केशव सिलवालभारत महान्
सखारै उठ्नुहुन्छ प्रधानमन्त्री
र कोल्गेट टुथपेस्टले दाँत मोलेर
बजाज कम्पनीको ऐना हेर्दै
फिस्स हाँस्नुहुन्छ
शितल निवासको छतमा टहलिनुहुन्छ राष्ट्रपति
र ‘जय गङ्गे’ भन्दै
दक्षिणतिर नमस्कार गर्नुहुन्छ
घर–घरमा गृहणीहरू
सजिन्छन् बनारसी साडीमा
र हिन्दी भजन गाउँदै
छम्छमी नाच्छन्
केटाकेटीहरू विद्यालय जान्छन्
र गाउँछन् ‘जन गन मन….भारत महान्’
अनि मुटु फुट्ने गरी घोक्छन्–
‘बुद्ध जन्मिएका हुन् भारतमा’
अति सस्तोमा किनेर लग्यो भारतले
हाम्रो राष्ट्रिय विभूति तेन्जिङ नोर्गेलाई
भारतमै पर्छन् हाम्रा महान् किल्लाहरू
देउथल र नालापानी
ब्रिटिस–इन्डियाले कोरिदिएको हो
दिउँसै जाँड धोकेजस्ता किरिङमिरिङ सीमारेखाहरू
र उसैले न्वारान गरिदिएको हो ‘नेपाल’ नाम
जसप्रति गर्वले फुल्छ हाम्रो ढुकुरे छाती
भारतको भात हसुरेर
भारतकै जय गान गाउनेहरू भएसम्म
नेपाल भारतकै एउटा प्रान्त हो
थाहा छैन
कहाँ छ हाम्रो राष्ट्रिताको ढाका टोपी ?
कहाँ छ लाज ढाक्ने हाम्रो धोती ?
भारतको तिखोे सियोेले
चसक–चसक घोचिदिन्छ सधैँ
हाम्रो स्वाभिमानको सगरमाथालाई
आदिबासीको आलो रगत
र काश्मिरको मासु खाएको भारत
आफैँ अणुबममाथि बसेर भन्छ–
‘नेपाल अझै किन जिउँदै छ’
ऊ मेट्न खोज्छ
नेपालका रक्तरेखाहरू
तर, भित्रभित्रै उम्लिरहेछ
पोखिन तयार हाम्रो रगत
हामी बच्ने छौँ
हाम्रै पाखुरीको बलले
हामी जीवित रहनेछौँ
कर्णाली र कोशीको पानी पिएर
हामीलाई बचाउने छन्
जुम्लाको मार्सी धान
र तराईको हरियो फाँटले
याद रहोस्–
मधेस हाम्रो मुुटु हो
मधेसी हाम्रा दाजुभाइ हुन् ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































