केशव सिलवालबसाइँ !

ठीक यही ठाउँमा
पकाइरहेका हुन्थे सामूहिक खाना {{read_more}}
खान्थे बडो अनुशासनले
लाइन लागेर
सोध्थे– एकआपसमा
खाएको÷नखाएको
विमर्श गरिरहेका हुन्थे यहीँ बसेर
दिइरहेका हुन्थे प्रवचन
यहीँ हुन्थ्यो भेटघाट बिहानदेखि राती अबेरसम्म
मनाइरहेका हुन्थे नयाँ चाड र दिव्य दिवस
यहीँ नाचिरहेका हुन्थे गाउँदै बागी गीत
घाइते आउँथे
र आफ्नो घाउको खत देखाउँदै
बकिरहेका हुन्थे आफ्नो इतिहास
अनुहारमा हुने थिएन एक रति ग्लानी
लडाकु आउँथे
र उत्साहित हुँदै
सुनाउँथे कुनै मोर्चाको गाथा
निकै गुल्जार थियो यो क्याम्प
यस्तो आभास थियो–
हुँदैछ कुनै भव्य तयारी
लडिँदैछ कुनै दुरह मोर्चा
यसका हरेक कुनामा
उर्लिरहेका हुन्थे प्रबल उत्साह
अहिले सुनसान सुनसान छ
सपना मरेको साँझ
जस्तो मसानघाट हुन्छ
बसाइँ सरेर हिँडेछन् यहाँका मानिस
अहिले पनि आउँछन् घाउ बोकेर मानिस
हेर्छन् उदास आँखाले
र फर्किन्छन् थिचेर मुटुको भक्कानो
अहिले पनि आउँछ हावा
तर, छैन कुनै तरङ्ग
अहिले पनि उदाउँछ घाम
तर, छैन कुनै न्यानोपन
अहिले पनि आउँछन् पूर्व लडाकु
र हिजो लडेका मोर्चा सम्झेर
फर्किन्छन् मुर्झाउँदै
बसाइँ सरेपछि
मानिस मरेझैँ सुन्य छ यो क्याम्प
ठीक यही ठाउँमा
पकाइरहेका हुन्थे सामूहिक खाना ।
Subscribe
Login
0 Comments
Oldest







































