सुलसुलेवृद्धले सुनाए भूकम्प कविता
‘आयो कम्प कछार, शैल चुचुरा हल्लाउँदै बेसरी
काम्यो त्यो निर्लज्ज, ताण्डव सरी खाँडो जगाए सरी’
राईनास नगरपालिका ६ तिनपिप्लेका मातेका प्रसाद खनालले बेशाख १२ को भूकम्प संझेर लेखेका कविता हरफ हो यो । स्थानिय शैलपुत्री उमाविमा नेपाली विषयका शिक्षक ५६ बर्षिय खनालले बैशाख १२ को भूकम्प शीर्षकको कवितामा अर्को हरफ यसरी लेखेका छन्–
‘खाना छैन र छानु खै ? महलका त्रिपालमा वैरिए
ठूला हो ! अभिमान तोड धनका, तिम्रा महल भत्किए’
कवि खनालले मात्र होइन, बेसीशरहमा झण्डै दुई दर्जन कवि कवियत्रीले भूकम्पले दिएको पीडा र त्यसपछि हालसम्म पीडितको अवस्थालाई केन्द्रमा राखेर लेखिएका कविता सुनाए । कविता मार्फत उनीहरूले पीडितलाई सरकार र दातृ निकायले राहतको नाममा गरेको व्यवहारमा समेत व्यङ्ग्य गरे ।
बेसीशहरमा स्थापना भएको सामुदायिक रेडियो मस्र्याङ्दीको १० औँ बार्षिकोत्सब एवं पहिलो बेसीशहर महोत्सवको अवसरमा आयोजना गरिएको वृद्ध–वृद्धा कविता प्रतियोगितामा कवि कवियत्रीहरूले मार्मिक कविता सुनाएका थिए ।
प्रतियोगितामा राईनास– ६ तिनपिप्लेका मातृका प्रसाद खनाल पहिलो, चिति साहित्य समाज लमजुङका अध्यक्ष दोस्रो र बोराङका पशुपतिनाथ न्यौपाने तेस्रो भएका छन् । उनीहरूलाई नगदका साथ आकर्षक पुरस्कार बैशाख १ गते विशेष कार्यक्रममा प्रदान गरियो ।
बैशाख १२ को भूकम्प शीर्षकमा गरिएको प्रतियोगितामा ५० वर्ष नाघेका वृद्धहरूलाई मात्र सहभागिता गराइएको थियो । कविता सुनेर बसेका रेडियो मस्र्याङ्दी सञ्चालक समितिका अध्यक्ष धर्मराज श्रेष्ठले कविता मार्फत भूकम्पले दिएका पीडा महशुस गरेको बताए । उनले भने, सरकारले गरेको व्यवहारलाई पनि कविताले व्यङ्ग्य गरेको छ ।
बेसीशहर महोत्सब मूल समारोह समितिका संयोजक कृष्णजंग गुरुङले लमजुङ सहित्य, कला र लोकसंस्कृतिमा धनी रहेको बताए । वृद्ध वृद्धाहरूले कवितामा देखाएको जोशले युवा पुस्तालाई समेत आकर्षित गरेको उनको भनाइ छ ।
प्रतियोगितामा साहित्यकार रुपिन्द्र प्रभावी र मस्र्याङ्दी बहुमुखी क्याम्पसका प्राध्यापक शालिग्राम अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको संचालन रेडियो मस्र्याङ्दीको साहित्य सरोबर कार्यक्रमका प्रस्तोता तेजनारायण अधिकारीले गरेका थिए ।
–युवराज श्रेष्ठ, लमजुङ
Subscribe
Login
0 Comments
Oldest











































