वासुदेव पाण्डेयफेसबुक महिमा
गर्दा उन्नति तीव्र यो प्रविधिले संसार सानो भयो
साझा गाउँ समान विश्व अहिले आकाश छानो भयो ।
को टाढा र समीप हुन्छ अहिले ‘भू–ग्राम’मा फेरियो
सानो यन्त्र चलाउँदै घर बसी संसार नै हेरियो ।।
साथी भेट्न र खोज्न फेसबुकले बाटो बतायो तर
मान्छेमा मन छैन लाग्छ मुटुमा राखेछ झैँ पत्थर ।
मारी उच्च छलाङ यो प्रविधिले संसार फेरे पनि
मान्छे बस्दछ मूर्तितुल्य नजिकै बोल्दैन हेरे पनि ।।
फोटो टाँस्छ कि प्रेम गाँस्छ र त ऊ हेर्दा सधैँ व्यस्त छ
खेली खेल रमाउने हरघडी वा च्याटमा मस्त छ ।
आँखा जोत्छ र पत्र पोत्छ जसले त्यो देह नै लस्त छ
आस्था सङ्कटमा परेर कतिको सम्बन्ध सन्त्रस्त छ ।।
सिङ्गो विश्व बने नि गाउँ मनको मैदान सानो भयो
धेरै मित्र भए नि फेसबुकमा आफ्नै बिरानो भयो ।
बढ्छन्, द्वन्द्व, विकार वा कलुषता राखे झुटा तस्विर
आफ्नाको बदनाम, ज्यान कतिले फाले, झुकाए शिर ।।
पत्नी मस्त भएर फेसबुकमा खाना डढाए कतै
लोग्ने व्यस्त भएर फेसबुकमा बच्चा लडाए कतै ।
छोरा व्यस्त भएर फेसबुकमा बोल्दैन कैले सही
छोरी व्यस्त भएर फेसबुकमा आँखा नदेख्ने भई ।।
बाटोमा घरमा तथा सडकमा कक्षा भए तापनि
मान्छे व्यस्त रहन्छ फेसबुकको सच्चा पुजारी बनी ।
कोही पढ्न र लेख्न ज्ञान गुनको भण्डार भन्छन् तर
अर्काको बदनामका नियतले बिग्रन्छ आफ्नै घर ।।
निर्धो मानिस बन्छ जान्छ धन त्यो बुझ्दैन होला किन
टाढिन्छन् मन व्यक्तिका सहर नै ठान्नेछ ऊ निर्जन ।
राम्रो सोच लिएर फेसबुकको साथी बने वेश भो
लाग्ला ठेस फिरे कुबुद्धि सबले यो श्लोक सन्देश हो ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































