चूडा निर्भीकनयाँ वर्षको सुस्वागत
हल्लाएर जमीन कम्प नबनोस् नौलो नयाँ वर्षमा ।
साना प्रान्त अझै नहोस् न टुकुरा नेपाल होस् हर्षमा ।।
मान्छेका मनमा विचार गतिला उर्लेर आओस् खुबै ।
खाका धेर बनून् विकास पथका आक्रोस भागोस् सवै ।।१।।
हामी मित्र बनौं पहाड मुलका छाडेर फोस्रा पन ।
हाम्रै राष्ट्रमहाँ मधेश छ भनी मान्ने गरौं सज्जन ।।
हाम्रा दाजु र भाइ पहाडतिर छन् सोचौं मधेशी सव ।
नाका बन्द गरेर हुन्न नि भलो भन्ने विचारौं अव ।।२।।
शेर्पा थारु धिमाल लिम्वु मगरै राई र चेपाङ भो ।
चौतारी सवको बनोस् र भनियोस् यो राज्य नेपाल हो ।।
कोही छैन विरानु मानिस यहाँ सन्तान हौं राष्ट्रमा ।
भन्ने राष्ट्रियता जगाउँ जन हो अर्को नयाँ वर्षमा ।।३।।
पात्रो मात्र नयाँ बनेर कसरी नौलो यहाँ हुन्छ र ।
नेपाली मनमा सुभाव रहँदा खै को यहाँ रुन्छ र ।।
हाम्रा कर्म फुलोस् र राष्ट्र बनियोस् यै कामना गर्दछु ।
नौलो वर्ष म डाक्छु आज खुश भै स्वागत् भनी भन्दछु ।।४।।
जोडी हात दुवै सु–स्वागत भनेँ स्वीकार लौ वान्धव ।
मेरो यो शुभ—कामना छ तिनमा छन् देश भित्रै सब ।।
जो छैनन् नि यहाँ र कामपरि र्फे जान्छन् विदेशैमहाँ ।
भो सम्मान नव वर्षमा ति सवमा सन्सारका जन् कहाँ ।।५।।
गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































