साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बल्ल पो बुझेँ

Nepal Telecom ad

बुढी तीर्थयात्रामा गइन् । यसपालीको उनको यात्रा अलि लामै भयो । घरमा म बुढो एक्लै । अब एक्लै भए पनि जीउन त खानु अनि पिउनु पनि परिहाल्यो । खानलाई पकाउनु प¥यो । पकाउनलाई इन्धनको आवश्यकता । इन्धन बेपत्ता । उताबाट आएको आएकै छ भन्ने खबर आउँछ यता बजारमा सून्य । कता जाँदो हो तेत्तिका इन्धन ? देशको आपूर्ति व्यवस्था त खत्तमै रहेछ नि । नाकाबन्दीको समयमा बुढीले जसोतसो माटोको एउटा चुल्हो बनाएकी थिइन् । दाउराको जोहो गरेर भए नि पकाएर खाइँदैथ्यो । भाँडा जतिनै कालो भए पनि जाँगर लगाएर बुढीले मल्थिन् । टिलिक्क टल्किन्थ्यो । दाउरामा पकाएको मिठो खानामा मज्जाले पल्किएको थियो ।

बुढी यात्रामा हिँडेपछि पकाउने पनि आफै खाने पनि आफै अनि कालो भाँडा टल्काउने पनि आफै । एकदिन पकाइयो । एकदिन भाँडा टल्काइयो । दोस्रो दिनदेखि यो खानपर्ने व्यवस्था हटे पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो । पकाउँदा आगो नबल्दा फुउउउउउउ फुउउउउउ गर्दा गर्दा धोक्रो सुक्ने । बल्लबल्ल पकाएर एक्लै पस्कियो खायो । बुढी हुँदा खाको जस्तो मिठो नै नहुने । फेरि भाँडा हे¥यो कालो अफ्रिकन जस्तो । मस्कौटोले मल्दामल्दा पनि टल्किने हैन । हात हे¥यो आफैलाई लाज लाग्ने । अफिसमा साथी भाइसँग हात मिलाउन पनि लाजमर्नु । के हो हात त भाउजूले भाँडा मलाउन लगाए जस्तो छ नि भन्छन् । हो नि यार भन्यो हललल् हाँस्यो टा¥यो ।

एकदिन बुढीले गयाबाट फोन गरिन् “के छ बुढो, सन्चै छ ? खाना त पकाएर खाँदै होलाऊ नि ? सबै ठिकै त होला नि हैन ? आई लभ यु बुढो ।” मलाई आई लभ यु भनेको सुनेर उसका वरिपरि भएका साथीहरू हलल्ल हाँसेको फोनमा स्पष्ट सुनियो । मलाई झन बढी लाज लाग्यो । मैले बुढीलाई जतिनै मायाँ गरे पनि अहिलेसम्म त्यसरी आई लभ यु बुढी भन्या थिएन । कता कता कुरीकुरी लाग्यो । हत्पत् ल ल भो भो फोन राख भनेँ । ‘ल है राम्ररी पकाई बनाई खानू, आफ्नो ख्याल राख्नू’ भनेर फोन राखिन् । त्यसै बेला देखी मेरो मनमा कुरा खेल्न थाल्यो बुढीले किन मस्का लगाइन् भनेर ।

एक दिन दाल पकाउन भनेर प्रेसर कुकरमा दाल ठिक पारेर पकाएको निस्किँदा कोइला निस्कियो । डडेको प्रेसर कुकर माँझ्दा मेरो पसिना निस्कियो । हे भगवान के दशा यस्तो ? ग्याँस पाए पनि त अलि सजिलो हुनेथ्यो कि । डिलरलाई सम्पर्क गर्दा खालि सिलिण्डर सहित लाईन लाग्नु पर्छ अनि कुपन पाइन्छ, कुपन पाएको झण्डै महिना दिनमा ग्याँस पाइन्छ भन्छ । आफ्नो लाईनमा बस्ने कोही भए पो बस्नु । बाईकमा पेट्रोल सकिएर एकदिन महालक्ष्मी पेट्रोलपम्प सामाखुसीमा बिहान १० बजेदेखि लाईनमा बसेको अपरान्ह ४ः४५ मा बल्ल तेल हाल्न पाइयो । खानसम्मको गोता खाइयो । दिनभर सु सु गर्न नपाएर झण्डै बिजोक नै भएको बल्लबल्ल पेट्रोलपम्पभित्र टोइलेट भएको थाहा पाएर सु सु गर्नसम्म पाइयो ।

बाबा कति गाह्रो प¥यो दैनिकी चलाउन । कति साह्रो प¥यो घर चलाउन र अफिस भ्याउन । धन्न बुढी तिमीले धान्या रहिछौ घर । त्यसमा अलिकति त थियो मेरो भर । अहिले त यता नि आफै उता नि आफै । बल्ल पो बुझेँ त मैले बुढीले गयाबाट किन आई लभ यु बुढा भनिन् भनेर त्यसका बाजे । कम्तिमा हप्तामा एकपल्ट त बुढीलाई आई लभ यु बुढी भन्नैपर्ने रहेछ । यतैबाट भन्छु आई लभ यु बुढी ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x