साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओहो ! फेसन बजार

Nepal Telecom ad

फेसन भन्नासाथ हामी कपडाको परिवर्तन सम्झन्छौँ तर यहाँ कपडाको मात्र होइन, हरेक चिजको बाह्रैमास फेसनको सेसन हुन्छ । कही भेषभूषाको फेसन हुन्छ, कहिँ हत्या लुटको फेसन, कहिँ बन्दको फेसन हुन्छ त कहिँ अनैतिक धन्दाको फेसन । त्यस्तै नयाँ पाइन्ट टाल्ने फेसन होस् वा च्यातेर गोजी हाल्ने फेसन, ह्र्वालाङ्गे जाँङेको फेसन होस् वा छर्लङ्ग अङ्ग देखिने फेसन । त्यस्तै कतै मान्छे रुवाउने फेसन, कतै नाङ्गिने फेसन त कतैे ऐझेरूझैँ झाङ्गिने फेसन हरेक दिन चलेकै हुन्छ ।

केटीहरू केटा बन्ने फेसन होस् या लामो कपाल पालेर केटाहरू केटी बन्ने फेसनले सर्वत्र सनसनी मच्चाएकै छ । कपाल लामो पाल्नासाथ फेसनले लिङ्ग बदलिने भए साडी लगाएर गाडीमा हुइँकिँदै ठिङ्ग उभियो, केटा देख्नासाथ केटी बन्यो, केटी देख्नासाथ केटा बन्यो । त्यसपछि त मालामाल, के चाहियो ? नोटको बिटाको कुरा गर्नुहुन्छ या ठिटाको या हब्सी रिठाको, सब हुने थिए रबर स्ट्याम्प । जोइटिङ्ग्रेहरूको लस्कर पनि त्यही, पोइटिङ्ग्रेहरूको लस्कर पनि त्यहीँ । कर्के नजरले कर्कायो, कतिलाई यतैतिर तान्यो, कतिलाई उतै फर्कायो । पालैसँग लाली लायो ओठभरि चिरीच्याँट्टै, त्यसपछि प्याट्टै–प्याट्टै हिर्कायो अनि तान्यो गाँठ स्वाट्टै–स्वाट्टै, किसैकिसको रोमान्समा आउँछन् नयाँ–नयाँ ब्वाय पिस ! लिङ्ग बदल्न थाइलैण्ड न हाइलैण्ड कतै जान परेन, कस्तो मजाको भू–कम्पीय फेसन !

हामी खिचडी प्रेमीहरूले नेपालीमा अङ्ग्रेजी मिसाउने फेसन पनि कम छैन । ठूलो मान्छेको स्वाङ पार्न हो या आफ्नै भाषामा भ्वाङ पार्न हो, त्यो खिचडी भाषा यसरी घुइँकिरा’को हुन्छ– “मैले यूलाई थ्री हन्ड्रेड बीस बुझाउँदा कति चोटि किस गरेको थिएँ मिस् ?” अझ कतिको त यसरी गै’राहुन्छ– “हिजो तिमीलाई मिट गर्दा मेरो ड्याडले क्या लुक ग¥यो, मेरो हार्ट बडो ढुक–ढुक गर्यो ।” त्यस्तै कति नेताजीले घिरौले नाक बटार्दै यसरी उफ्रि’रा हुन्छन्– “डेमोक्रेसी सिस्टम भनेको सुप्रिम सिस्टम हो भन्ने कुरा रियालाइज ग¥या कुरा हो, यो मेरो तात्तातो कमिटमेन्ट हो ।” यसको अर्थ जनतालाई थाहा हुने कुरै भएन । बिचरा उनलाई नै थाहा नहुनसक्छ । यस्तो खिचडी भाषाको फेसन दिनरात चलेकै छ । क्षमता हुनेहरू कि अङ्ग्रेजीमै धारा प्रवाह जिब्रो फट्कार्छन् कि नेपालीमै उट्किन्छन् तर सिङ न पुच्छरका हामी खिचडी प्रेमीहरू नेपाली न अङ्ग्रेजी, यता न उता बीचमै थोत्रो जुत्ताको फित्ता हल्लाउँदै खिचडी भाषामा ङिच्च दाँत देखाउँछाैँ । बिचरा ! टिठ मान्नैपर्यो ।

मःमः को फेसन पनि गज्जबै चलेको छ बा ! मभन्दा ठूलो कोही छैन भन्ने सोचेर हो या आफ्नो नामबाटै उब्जेको परिकार भएर हो, यसको फेसन उल्टेकै छ । हुन त पिठोले ढाकेर ¬¬उसुनेको जन्तुलाई चम्चाले उचाल्दै मुखमा स्वाट्टै फाल्दै घुर्लुक्क भुँडीतिर खसाल्दै गर्नुलाई मःमः भनिदोरै’छ । सायद जन्तु खाने अरू होइन, म नै हुँ भनेर जोड दिनलाई दुईचोटि भनिएको पो हो कि ?

जे होस् मःमः भनेपछि तँःतँः पनि भन्नुभएन । तिमी, तिमी पनि भन्न मिलेन, मःमः भनेपछि मःमः नै भन्नुप¥यो, उसलाई आफू बनाउनुप¥यो । थारो जन्तुकोे छिप्प्या छाला भए पनि मःमः, आँखामा कचेरा नाकमा सिँगान भएको छेरौटे रोगीको भुत्ला भए पनि मःमः, कुकुरको यालयाले छाला मिसाए पनि मःमः । कत्ति बाठो छ आजको मान्छे ? उसुनेको पशुलाई मः मः भन्छ भने जिउँदो आफूलाई के भन्ला हँ ?

त्यस्तै फेसन बजारमा चिट चोर्ने फेसन होस् या बिट फोर्ने फेसन होस्, लभ गर्ने फेसन होस् या जब गर्ने फेसन, मान्छे मार्ने फेसन होस् या यातना दिने फेसन, मान्छे नङ्गाउने फेसन होस् या कुरा बङ्गाउने फेसन । एउटा फेसनले मन खाएकै छ, टाउका चपाएकै छ । थरीथरीका फेसनले पछ्याएकै छ ।

खोतल्दै जाऔं, हामी पनि कम फेसनदार छौं र ! विदेशीले मङ्गल ताक्दा, हामी जङ्गल ताक्छौं । विदेशीले जाकेट रङ्गाउँदा, हामीले जगल्टा रङ्गाउँछांै । विदेशीले उद्योगधन्दा चलाउँदा, हामीले बन्दको धन्दा चलाउँछौं । विदेशीले देश बनाउँदा हामीले चरेश बनाउँछौं । विदेशीले घरबास बनाउँदा, हामीले बकबास बनाउँछौं । विदेशीले सुन्दर ताल बनाउँदा हामीले भैंसीको खाल बनाउँछौं । विदेशीले सफा सहर बनाउँदा हामीले दुर्गन्धित फोहर बनाउँछौं । विदेशीले साप्रो देखाउने फेसन निकाल्दा, हामीले बाख्रालेझंै देखाउने फेसन निकाल्छौँ । बाफ्रे ! कस्ता मजाका फेसनदार ! अरू देशले काम चेन्ज गर्छन् तर हामीले नाम चेन्ज गर्छौँ ।

दुनियाँ फेसनको पुच्छर समाएर सकी नसकी ठसठसी कन्दै, ऐया न आत्थु भन्दै ठोक्किँदै न भुत्लिदै, याक्किँदै न फ्याँक्किदै पछिपछि दौडेको छ, भने हामी चेलाहरू फेसनको मेलामा झोल्टिदै न टङ्गिदै यसमा रंगिएकै छौं । सरकार नाम फेर्न फेसनको पछाडि दौडेकै छ । कहिले बिदाको नाम फेरेको छ त कहिले पाठ्यपुस्तकको नाम, कहिले शैक्षिक तहको नाम फेरेको छ त कहिले कार्यालयको नाम । कहिले मन्त्रालयको नाम फेरेको छ त कहिले सस्थानको नाम । कहिले स्वर फेरेको छ त कहिले धुन ! यसरी नाम फेरेर गुण फेरिने, धुन फेरेर व्यवस्था फेरिने भए, हरेक वर्ष देशकै नाम फेरे हुन्छ, काम केही नगरे हुन्छ । नामले काम गरिहाल्ने भो, पुच्छर रै’छ भने प्रथम भै’हाल्ने भो, भोकै रै’छ भने अघाइहाल्ने भो, नाङ्गै रै’छ भने वस्त्र पाइहाल्ने भो, निसस्त्र भए अस्त्र पाइहाल्ने भो, फेल रै’छ भने पास भैहल्ने भो ! आहा ! क्या राम्रो नाम परिवर्तन फेसन ।

नाम बदलेपछि मोटर नगाकोमा मोटर जाने, नुन नपाउनेले बोराका बोरा नुन थुप्रा लाग्ने, धन्य नाम परिवर्तन फेसन, तिम्रै छ दुनियाँमा सेसन । अब जसलाई जे चिज चाहियो त्यस्ते नाम राखिदिनुस्, बस् काम धमाधम ! के को बजेट ? के को अचेट ? के को पूँजी ? के को लगानी ? सर्वत्र सुख, सुविधा र मामैमाम । यो नयाँ अत्याधुनिक फेसन भित्राउनेलाई डलर मिसिएको पाउडर र बाह्रै कलर मिसिएको फूलमाला लगाइदिएर बाह्रैमास वायुपंखी घेडामा राखेर वायु समान उडाउनुपर्छ है, नत्र त फेरि नामै फेर्न भुलिने पो हो कि ?

यसरी नाम परिवर्तन गर्दा यसरी गर्नुपर्छ जस्तै घरलाई, अब घर नभन्ने, चौरासी व्यञ्जन आश्रम भन्ने (कामै नगरेर चौरासी व्यञ्जनको थुप्रो लागिरहने भयो) त्यस्तै स्कुललाई पिएच.डी. केन्द्र (प्रा.वि., नि.मा.वि., उ.मा.वि., विश्वविद्यालय सब हटाइदिने, भर्ना भयो कि पिएच.डी. पास), सरकारी काम मुक्त केन्द्र (अब एउटा घरमा जान साथ सारा सरकारी काम आफसे आफ हुनेछ, दर्जनांै अफिसलाई आजैका मितिदेखि खारेज), तलब बर्सिने कोठा (त्यो कोठामा जानासाथ पैसाका मुठाहरूको रेलो, जति चहिन्छ बोकेर सुधार्ने आ–आफ्नो मेलो । सारा बैङ्किक अफिसको कुनै काम हुने छैन), अचुक उपचार केन्द्र (जहाँ बिरामी छिर्नासाथ सञ्चो हुनेछन्, अस्पताल र डाक्टरको कुनै काम हुनेछैन) । यस्तै किसिमले हरेक चीजको नाम फेरौं आफै विकास भैहाल्नेछ ।

यसरी नाम फेर्दै जानुपर्छ । नाम फेर्दा नेपालको ठाउँमा स्वर्ग भन्ने राख्ने त्यसपछि त नेपाल स्वर्ग हुनेछ । स्वर्ग बन्नसाथ केको टेन्सन ? मान्छेको त कुरै छोडौं पशुपंक्षी, झिङा, ल।मखुट्टे र भ्यागुताहरूले पनि पाउनेछन् पेन्सन । गिलो गिलो कुरा गरेर ढिलो नगरौं । बरु हत्त न पत्त अहिल्यै नाम फेरौं, नयाँ फेसन भरौं ! अस्तु !

रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
0
Would love your thoughts, please comment.x
()
x