सुलसुलेमिश्र प्रतिष्ठानमा पौडेल
काठमाडौँ, २९ माघ । युद्धप्रसाद मिश्र प्रतिष्ठानका अध्यक्षमा साहित्यकार अनिल पौडेल चयन हुनुभएको छ । प्रतिष्ठानको आज बसेको नवौँ साधारणसभाले उपाध्यक्षमा भगवानचन्द्र ज्ञवाली र डा फणीन्द्रराज निरौला, महासचिवमा डा बालचन्द्र मिश्र र प्रकाशन सचिवमा डा लेखप्रसाद निरौला चयन हुनुभएको छ । यस्तै सदस्यमा प्रा केशव सुवेदी, डा यज्ञेश्वर निरौला, डा नारायण गर्ताैला, भक्तबहादुर पण्डित र लक्ष्मी मिश्र रहनुभएको छ । तेह्र सदस्यीय कार्यसमितिमध्ये बाँकी रहेका पदमा पछि नियुक्ति गरिने छ ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरी, साहित्यकार मोदनाथ प्रश्रित, गोपीरमण उपाध्याय, निवर्तमान अध्यक्ष वासुदेव अधिकारी लगायतले प्रगतिशील आन्दोलनका अगुवा मिश्रले वनारसमा पुष्पलालसँग साथमा रही प्रगतिशील साहित्य र वैचारिक क्षेत्रमा धेरैलाई दीक्षित गरेको बताउनुभयो ।
साहित्यकार मिश्रका ‘मुक्तसुदामा’, ‘बाढी’, ‘मुक्तिरामायण’, ‘वेनवध’लगायत कृति प्रकाशित छन् । मिश्रको जन्म विसं १९६६ पुुस २७ मा र निधन २०४७ फागुन ६ गते भएको थियो । उहाँको निधन हुनुभन्दा पहिले विसं २०४७मा समारोह समितिका नाममा स्थापित संस्थापछि गुठी हुँदै निधन भएपछि प्रतिष्ठानका रुपमा विकास भएको छ । हाल भक्तपुरको अनन्तेश्वर नगरपालिका वडा नं ८ सिरुटारमा मिश्रको स्मृतिमा भवन स्थापना भएको छ जहाँ मिश्रले प्रयोग गरेका कपडा, भाडाकँुडा उहाँका कृति र अन्य अनुसन्धानात्मक सामग्री राखिएका छन् ।
प्रतिष्ठानले साहित्यमा विशेष योगदान पु¥याउने वर्षको एक जनालाई रु १० हजार नगदसहित २०४९ सालदेखि हालसम्म पुरस्कार प्रदान गर्दै आएको छ जुन पुरस्कार मिश्रको स्मृतिदिवस फागुन ६ गते प्रदान गरिँदै आएको छ । प्रतिष्ठानमा हाल साधारण, आजीवन, मानार्थ आदि गरी ७०० सदस्य छन् ।
“प्रतिष्ठानले केही वर्ष पहिले ‘युद्ध’ नामक मुखपत्र प्रकाशन गर्दै आएको भए पनि केही वर्ष यता प्रकाशन रोकिएको छ, यसलाई फेरि प्रकाशनमा ल्याउँछौँ”– प्रतिष्ठानका महासचिव डा मिश्रले भन्नुभयो ।
Subscribe
Login
0 Comments
Oldest











































