साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेलाको फेला

Nepal Telecom ad

सरल शब्दमा भन्ने हो भने एक सज्जनले अर्काे सज्जनप्रति गरिने अपमान वा दुव्र्यवहारलाई हेला भनिन्छ । जसले हेला गरेको आभास पाउँछ उसैले हेलाको तम्तम्याइलो रसास्वादन गरिराखेको हुन्छ । हेला जसले जसलाई गर्दा पनि हुन्छ । कानुनतः हेला गर्ने अधिकार कसैलाई छैन तर गर्नेले साँझ बिहान, ओर्की फर्की, ओल्टाइ, पल्टाइ, छेउ छाउ वा टाढा नजिक, आफन्त, पराई केही नभनी हेला गरिराखेकै हुन्छन् । कसैले हेलाको प्रतिवाद गरेर आइ लागेको हेलालाई फिक्का, फोस्रो, हल्का र प्रभावहीन बनाउँछन् भने कतिपय हेला शिरोपर गर्दै बोकाले पर्छिएकै टाउको हल्लाएर बसिराख्छन् । धेरै जसो यस्तै सज्जनहरू बलिको बोको बन्ने गरेका छन् । यहाँनिर हिँड्ने गोरुको पुच्छर निमोठ्ने गरेर पनि हेलाको फेला पार्न सकिन्छ । पाचनक्रिया जति शक्तिशाली भए पनि हेलाको फेला परिसकेपछि यसको धङधङी भने जीवनभर रहिरहन्छ ।

पृथ्वीमा नाना प्रकारका मान्छेका खुराक या खानाका कारण मानवीय स्वभाव, आचरण र विवेक पनि पृथक पृथक हुन्छ । कोही बुद्धि, विवेक, ज्ञान, सिप, जोस, जाँगरले लटरम्म हुन्छन् भने कोही, सिक्रा, रुखा, अल्छी, पाखण्डी र मरुभूमि आचरणले जरजर खण्डहर जीवन व्यतित् गरिराखेका हुन्छन् । मान्छेले एक अर्काको जीवन यापनमा वास्ता र असर नपारी जिउनु पिउनु पर्ने हो तर छुसी स्वभाव र चतुराचरणको कारण फाल्तु फतुर लगाउनमा आनन्द मान्छ मान्छे । चुड्की बजाउँदै या मुड्की बजार्दे एक अर्कामा पुछनी पनि हुन्छ “के छ हाल खबर” ? अनि सोझो सज्जन प¥यो भने त सही साँचो जवाफ आउँछ तर पुङमाङ, पोगटा, फोस्रा, सिक्रा र रुखाऽचरणले ओतप्रोत छ भने ऊबाट जायज जवाफ प्राप्त हुन सक्दैन र ऊ आफूसँग मौजुदा विवेक खर्चिदै कड्किन्छ । ‘तँलाई के चासो’? लगाई दिउँ गलेपासो’ ? हो यसै हाउभाउ र भाव भङ्गीका साथ एकले अर्कालाई हेला गर्ने परिपाटी शायद ईश्वरका पालामा पनि थियो र सो क्रम भङ्ग नभई आज पनि लिला जारी छ । टोल, छिमेक, देश, विदेश सर्वत्र हेलाको फेला पर्नेहरू जीवितै उग्राइ राखेकै छन् ।

वर्तमान विश्वमा रसियाले युक्रेनप्रति गरेका व्यवहार, उत्तर कोरियाले दक्षिण कोरियालाई देखाउने गरेको आंगिकस्वाङ, अमेरिकाले अन्य राष्ट्रप्रति गर्ने गरेको उदारता, आइएस आइएस र बोकोहरामका गतिविधि यी सबै मानवाधिकारप्रति दर्शाइएका हेलाका चरम रुपहरू हुन् । साँढेको जुधाइ, बाच्छाको मिचाइमा परेर हेलाको भँगाला र भूमरीमा सन्तान दर सन्तान छिन्न भिन्नको स्थितिमा बाँच्ने रहरलाई उकेरा लगाएर सिर्फ दोहोरो स्वास प्रस्वास क्रिया मात्र जारी राखेका छन् । यस स्थितिमा बचाइ वा जिउनु पिउनुमा कुनै रस छैन । बाहुबलवालेहरूले शक्तिको उन्मादमा मानवीय चोलालाई खोलामा हेली राखेका छन् । शक्तिको होडबाजीमा धर्म धरापमा परिराखेको छ । यहाँ भन्दाधिक मान्छेले मान्छेलाई कति हेला गर्नु ? यी सब मान्छेका अस्तित्व र अस्मिताप्रतिको खेलवाड होइन र ? त्यसैले एक अर्कामा चिनिन, आफ्नो पौरख दुनियाँमा देखाउन हेलाको माध्यमबाट चिन्ने चिनाउने आधुनिक सभ्यता बनिरहेको छ हेला । के ठिक के बेठिक खुट्याउन छुट्याउन नसक्दा ज्ञात अज्ञात सोझा सिदाहरू हेला शिरोपर गर्न बाध्य र विवश छन् । क्रम दोहोरिन्छ, तेहरिन्छ । यस स्थितिमा हेलाबाट को अछुतो रहन्छ ? परिवार, लोग्ने, स्वास्नी, नातागोता, दाया बायाँ, गहन विचार गर्नु कुनै न कुनै रूपमा हेलाको फेला नपर्ने शायदै होलान् ।

बजारमा जनताले ग्याँस, तेल, नून, या सुन, ओखती, नपाउनु पनि सरकारले जनतालाई गरेको हेला हो । भनेको बेलामा उपचार नपाउनु, मातृशिशुको मृत्युदर बढ्नु पनि हेलाकै अर्का पाटा हुन् । भारतीय नाकाबन्दी र तराईका राजनीतिक दलले आन्दोलनको नाममा जुन नाङ्गो नाच नाचे त्यो निरिह जनतामा गरिएको पाशविक हेला हो । नागरिकलाई जे गरे पनि हुन्छ भन्ने पतित् मानसिकतामा चियाएर हेर्नुस् हेलाङ्कुरित भइराखेकै हुन्छ ।

हेला गर्ने समय र हेला गर्ने मान्छे जतिखेर जुनसुकै समयमा पनि आइ लाग्न सक्छन् यिनको ठेगान हुँदैन । हेला जसले जसलाई पनि गर्ने परिपाटी छ । हेलापन जसरी पनि प्रस्तुत गर्न सकिन्छ । कसैलाई कुहिनाले घुच्याएर पनि हेलाको छनक दिन सकिन्छ । दारा किट्दै मुड्की उज्याएर पनि हेलाले दनक दिन सकिन्छ । दिनु पर्ने चिजविज या माया ममता वा प्रश्नको उत्तर नदिएर पनि हेलाको आभास दिन सकिन्छ । चोर औला ठ्याएर खबरदार ! भनेर पनि हेलाबाट अघाउन्जेल पार्न सकिन्छ । बाबु आमालाई छोरा बुहारीले हेला गरेर हैरान पारेका इतिहास छन् । हाकिम साहेबले पियनलाई हेला गरेको त बारैमास देख्न सकिन्छ । यातायात क्षेत्रमा खलासिले हेला नगरेका प्यासेन्जर नै भेटिँदैनन् । उद्योगपतिले मजदुरलाई सुविधा नदिनु पनि हेलाकै पुरानो रूप हो । डाक्टरले नर्सलाई जहिले पनि बक्र दृष्टिले हेर्ने गर्छन् यसलाई कस्तो प्रकारको हेलामा राख्ने ? घुस नदिने सेवाग्राही कर्मचारीको दृष्टिमा र यस सृष्टिमा नै प्रमुख हेलाका पात्र हुन् । एउटा देशको नरेशले अर्काे देशको राजालाई जहिले पनि खसाल्न खोजिराखेकै हुन्छ । छोरी, बुहारी, ज्वाइँ, सासूको हेलाको भूमरीमा पर्नु त नौलो कुरै भएन । ससुराली जाँदा भातका भागमा एक पित्को घिउ देखिएन भने पनि हेलाकै कारण नाक दुख्न थालिहाल्छ । एवम्रितले एउटा जोदाहाले अर्को जोदाहालाई कसरी हेला गर्ने भनेर कन्चटमा हात राखेर मथिङ्गल खियाइराखेकै हुन्छ ।

तसर्थ सजिलै भन्न सकिन्छ हेला कस्ताले कस्तालाई भन्दा पनि जस्ताले जस्तालाई पनि गर्न सक्छ । कहाँ, कहिले, कसरी, मा पनि यो जहाँ, जहिले, जसरी पनि प्रस्तुत गर्न सकिन्छ । हेला गर्नमा कसको हात माथि छ र को अग्रपङ्क्तिमा भन्ने कुरा समयले पर्दा उघारदै जाने हुनाले तपाई हामी हेलाको फेला पर्नबाट जोगिनु पर्छ है मित्र । बाहिर होस् या भित्र । अस्तु ।

फूलबारी–११, पोखरा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x