
यहाँ पान थुक्न मनाही छ
त्यहाँ रगत मिसिएको छ लाहुरेको मसला भनौँ कि के भनौँ ? त्यहाँ हड्डीको धुलो मिसिएको छ बहादुरको पानको पात बनाएर चपाइरहेछ छिमेकी हाम्रो चेलीको अस्मिता सुपारीझैँ टुक्रा-टुक्रा पारेर टोकिरहेछ यो देशको स्वाभिमान ।

केशव सिलवाल :
पिच्च पिच्च पान थुकिरहन्छ छिमेकी
यहाँ पान थुक्न मनाही छ
हेर, शहरका हरेक कुनाकाप्चा
हेर, गाउँका चौतारी र आँटीहरू
हेर, सिंहदरबारका भित्री भरेङका कुनाहरू
यहाँ बग्रेल्ती छन् पानका छिटाहरू
राजमार्गका दायाँबायाँ होस्
या होस् सगरमाथाको अग्लो भित्ता
या होस् लुम्बिनीको हरियो फाँट
राताम्य छन् पानका छिटाले
शहीदको रगतले सिञ्चित यस भूमिलाई
पानको रसले सिञ्चन नगर, छिमेकी
यहाँ पान थुक्न मनाही छ
कोशी नदीको बहाव होस्
या महाकाली नदीको गर्जन
या हुन् कर्णाली र गण्डकीका छाल
गुलजार छन् पानका छिटाले
रसजति सबै आफूले चुसेर
हाम्रो अनुहार नै बिग्रिनेगरी
मुखभरि नथुक पानको छिटा
यहाँ पान थुक्न मनाही छ
तर, यहीँ छन् बरा
थुकदानी लिएर छिमेकीको वरिपरि नाच्नेहरू
यहीँ छन्
छिमेकीले ओकलेको जुठो पान चपाउनेहरू
यहीँ छन् पानको थुकको छिटाले
आफू पवित्र भएको अनुभूति गर्नेहरू
पानको रस भनौँ कि के भनौँ ?
त्यहाँ रगत मिसिएको छ लाहुरेको
मसला भनौँ कि के भनौँ ?
त्यहाँ हड्डीको धुलो मिसिएको छ बहादुरको
पानको पात बनाएर चपाइरहेछ छिमेकी
हाम्रो चेलीको अस्मिता
सुपारीझैँ टुक्रा-टुक्रा पारेर
टोकिरहेछ यो देशको स्वाभिमान
सन्ततिकै लागि भए पनि
राख्नु छ साफसुथरा देश
पान थुकेर फोहर नगर, छिमेकी
यहाँ पान थुक्न मनाही छ ।
०००