लक्ष्मण गाम्नागेहलेदो र चिराइतोको उखान दोहोरी
हालै गोरखा जिल्लामा भएको एक कार्यक्रममा कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को चिराइतो समूह र पूर्वकमरेड बाबुराम भट्टराईको हलेदो समूहबीच चलेको उखान दोहोरी जस्ताको तस्तै :
हलेदो : आकाशलाई थुके आफ्नै मुखमा छिटा पर्छ कमरेड प्रचण्ड । म आकाश हुँ, मतिर धेरै नथुक ।
चिराइतो : हो हुन त, हलेदो भनेर चिनिसकेपछि नकोट्याउँ भन्छु, कोट्याउँ कोट्याउँ लाग्छ । बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको पनि भत्काउँछ भन्थे, हो रहेछ ।
हलेदो : आफ्नो थैलीको मुख राम्ररी बाँध कमरेड, मलाई दोष नदेऊ । रिस गरेर के गर्छौ, रिस रह्यो आफ्नो साथ, भाउजू रहिन् दाजुका साथ । दुनियाँको साथ र समर्थन मेरैतिर बढी छ ।
चिराइतो : आमाको दूध चुसेर पुगेन, पराइको घुँडो चुस्न थाल्यौ, पायौ होला नि नक्कली माया । ख्याल गर, अरूको लाख आमाको काख ।
हलेदो : बुझ न सुझ हगनगौँडी पुज, मैले कसको घुँडो चुसेँ ?
चिराइतो : पीएचडी गरेको मान्छे, आँ गर्दा अलङ्कार बुझ्छु भन्थ्यौ, लाटो देशको गाँडो तन्नेरी न पर्यौ । नेपाल आमाको दूध चुस्नुसम्म चुसेर अब इन्डियाको घुँडो चुस्न गयौ ?
हलेदो : आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रो । काम छउन्जेल भाँडो सकिएपछि ठाँडो गरेर मेरो खेदो खन्या होइन ऊ बेला ?
चिराइतो : जुन थालमा खायो, त्यही थालमा फोहोर गर्न थालेपछि काँक्रा चोरलाई मुड्के सास्ती नदिई भयो त ?
हलेदो : हाम्रा हातमा पनि दही जमेको त थिएन तर रछ्यान चलाई मुखमा छिटा भनेर चुप लागियो । भैगो नि, लुटको धन छँदैछ, बिहान–बेलुकै फुपूको सराद्धे गर, बस । साँढेका पछि लागेको स्याल जस्तो मलाई किन पछ्याउँछौ ?
चिराइतो : बाख्रो हराएको भन्दा स्याल पल्केकोमा डर भो । हाम्रा बारीमा छिरेर बाख्रा चोर्न खोज्ने स्याललाई धपाउनु परेन ?
हलेदो : धाक भन्दा धक्कु ठूलो, हिँड््न लाग्यो खुट्टो लुलो । मेरो नयाँ शक्तिको शक्तिले तिम्रो दिनको भोक न रातको निद भा’छ, फुर्ति लाउँछौ !
चिराइतो : अँ, अब फिल्मका हिरो, हिरोइन, नर्तकीहरू पनि भेला गरेर संगत गर, तिम्रो नयाँ शक्ति आउने चुनावमा सबैभन्दा ठूलो पार्टी बन्छ । कस्ता कस्ता कहाँ गए, मुसाको छोरो दरबार । कुचाले बढार्नुपर्ने आफैँ गयौ, आनन्दै भयो ।
हलेदो : गोज्याङ्ग्र्राको लँगौटी जस्तो तिम्रो थोत्रो पाटी, यता छोप्यो उता देखिन्छ, उता छोप्यो यता देखिन्छ । हेर्दै जाऊ न, मर्या स्याललाई जुम्राले छाडेजस्तो सबैले छाड्छन् तिमीलाई अनि थाहा पाउला ।
चिराइतो : मालपुवा चोर गाउँको पाले बनेको पोल कति दिन लुक्छ, हेरौँला म पनि । सज्जनसँगको मित्यारी शिलापत्र, दुर्जनसँगको मित्यारी अलपत्र भन्थे, दुर्जन रहेछौ, पार्टीलाई अलपत्र पारेर हिँड्यौ । ए बाबुराम ! तै रिन् तै रिन् बूढी बाख्री किन्, कि फर्किन्छौ त पार्टीमा ?
हलेदो : कि हस्तिनापुरको राज गरिन्छ, कि चपरीमुनि बास बसिन्छ । तिम्रो झुत्रे पार्टीमा आइँदैन ।
चिराइतो स् उत्ताउलो गाई बाघले खाई । भुतुक्कै भएको देख्न पाए पनि हुन्थ्यो नि !
हलेदो : झिँगाका सरापले डिँगो मर्दैन कमरेड । बाइबाइ ।
नेपाल, चैत्र ५, २०७२
Subscribe
Login
0 Comments
Oldest







































