विमल निभामैले तपाईंलाई चिनिनँ
मैले चिनेको हाकिम भएकोले म खुसी भएँ । मेरो काम हुने सम्भावना ह्वात्तै बढेको थियो । हुन त काम निकै अप्ठ्यारो खालको थियो । तैपनि म पुरै ढुक्क थिएँ । त्यसैले उनको कोठामा पस्नासाथ मेरो स्वर एक्कासी उचालियो, ‘नमस्कार अंकल ।’
‘भन्नोस्, के काम छ ?’ मेरो सोचको विलकुलै उल्टो जवाफ पो आयो ।
‘मलाई चिन्नुभएन अंकल ?’ मैले विस्तारै भनेँ, ‘म सालिकराम ।’
‘ठिक छ, तपाईं आफ्नो काम भन्नोस् ।’ उनको स्वर अझ रुखो भयो, ‘अहिले मलाई फुर्सद छैन ।’
‘बरेवाको डिठ्ठासाब तिलकराम लुइँटेलको छोरो अंकल ।’ मैले आफ्नो थप परिचय दिन खोजेँ, ‘हजुरको ठूलदाजुको मीतको माइलो छोरो हुँ म ।’
‘तपाईं खुरुक्क आफ्नो काम भन्नोस् ।’ यस पटकको उनको आवाजमा प्रशस्त क्रोध भएकोले म डराएँ ।
मैले हत्तपत्त आफ्नो यहाँ आउनुपरेको काम भनेँ, जुन यस सरकारी कार्यालयको नियम बमोजिम पटक्कै नमिल्ने भएकोले गर्न सकिँदैन भनेर हाकिमसाबको तुरुन्तै उत्तर आयो । त्यसैले म निराशामा एकाएक गह्रुङ्गो भएको आफ्नो टाउको निहुराएर लुरुलुरु कार्यालय बाहिर निस्कें । मलाई भाउन्न भएर त्यहीं लडुँलाझैं भइरहेको थियो ।
केही दिनपछि नयाँबानेश्वरको चोकमा हाकिमसाबसँग मेरो भेट भयो । म उनलाई नचिनेको जस्तो गरेर अघि बढ्न के खोजेको थिएँ, उनले ट्याप्प मेरो दाहिने पाखुरो समाते । अनि थोरै मुस्कुराएर भने, ‘कहाँ जानलागेको बाबु ?’
म अकमक्क परेँ । वास्तवमा मलाई के भनुँ अथवा के नभनुँ भइरहेको थियो । मैले लखबराएको बोलीमा भनेँ, ‘कतै होइन अंकल ।’
‘के हालखबर छ, तिम्रो बाबु ?’
‘ठिक छ, अंकल ।’
‘तिलकराम दाइलाई सन्चै छ ?’
‘सन्चै छ, अंकल ।’
‘अनि पञ्चराम दाइलाई नि ?’
‘उहाँलाई पनि सन्चै छ, अंकल ।’
‘यसो भेटघाट गर्ने गर बाबु ।’ उनको ओठको मुस्कान जारी थियो, ‘मेरो अफिस त तिमीलाई थाहै होला ।’
‘हजुर अंकल ।’
‘अँ, तिलोत्तमा भाउजूलाई बेंगलोर लगिएको सुनेको थिएँ ।’ उनले कुराकानीलाई सहज ढंगले अघि बढाए, ‘अप्रेसन कस्तो भयो बाबु ?’
‘राम्रो भयो अंकल ।’
‘नेपाल फर्किसक्नुभयो ?’
‘हजुर अंकल ।’
‘ल त, मेरो अफिसमा आउनु ।’ उनले मेरो पिठ्युँमा प्रेमपूर्वक धाप मारे, ‘अहिले म हिँडेँ ।’
अस्तिसम्म मलाई अलिकति पनि नचिन्ने हाकिमसाबले अहिले मलाई राम्ररी चिनिसकेकाले म भोलिपल्ट नै दगुरेर उनको कार्यालयमा पुगेँ । मलाई आफ्नो काम गराउनु थियो । अब भने मेरो काम हुने पक्कापक्की भइसकेको थियो । त्यसैले म प्रसन्न मुद्रामा उनको कोठाको ढोका खोलेर स्वाट्टै भित्र छिरेँ ।
‘नमस्कार अंकल ।’
मेरो नमस्कारमा कुनै ध्यान नदिएर हाकिमसाबले टेबुलमाथिको फाइलको चाङबाट आँखा हटाएर मलाई अनौठो पाराले हेरे । मैले झटपट नमस्कार दोहोर्याएँ । तैपनि उनको अनुहारमा मलाई चिनेको कुनै भाव आएन । उनले उही आफ्नो नमिठो स्वरमा भने, ‘भन्नोस्, के काम छ ?’
‘म सालिकराम अंकल ।’ मैले जसोतसो बोलेँ ।
‘ठिक छ, आफ्नो काम भन्नोस् ।’
‘हजुर, म कामले नै आएको हुँ अंकल ।’
‘तपाईं खुरुक्क आफ्नो काम भन्नोस् ।’ उनको आवाजको भोलुम बढ्यो, ‘मलाई धेरै काम छ ।’
‘हजुर, म तिलकरामको छोरो ।’ मेरो मुखबाट पुरानै डाइलग निस्किरहेको थियो, ‘बरेवाको डिठ्ठासाब तिलकराम लुइँटेलको माइलो छोरो हुँ म ।’
‘ठिक छ, ठिक छ ।’ उनले मलाई झन्डै हप्काएर भने, ‘तपाईं जसको छोरो भए पनि आफ्नो काम भन्नोस् ।’
मैले आफ्नो काम भनें, यसको प्रत्युत्तरमा उनले यो काम गर्न मिल्दैन भने, मैले एकपटक फेरि काम गराउन बल गरेँ, उनले पनि बलैले फेरि हुँदैन भने, अनि मैले यसपाली केही पनि भनिनँ र चुपचाप हाकिमसाबको कोठाबाट एकदमै अँध्यारो मुख पारेर बाहिरिएँ ।
यसको दुई–तीन दिनपछि उनीसँग फेरि मेरो नयाँबानेश्वरको चोकमै भेट भयो । मैले यसपटक नमस्कार गरिन । र उनको आँखा छलेर अघि बढ्न खोजेँ । उनले मेरो बाटो छेकेर भने, ‘के छ बाबु ?’
यसको जवाफमा मैले केही भन्ने प्रयास गरिन ।
‘सबै ठिकठाक छ बाबु ?’
‘के ठिकठाक हुनु?’ मलाई झन्न रिस उठेको थियो, ‘हजुरले मलाई यहाँ चिने पनि आफ्नो अफिसमा चाहिं पटक्कै चिन्नुहुन्न ।’
‘ए, तिमीलाई चिन्ने कुरा…।’ उनी मुस्कुराए, ‘तिमीलाई म अफिसमा पनि चिनिहाल्छु नि बाबु ।’
‘दुईपटक अफिसमा गइसकँें ।’ मैले ओठ बङ्ग्याएर भनँे, ‘अंकलले मलाई चिन्दै चिन्नुभएन ।’
‘चिनिहाल्छु नि बाबु ।’ उनको मुस्कान बाक्लो भयो, ‘ल, भोलि नै मेरो अफिसमा आउनु बाबु ।’
उनले भने बमोजिम म भोलि नै अफिसमा पुगेंँ । हुन त त्यहाँ जान मलाई मन भइरहेको थिएन । तैपनि आफ्नो काम भएकोले जानैपर्यो । त्यसैले सरासरी गएँ । र उनको कोठामा सुस्तरी पसेर नमस्कार आदिको लेनदेनपछि भनेँ, ‘यस पटक अंकलले चिन्नुभयो मलाई ।’
‘चिनिहाल्छु नि बाबु ।’ उनी ओठ फट्याएर मुस्कुराए, ‘किन नचिन्नु तिमीलाई ?’
‘अस्ति त मलाई चिन्नुभएन अंकलले ।’ मेरो गुनासो कायम थियो, ‘अहिले बल्ल मलाई चिन्नुभयो ।’
‘अस्तिको कुरा छाड ।’ उनी आफ्नो कुर्सीबाट जुरुक्क उभिए, ‘ल, तिमी यो सिटमा बस बाबु ।’
हाकिमसाबको यो अप्रत्यासित क्रियाले म पुरै हडबडाएँ । केही बुझ्नै सकिएन । केही पछि हटेर भनेँ मैले, ‘म हजुरको सिटमा कसरी बस्न सक्छु अंकल ?’
‘होइन, तिमी यसमा बस ।’
‘म कसरी बसुँ अंकल ?’
‘मैले भनेपछि बसे हुन्छ ।’
‘होइन, होइन अंकल ।’
‘बस ।’ उनले कडाइका साथ भने, ‘यसमा एकपटक बसेर हेर ।’
अब केही नलागेपछि म बिस्तारै हाकिमसाबको कुर्सीनेर पुगेँ । केहीबेर त्यसै अलमलिएर उभिइरहें । अनि डराइडराईकन त्यसमा थपक्क बसेँ । म कुर्सीमा बस्नासाथ उनले मलाई अलिकति निहुरिएर नमस्कार गरे । यसको उत्तरमा मैले भनें, ‘भन्नोस् के काम छ ?’
‘मलाई चिन्नु भएन ?’ उनी निहुरिएकै मुद्रामा थिए ।
‘अहँ, चिनिनँ ।’ मैले घुम्ने कुर्सीमा हल्लिएर भनेँ, ‘खुरुक्क आफ्नो काम भन्नोस् ।’
कान्तिपुर, चैत्र २७, २०७२
Subscribe
Login
0 Comments
Oldest







































