सुलसुलेदेवकोटा विशेष सिर्जना वाचन
काठमाडौं, कार्तिक २१ । अनुपम सिर्जना प्रतिष्ठान नेपालले आफ्नो चालीसौँ सिर्जना वाचन शृङ्खला २१ गते शनिबार कलङ्कीस्थित एड मार्क कलेजमा सम्पन्न गरेको छ । प्रा. गोपीकृष्ण शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो संस्थाका उपाध्यक्ष रमेशप्रसाद गौतमले ।
प्रमुख अतिथि प्रा. शर्माले दीप प्रज्वलन तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा पुष्पार्पण गरी सुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार सह प्रा.डा. जीवन अधिकारीले स्वागत मन्तव्य राख्नुहुँदै आफ्नो झ्याउरे लयको कविता वाचन गर्नुभएको थियो । त्यसपछि सुरु भएको रचना वाचनमा पूर्णप्रसाद पन्त, ब्रम्हप्रिय प्रेमस्वरुप, विष्णा विरही, देवेन्द्रप्रसाद खनियाँ, जनार्दन अधिकारी, शम्पा उपाध्याय, विनुबाबा भण्डारी, दुर्गा रिमाल अधिकारी, मञ्जुल श्रेष्ठ, ठाकुरप्रसाद प्रधान, रुद्र अधिकारी, उदास कार्की, कालीकोटे अनिश, अमृता अर्याल, प्रभा अधिकारी, केशवराज अर्याल, रिता खतिवडा, लक्ष्मीप्रसाद मिश्र, सुनील स्पन्दन, रामशरण श्रष्ठ, सुमन घिमिरे, बाबुराम सागर, जनकराज अधिकारी, हरि खनाल, जगदीश्वर पोखरेल, बैरागी जेठा, श्रीधर पौडेल, ठाकुरप्रसाद भण्डारी, गोपीकृष्ण शर्मा, डा. बमबहादुर थापा जिताली, लक्ष्मी श्रेष्ठ, जीतु खड्कालगायतका स्रष्टाले आआफ्ना सिर्जना पस्किनुभएको थियो ।
स्रष्टाहरूले कविता, गीत, गजल, मुक्तक, हास्य निबन्ध, हाइकु लगायतका साहित्यिक विधागत संरचनामा कन्द्रित रहेर आआफ्ना भावनाहरू पोख्नुभएको थियो । प्रमुख अतिथिको मन्तव्यका क्रममा प्रा. शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको विलक्षण प्रतिभाको स्मरण गर्नुभयो । कार्यक्रमलाई एउटा फूलाबारीसँग तुलना गर्दै उहाँले थप्नुभयो ‘आजको कार्यक्रम एउटा फूलबारी हो, जहाँका फूलहरूले आ–आफ्नै किसिमका सुगन्ध दिएका थिए ।’ त्यस्तै विशिष्ट अतिथि स्रष्टा ठाकुर शर्मा भण्डारीले कविताको तत्व विधानमाथि बोल्नुभएको थियो ।
कार्यक्रमको बिसौनीमा संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेलले धन्यवाद ज्ञापनको मन्तव्य राख्नुभएको थियो भने सचिव जितु खड्काले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































