सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रै राम्रो

Nepal Telecom ad

खाडी भनिने बालुवाको रासमाथि खडा भएका दुबई र कतारका केही सहरको यात्रा गरियो । जति घुमे पनि जति हेरे पनि आफूलाई त आफ्नै देशको थिति धेरै राम्रो लाग्यो । नियम–कानुनहरू साह्रै कडा हुँदा रहेछन् त्यहाँका, एकदमै निरंकुश । साथीहरूले सवारी नियमहरूका विषयमा सुनाउँदा आङै सिरिङ्ग हुने ।

चोकहरूमा रातो बत्ती बलेको बेला कदाचित गाडीले अलिकति सीमा नाघ्यो भने पाँच हजार रियाल जरिवाना लाग्छ रे ! हाम्रो पैसोले यसो गुना गरी हेर्दा थाहा भयो, डेढ लाख रुपियाँ । यस्तो पो हुँदो रहेछ । कत्रो ठूलो जरिवाना ! चालकमाथि कत्रो अन्याय ? यसो छेउकुना पारेर पुलिसका खल्तीमा एक–डेढ सय हालिदिएर उम्किन पनि नपाइने, त्यसो गर्न खोज्यो भने च्याप्पै पारेर जेलमै कोचिदिने । मान्छेलाई मात्रै होइन, गाडीलाई पनि जेल हाल्ने कस्तो बेथिति ! कस्तो अप्रजातान्त्रिक देश ! झुक्किएर वा एकछिनका लागि गलत ठाउँमा पार्किङ गरियो भने पाँच सय रियाल खुरुक्क नबुझाई धरै नपाइने । माफी मागे पनि नमान्ने, मन्त्री लगाउँदा पनि नलाग्ने, नेतालाई भनाउँदा पनि नहुने । त्यो भन्दा त हाम्रो धेरै राम्रो ।

हामीलाई घुमाउने मित्रले सुनाए, ट्याक्सीमा कुनै यात्रुले कुनै सामान वा पैसा बिर्सिएर हिँड्यो भने ड्राइभरलाई ठूलै आपत् पर्छ रे ! प्रहरी कार्यालयमा लाइन लागेर भेटिएको माल दर्ता गराएर, सामान हराउने यात्रु फेला परेर, उसले सकुशल सामान पाएको भर्पाई नगरुन्जेल ड्राइभरले छुट्टी नै नपाउने । ल हेर्नोस्, कस्तो दुस्ख ! भेट्टाएको माल दम्पच पार्ने त कुरै भएन, जिम्मा लाउनकै पो धौ धौ ।

उसो त गाडी चलाउने चालकहरू पनि लोसा हुँदा रहेछन्, त्यही भएर दुस्ख पाएका हुन् । झ्याप्पझुप्प नियम मिचेर भाग्नै नसक्ने । उछिनपाछिन गरेर बटुवाहरूलाई लतार्दै, अघि लागेका गाडीलाई हर्न लगाएर ध्वनिआतंक मच्चाउनै नसक्ने । एक साता बस्दा हामीलाई घुमाउन हिँडेका मित्रले एकपटक बिस्तारै हर्न बजाए । अगाडिको गाडीपछि सरेर हाम्रो गाडीमा छुन खोजेकाले हर्न बजाएका थिए ।

पछि त उनी उल्टै हामीलाई ठोक्न खोज्ने चालकलाई ‘सरी’ पो भन्छन् । मैले भनेँ, ‘त्यसलाई आँखा छैनन् साले भनेर गाली गर्नुको सट्टा किन सरी भनेको ?’ उनले भने, ‘मैले हर्न बजाएँ नि त !’ लाखौँ लाख गाडी छन् सडकमा तीव्र गतिले दौडिरहेका, रातो बत्तीमा अड्किएका, जाममा परेका तर हर्न बजेको पटक्कै सुनिँदैन । हामीकहाँ हेर्नोस् कति फुर्ती छ, कति हतार छ, कति जोश र जाँगर छ । हामी त अगाडिको गाडी खाडलमा खसेर अड्किएको होस् कि टायर पड्किएको होस् अथवा ब्रेक फेल भएर रोकिएको होस्, पछाडिबाट हर्न बजाएर त्यसको सातोपुत्लो उडाइदिन्छौँ ।

सडकमा हिँड्ने पैदलेहरूका कानका जाली नफुटाई हामीलाई ड्राइभर हुनुको गौरवै प्राप्त हुँदैन । सडक पार गर्न खोज्ने बूढाबूढी हुन् कि बच्चा, आँखा नदेख्ने हुन् कि खुट्टा नटेक्ने, त्यस्तालाई समेत ‘मर्लास् है !’ भन्दै आफ्नो गाडी हुँइक्याउनुमा हाम्रो कत्रो सान हुन्छ । त्यहाँ त आफ्नै गाडी चलाउनेहरू पनि कस्ता लुरे, हुतिहारा । ‘सरी सरी’ भन्दै पो हिँड्दा रहेछन् । लोकतन्त्र भनेको लोकतन्त्रै हो । थिति त हाम्रै कता हो कता राम्रो !

नेपाल, माघ २८, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे