सुलसुलेसाझामा चुनाव
चैत २३, २०७२ । आठ वर्षपछि साझा प्रकाशनमा बिहीबार अंशियार साहित्यकारहरूको तर्फबाट प्रतिनिधि छनोट हुने भएको छ । सरकारको तर्फबाट अध्यक्षसहित ३ जना सदस्य र साहित्यकारहरूबाट ३ जनाको प्रतिनिधिसहित ७ जनाको सञ्चालक समिति हुने गर्छ । तर, लामो समयदेखि सरकारको मात्रै उपस्थितिले साझामा स्रष्टाहरूको समावेशी सहभागिता हुने सकेको छैन ।
साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्माले १३ महिनादेखि निर्वाचन गराउने प्रयत्न अन्तत सफल हुन लागेको दाबी गरे । बिहीबार साझाको साधारणसभाबाट नयाँ सदस्यहरू थपिनेप्रति उनले खुसी प्रकट गरे । अहिलेसम्म चारजनाले उम्मेदवारको लागि दाबा गरेका छन् । डा. विजय सुब्बा, जीवनचन्द्र कोइराला, हरिहर खनाल र मनोहर लामिछानेले उम्मेदवार दिएका हुन् । उनीहरूले आआफ्ना घोषणापत्रसमेत सार्वजनिक गरिसकेका छन् । डा. सुब्बाले नेपाली भाषा साहित्यको लामो इतिहास बोकेको साझा प्रकाशन बिग्रिएको अवस्थामा किन र कसरी पुग्यो ? अध्ययन गरी समाधान खोज्ने बताएका छन् ।
अहिले १५ सय ५४ अंशियार (सेयर सदस्य साहित्यकार) साझामा छन् । तिनको कुनै व्यवस्थित रेकर्ड छैन । त्यसलाई अनिवार्य अपडेट गर्ने, विगतमा स्तरीय पुस्तक नछापिएको पाठकको गुनासो मेटाउन प्रयत्न गर्ने, कर्मचारी सही व्यवस्थापन गर्ने, बढी राजनीतीकरण हुनबाट जोगाउने लगायतका योजना बुनेका छन् उनले ।
विसं १९७१ मा स्थापना भएको गोर्खा भाषा प्रकाशिनी समिति नै अहिलेको साझा प्रकाशन हो । विसं १९९१ मा नेपाली भाषा प्रकाशिनी समिति हुँदै २०२१ मा साझा प्रकाशनको नामबाट सञ्चालन हुँदै आएको यो संस्था कुनै बेला नेपाली भाषा र साहित्यको मूल केन्द्र थियो ।
साहित्य र साहित्यकारको यो लोकप्रिय संस्था पछिल्लो समय राजनीतीकरणका कारण समस्या खेप्दै आएको छ । यही संस्थाले दिँदै आएको साझा पुरस्कार, गरिमा सम्मान पुरस्कार लगायतका पुरस्कारहरूसमेत पछिल्लो वर्ष रोकिएका छन् । अर्का उम्मेदवार कोइरालाले करिब ४३ करोड रुपैयाँ ऋण बोकेको साझालाई त्यसबाट कसरी उम्काउनेतर्फ सोच्नुपर्ने बताए । अनावश्यक कर्मचारी घटाएर प्रशासन चुस्त बनाउने, सरकारलाई साझाप्रति उत्तरदायी बनाउने, स्रष्टाको पवित्र मन्दिरजस्तै छवि बनाउने लगायतका ऐजेन्डा उनका छन् ।
खनालले चाहिँ शिक्षा र सहकारी गरी दुई मन्त्रालयले सञ्चालन गरेकाले साझाको काम उल्झनमा परेको बताएका छन् । यसलाई एउटै मन्त्रालयमा जिम्मा लगाएर गतिविधि बढाउँदा सहज हुने सुनाए । त्यस्तै, आर्थिक दुरावस्था हटाउन समस्या पत्ता लगाएर योजना बनाउने, आधुनिक प्रविधिको विकाससँगै साझाको तथ्यांकलाई कम्प्युटराइज गर्ने, छुटेका साहित्यकारलाई साझाको सदस्य बनाउन जोड दिने, विषयगत मूल्याङ्कन समिति बनाएर पुस्तक छाप्ने नीति बनाउने, विदेशमा पढाइने नेपाली पुस्तक र्पुयाउन हुलाक रजिस्ट्रेसन गर्ने लगायत एजेन्डा उनले उठाएका छन् ।
त्यस्तै, लामिछानेले साझाले कुनै राजनीति नगरी विशुद्ध भाषा, साहित्यमै सोचे त्यति समस्या नआउने दाबी गरे । उनले साझा पहिलाजस्तो थियो उस्तै बनाउन अब नयाँ प्रविधि पनि रोज्नुपर्ने सुनाए । ‘छापामा गुणस्तरीयतादेखि ई–बुकसम्म प्लानिङ गर्नुपर्छ,’ उनले भने । नयाँ ढंगले प्रविधि र बजारमा साझा सुचारु हुँदै गए ऋण पनि विस्तारै घट्दै जाने उनले दाबी गरे । बिहीबार तीन सिटका लागि चार उम्मेदवारबीच चुनाव हुन लागेको हो ।
महाप्रबन्धक शर्माले साझा बचाउन सञ्चालक समितिको निर्वाचन अनिवार्य रहेको सुनाए । अंशियार प्रतिनिधिलाई साधारणसभामा आउनेलाई यातायात खर्चको समेत व्यवस्था गरिएको शर्माले जनाए ।
कान्तिपुर दैनिक
Subscribe
Login
0 Comments
Oldest











































