष्ठ कथाकार एवं इतिहासविद् विजय सागरले नेपालको एैतिहासिक कालखण्डदेखि नै यो वा त्यो नाममा भारतले हस्तक्षेप गरि नेपाललाई अस्थीर बनाइरहेको दृष्टान्त प्रस्तुत गर्दै सीमा क्षेत्रका नेपालीहरू मात्रै होइन हिमाल पहाड तराई चारैतिरका जनता एक भएर भारतीय गलत प्रवृतिको डटेर सामना गर्नुपर्नेमा जोड दिए । वरिष्ठ साहित्यकार बनमाली निराकारले नेपालीहरू बरु पैदल हिँड्न तयार छन्, ग्यासको साटो दाउरामा पकाएर खान तयार छन् तर कसैको अगाडि स्वाभिमान गिराउन तयार छैनन् भन्दै वीर नेपालीहरूलाई जिस्काएर भारतले ठूलो गल्ती गरिरहेको जनाए ।

कवि तथा शब्द सिन्धुका सम्पादक यादव भट्टराईले भुकम्पमा परी घायल भएको मुलुकलाई छिमेकीको नाताले सहयोग गर्नुको साटो झन दुख दिएको भन्दै मुक्तक मार्फत आक्रोश व्यक्त गरे । कवि रुद्र ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीका छौँडाहरूले सीमापारिबाट ढुङ्गा हान्दैमा सगरमाथा नढल्ने भन्दै भारतीय दृष्ट प्रवृतिको विरोध गरे ।

कार्यक्रममा साहित्यकारहरू डा. शंकर नेपाल, मणिराम भट्टराई, घनश्याम गौतम, माधव प्रसाद पन्थि, सरिना मरासीनि, कमल रायमाझी, राधिका थापा, स्मृति कुवंर, जि.आर गहतराज लगायतले भारतीय हस्तक्षेपको विरुद्धमा एकबद्ध भई मुलुक अगाडि बढ्नुपर्ने भन्दै साहित्यिक रचना प्रस्तुत गरेका थिए । यसैबीच भारतीय हस्तक्षेपको विरुद्ध आगामी कार्तिक १४ गते शनिवार रुपन्देहीको मणिग्रामका जनआस्था सास्कृतिक समुह, रुपन्देहीको आयोजनामा वृहत् सडक साहित्यिक गोष्ठी आयोजना गरिन लागिएको सुन्दरबासीले जनाएका छन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad