प्रेम ओली ढकलपुरेओइ भ्यालेन्टाइन डे
ओइ भ्यालेन्टाइन
यसपाली तिमी आउँदा
गुलाबको फुल होइन
सिलिन्डर फुल ल्याउनू
कुनै कार्ड होइन
नभए आधी सिलिन्डर ग्यास ल्याई आउनू
म मिठो मिठो पकाउँला
सँगै बसी खाउँला
मायाप्रिती नि लाउँला
म कुखराको सपेटाको रोष्ट बनाउँला
तिमी बियर र वाइन बोकी ल्याउँला
म ह्याप्पी भालेन्टाइन डे भनुँला
तिमी झ्याप्प भालेन्टाइन डे भनौँला
यसपालिको प्रेमदिवस झन मज्जाले मनाऔँला
हैन भने माया प्रिती लाइँदैन
तिमीले बोलाको लुरुलुरु हिँडेर आइँदैन
बसमा चड्यो भने खाँदी खाँदी राख्छ
त्यो भिडमा तन्नेरी त के
बुढो पनि पछि पछि लाग्छ
यसपाली आउँदा
क्रिम पाउडर होइन
दुई चार लिटर पेट्रोल ल्याउनु
म तिमी स्कुटीमा घुमाउँला
मठ मन्दिर, पार्कमा रमाऔँला
दाउराले पकाउँदा पकाउँदा
धुवाले आँखा नै दुखी सक्यो
आगो फुक्दा फुक्दा नि
ओठ मुख नै सुकिसक्यो
कहिले मोसो नाकमा लाग्या छ
कहिले आँखीभौमा लाग्या छ
मट्टीतेलको गन्धले झन
अलीअली लाग्या भोक पनि भाग्या छ
ओइ भ्यालेन्टाइन
यसपाली तिमी आउँदा
गुलाबको फुल होइन
सिलिन्डर फुल ल्याउनू
लिपिस्टिक होइन पेट्रोल बोकी आउनू ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































