उत्तम विचारजन आवाज
एक्लै हाँसिरहेर अर्थ छ र के देशै दुखेको भए
के होला शिर उच्च खै सगर्माथा नै झुकेको भए ।
जे जे होस् न निधारमा हरघडी यै मृत्तिका लाउँला
गर्नेले उपहास नै गरिरहुन् राँको लिदै आउँला ।।
यस्तो सृष्टि गरेछ लौन कसले उल्टो बग्यो गण्डकी
पछ्याए पनि कालले जतिसुकै खोजौँ नयाँ जिन्दगी ।
चड्ने चड्छ सधैं सधैं शिखरमै झर्ने झरे तापनि
बाँच्नेले कति काम गर्नु छ यहाँ मर्ने मरे तापनि ।।
खै जल्दैन दरिद्र मानसिकता पुत्ला जलाए पनि
झन् आवाज बुलन्द हुन्छ बहुतै कर्फ्यू लगाए पनि ।
चुड्की एक बजाउँदा नि अरबौँ मौरीहरू आउँछन्
तारा जून समान चम्चम गरी यो सृष्टि चम्काउँछ्न् ।।
पक्कै चित्र विचित्र हुन्छ भवमा उल्र्यो भने सागर
आफै मालिक हुन् प्रजा जति सबै को छन् यहाँ नोकर ?
टुक्रिन्नन् कहिल्यै नि यी मुटुहरू संसार टुक्रे पनि
साँढे डुक्रिरहन्छ उच्च स्वरले क्यै हुन्न डुक्रे पनि ।।
हो मौलाउनु पर्छ है लहलहै दूबो सरी जो पनि
पृथ्वीमा अधिकार हुन्छ उतिकै पुड्काहरूको पनि ।
झोक्राएर त्यसै त्यसै बसिरहे अस्तित्व क्वै लुट्दछ
अन्तर्चेत हरेकको यदि उठे धर्ती स्वतः उठ्दछ ।।
तनहुँ
(नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७२ मा तृतीय पुरस्कार प्राप्त कविता)
Subscribe
Login
0 Comments
Oldest





































