डा. बमबहादुर जितालीसिंहदरबारमा कामरेड
मलाई सम्झना छ कामरेड
हाम्रो भत्किनै लागेको झुपडीमा
मेरा कलिला हातले पकाएको
आटो खाएर तिमीले
धेरै पटक भनेका थियौ
अब छिट्टै हाम्रो जीत हुनेछ
अनि सुध्रिनेछ
तिमी र तिमीहरू जस्तैको जीवन ।
कालोपाटीमा म जस्तै नानीहरूलाई
कखरा सिकाउने मेरा बा
तिमीले पिटेको
जनवादी शिक्षाको ढोलको
समर्थन गर्दै
बन्दुक बोकेर हिँडेको
तितो यथार्थ पनि
मसँग ताजै छ ।
अनि ताजै छ
तिमीले उलारेको समानताको
एकोहोरो नारा ।
आश्वासन नै आश्वासनमा
देश नै उर्लियो तिम्रो पक्षमा
र
तिमीले सानदार जित हाँसिल गर्यौ
जब तिमी दलबलसहित
सिंहदबार प्रवेश गर्यौ
हामीले झुपडीमा खुसीयाली मनायौं
तर के थाहा
तिमी पनि सिंहदबार छिरेपछि
हुकुमी शासनको पगरी गुथ्छौ भन्ने ।
आज तिम्रो सवारी हुँदा
घण्टौंसम्म बाटो खाली गराइन्छ
र तिमी कालो सिसावाल गाडीमा
हुँकिइन्छौ महाराज झैं ।
तिमीमाथि प्रहार भएको
दुश्मनको गोली थापेर
अपाङ्ग भएका वीरबहादुर
तिम्रो गाडीले उडाएको
धुलोले निसास्सिएर
ह्वीलचीयरमा खिस्रिँदै
पाखा लाग्न बाध्य हुन्छन् ।
अब त तिमीलाई भेट्न पनि
गाह्रो रहेछ कामरेड
केही आशा अनि केही भरोसा
बोकेर जब म
तिमीलाई भेट्न सिंहदबार पुगेँ
ढोकामा तिमीद्वारा नै
तैनाथ बर्दीवालले भने
नागरिकता बिना प्रवेश निषेध छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































