मिलन तिमल्सिनाकाम चलाऊ चप्पल
शहरबाट बाले नयाँ चप्पल ल्याएको दिन भुईंमा खुट्टा हुन्नथ्यो । सुरुवाल सार्दै चप्पल देखाउन वल्लोपल्लो घरमा कुदिहाल्ने । कसैको आँखा खुट्टामा परेको जस्तो लागेन भने प्याट्प्याट् पारेर खुट्टा बजार्ने । अर्कोले खुट्टामा लोभी नजरले हेरेपछि मात्र आफ्नो चित्त बुझ्ने । भात खान भित्र पस्दा समेत चप्पल हातमै हुन्थ्यो । भात खाउञ्जेलसम्म पनि ध्यान नयाँ चप्पलमै जाने । चुंगी खेल्ने क्रममा खुट्टा उचाल्दा त शान नै अर्कै हुने । चप्पल नयाँ नै देखिने १०/१५ दिनसम्मको अवधिसम्म आफूजस्तो ठूलो संसारमा अरु कोही छ जस्तै नलाग्ने ।
नयाँ चप्पलमा सबैले लोभ गर्ने । साथीसँगी र भाइहरूले पनि लगाउन खोज्ने । आँखा झिमिक्क पार्न नहुने, भाइले कुन बेला कुनबेला खुट्टामा चप्पल घुसार्न भ्याईहाल्ने । स्कूलमा पनि कहिलेकाहीं फुकालेकै ठाउँमा एकछिन छोड्यो भने अरु साथीले चप्पल लगाईहाल्थे । धेरैको खुट्टा पस्न थालेपछि चप्पल थोत्रँदै जान्थ्यो । कहिलेकाहीं बाटोमा हिंड्दा ठेस लाग्यो, चिप्लेर लड्यो भने चप्पल च्वाट्टै चुंड्थ्यो । नयाँ चप्पल महिना दिन पनि टिक्दैनथियो । तर तुना चुँडेपनि तलको भाग बाक्लो हुने भएकाले खासै फरक नपर्ने ।
छिंडेको तुना १० ठाउँमा गाँसेर केही महिनासम्म चलाउन सकिन्थ्यो । आगोको कोईला र बत्तीमा एकछिन सेकाएर ल्याप्प टाँसेपछि छिनेको तुना सितिमिति चुँडिन सक्दैनथ्यो । आगो नहुँदा काँटी, काँडा, छेस्को र डोरीले काम गथ्र्यो । बुढी औंलातिर चुँड्दा डोरी र लहराले र कुर्कुच्चापट्टिको दुई भागमा काँटी, पिन र काँडाले अल्झाउन सकिन्थ्यो । नयाँ चप्पल नपाउँदासम्म यसरी काम चलाऊ चप्पलले खुट्टालाई भरथेग गथ्र्यो । नयाँ चप्पल लगाएको जस्तो शान नभए पनि कामचलाऊ सरकारले धेरथोर मान राख्थ्यो नै ।
तर काम चलाऊ चप्पल कहाँ धेरैदिनसम्म टिक्थ्यो र ? तुना पो गाँस्न मिल्ने । तुना अड्डयाउने त्यो बाक्लो पातोलाई न गाँस्न मिल्ने न कस्न । कुर्कुच्चाले टेकेको ठाउँमा पहिले प्वाल पथ्र्यो, त्यसपछि खिईँदै खिईँदै त्यो पातो बिलाउन थाल्यो । दुई महिना, तीन महिना, कहिलेकाहीं रेकर्ड ब्रेक गरेर ६ महिनासम्म धान्थ्यो कामचलाऊ चप्पलले । ऊबेला चप्पल पड्काउँदै हिंड्ने बुटेडहरूले नाथे चप्पलको यो कीर्तिमान किन देखिसक्थे र ? लौ हेर त चप्पललाई नै माथ गर्ने गरी कामचलाऊ सरकारको आयु लम्बिएको ? नयाँ चप्पल नआउँदासम्म खिइएरै भएपनि कामचलाऊ चप्पलले काम गरेजस्तै कामचलाऊ सरकार चम्केकोको चम्क्यै । नयाँ चप्पल खोज्न हिंड्नेहरू रन्थनेर झोक्राएको झोक्राई । काम चलाउ चप्पलको समेत कीर्तिमानी भङ्ग गर्न सक्ने हुती भएका हाम्रा महान् गौरवशाली र ऐतिहासिक बुट साबहरू सबैको जय होस् ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































