साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्थापन, गैरसंस्थापन र महासंस्थापन

Nepal Telecom ad

नेपाली कांग्रेस पार्टीको सभापतिमा यसका वरिष्ठ नेता शेरबहादुर देउवा शानदार ढंगले विजयी भएका छन् । र अर्का सभापतिका चर्चित प्रत्यासी रामचन्द्र पौडेलको अप्रत्याशित पराजय भएको छ । जहाँसम्म तेस्रो सभापतीय उम्मेदवार कृष्ण सिटौलाको कुरो छ, उनको जय अथवा पराजयको कुनै माने छैन ।

किनभने प्रथम चरणीय अर्थात पहिलो प्रयासमै रिटायर भएका उम्मेदवार सिटौला कहिल्यै पनि सभापतिको प्रतिस्पर्धामै थिएनन् भनी कांग्रेसीहरू नै खुलेर भन्ने गर्छन् ।

‘के उनी भोटकटुवा भएर चुनावमा खडा थिए ?’ मैले एक कांग्रेसीजनसँग सुस्तरी सोधेको थिएँ ।

यसको जवाफमा उसले असाध्यै अप्ठ्यारो अनुहार पारेर मिलाई र्हेयो । त्यसकारण मलाई पनि कुरा अघि बढाउन अप्ठ्यारो महसुस भयो । तथापि फ्याट्टै सोधिनै हालेँ, ‘सिटौलाले कसको भोट काटे ?’ उसलाई सोही मुद्रामा स्थिर पाएर फेरि भनेँ, ‘देउवाको या पौडेलको ?’

अब भने उसको चौडा मुखमण्डलमा अप्ठ्यारोको साटो हलुका क्रोध देखार्पयो । त्यसैले मैले आफ्नो मुख बन्द गर्नु नै मनासिब ठानेँ । के ठेगान, कांग्रेसी क्रोधको पारो चढेर विस्फोट पनि हुनसक्थ्यो † यसै पनि नेपाली कांग्रेस पार्टीको नितान्त आन्तरिक मामलामा मजस्तो एक बाहिरी व्यक्तिले धेरै चासो राख्नु उचित होइन ।

जे होस्, नेपाली कांग्रेस पार्टीको तेह्रौं महाधिवेशनको सभापतीय निर्वाचनका दुई उम्मेदवार शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये (तेस्रो भनिएका कृष्ण सिटौला अगणनीय भएकाले) पौडेलको हार भएर देउवाले आरामले जितेका छन् । यसमा अस्वाभाविक केही छैन । एउटाले नहारेसम्म अर्काेले कसरी जित्ने ? भन्नुको तात्पर्य के भने पौडेलले हारेर देउवाले जितेका हुन् ।

परन्तु यसलाई याने कांग्रेसी सत्य–तथ्यलाई अझ गहिराइमा गएर बुझ्नेहरू के भन्छन् भने नेपाली कांग्रेस पार्टीको संस्थापन पक्षका रामचन्द्र पौडेललाई गैरसंस्थापनका शेरबहादुर देउवाले सभापतिको पदमा हराएका छन् । यो सही नै हो । नेपाली कांग्रेस पार्टीमा संस्थापन र गैरसंस्थापनको किचलो नयाँ होइन ।

यसपालि सभापतिमा मजैले जितेका शेरबहादुर देउवाले यसभन्दा पहिले गैरसंस्थापनको उम्मेदवार भएर दुई–दुईपटक हार बेहोरिसकेका छन् । एक पटक गिरिजाप्रसाद कोइरालासँग भने अर्काेपटक सुशील कोइरालासँग दुवै स्वर्गीय कोइरालाहरू संस्थापन पक्षका बलिया नेता थिए ।

‘बल्ल कांग्रेसमा गैरसंस्थापनको विजय भएको छ ।’ एक देउवावादी कार्यकर्ता खुसियालीको उधुम मुडमा फेला पर्यो ।

‘यो गलत हो, बन्धु ।’ मैले अनावश्यक रूपमा प्रतिवाद गरें । (रद्दी बानी) ।

‘कसरी गलत हो ?’ उसले झन्डै मलाई झम्टन खोजेको थियो ।

पहिले त मैले आफूलाई जोगाउन प्रयास गरेँ । अर्थात् दुई पाइला पछि सरेँ । त्यसपछि क्रुद्ध देउवावादी कांग्रेसीलाई भनेंँ, ‘शान्त हुनोस्, बन्धु ।’

‘तपाईंलाई हाम्रो कांग्रेसको विषयमा के थाहा छ ?’ ऊ अघिभन्दा केही मत्थर भएको थियो, ‘हामीले संस्थापनलाई नराम्ररी हराएका छौं ।’

‘हेर्नाेस् बन्धु, तपाईंको शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भएर स्वत संस्थापन पक्षमा बदलिइसकेका छन् ।’ मैले मुस्कुराएर भनें, ‘अब तपाईं नै भन्नोस्, गैरसंस्थापन विजयी भएर संस्थापन पक्ष कसरी हार्यो त ?’

मेरो बलियोजस्तो देखिएको कमजोर अथवा साँच्चिकै बलियो तर्कले देउवावादी कांग्रेसी केही अलमलिएको थियो । तर केही समयपछि उसको फोक्से अनुहारको दुवैपट्टिका गालामा चमक देखार्पयो । सायद यो संस्थापन पक्ष अर्थात् सभापति देउवाको पक्षमा हुनुको खुसी थियो ।

नेपाली कांग्रेस पार्टीको सभापतिमा शेरबहादुर देउवाको विजय र रामचन्द्र पौडेलको पराजयले साविक बमोजिमको संस्थापन तथा गैरसंस्थापनको कांग्रेसी लफडा अन्तत सकिएको लाग्न सक्छ । परन्तु वास्तविकता के हो भने यो झन् अल्झिएको छ । किनभने संस्थापन पक्षका शशांक कोइरालाले महामन्त्रीमा सहजै जित पाएका छन् ।

यस्तै विजयी कोषाध्यक्ष सीतादेवी यादव पनि संस्थापनकै कोटाबाट उठेकी थिइन् । यस्तोमा संस्थापनले हारेको छ भनी कसरी भन्न सकिन्छ ? हुन त शेरबहादुर देउवाको सभापतिमा भएको जितले संस्थापनले जितेको छ भन्न पनि उतिसारो मिल्दैन ।

‘नेपाली कांग्रेसमा संस्थापन र गैरसंस्थापनको साथसाथै महासंस्थापन पक्षको पनि त टड्कारो उपस्थिति रहेको छ ।’ मेरो मित्र हरेरामले कुराकानीको सिलसिलामा यसो भनेर मेरो सोचमा अरू अलमल थपिदियो ।

‘कसरी हरेराम ?’ मैले अलमलमै सोधेको थिएँ ।

‘बीपीपुत्र शशांक कोइरालालाई के तिमी संस्थापन पक्षको भनी बुझ्छौ यार ?’ हरेराम मेरो आँखामा हेरेर मुस्कुरायो, ‘उनी त महासंस्थापन पक्षका हुन् ।’

‘यसैको परिणामस्वरूप फगत संस्थापनका रामचन्द्र पौडेल हारेर महासंस्थापनका शशांक कोइराला सुविस्तापूर्वक विजयी भएका छन् ।’ मलाई अवाक् मुद्रामा पाएर मेरो मित्र हरेरामले लगत्तै थप्यो, ‘कांग्रेसी महासंस्थापनको कहिल्यै हार हुनै सक्दैन यार ।’

अन्त्यमा
नेपाली कांग्रेस पार्टीको तेह्रौं महाधिवेशनको निर्वाचनमा महामन्त्रीका उम्मेदवारहरू अर्जुननरसिंह केसी र गगन थापाको एकमुष्ट हार र शशांक कोइरालाको भव्य जितले के सावित गरेको छ भने कुनै पनि गैरसंस्थापनीय ज्वाइँ–ससुराले महासंस्थापनको बीपीपुत्र शशांक कोइरालासमक्ष चुनौती प्रस्तुत गर्ने हैसियत राख्दैन ।

नेपाली कांग्रेसको परिवारवादमा पितापुत्रको बर्चस्व अखण्डित रहेको छ । यही महासंस्थापन हो । अर्थात् विजयी बीपीपुत्र शशांक कोइराला ।

कान्तिपुर, फाल्गुन २९, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x