केशव सिलवालटेको

तँ नाथे एउटा टेको न होस्
तैँले बोक्नुपर्छ सकी नसकी टाउकोमा
पुरातन इतिहास {{read_more}}
र जीर्ण धरोहरहरू
तैँले नै बोक्नुपर्छ ढल्न लागेका घरहरू
तैँले ठाडो हिँडाइस् चिप्लेकिरालाई
तैँलै ठाडो उभ्याइस् विषालु सर्पलाई
तँलाई नै टेकेर हिँड्छ घाम
तँलाई नै टेकेर हाँस्छन् उचाइहरू
तँ नाथे एउटा टेको न होस्
तेरो अस्तित्व भन्नु
त्यही लौरो हो
जुन खोला तरेपछि बिर्सिन्छन्
तँ मक्किएर जाने होस्
जनताको ढाडजस्तै
तँ मेटिएर जाने होस्
बालुवाको अक्षरजस्तै
तेरो कुनै इतिहास हुँदैन
तेरो आफ्नो जीवन छैन
तँ यस्तो मसी होस्
जो आफ्नो पहिचान गुमाएर
अरुको इतिहासलाई आकार दिन्छस्
तँ हरदम गाउँछस् अरुको गीत
तर, कसैले सुन्दैनन् तेरो दर्दनाक रीत
तँ नाथे एउटा टेको न होस्
तैँले आफ्नो रगत चुसाएर
मेटाइस् यो देशको तीर्खा
तैँले नै बोकिस् लोकतन्त्रको खाँबो
तैँले नै दिइस् गणतन्त्रलाई भरोसा
तँलाई टेकेर उभिन्छन् नवीनतम् दरबारहरू
तँलाई नै टेकेर हिँड्छ यो जुलुमी व्यवस्था
तैंले नै बोकिस् क्रान्तिलाई यहाँसम्म
तर, तँलाई छोडेर अन्तै बरालियोे क्रान्ति
तँ थिइनस् त
यहाँ केही हुने थिएन सग्लो
तँ थिइनस् त
यहाँ कोही हुने थिएन अग्लो
रातभरि बस्छस् जागाराम
र बोक्नु नित्य कर्म भन्दै बोकिरहन्छस्
बोक्दा बोक्दै फुस्कियोस् कि तेरो ढाड ?
मौन बस्दा बस्दै फ्रिज होस् कि तेरो जिभ्रो ?
हेर्दा हेर्दै गुच्चा बनून् कि तेरा आँखा ?
मतलब भएन कसैलाई
तँ नाथे एउटा टेको न होस्
तेरो कुनै इतिहास हुँदैन
तँ मक्किएर जाने होस्
तैँले लाखौँ कोसिस गरे पनि
एक दिन अवश्य ढल्नेछन् मिति नाघेका धरोहरहरू ।
Subscribe
Login
0 Comments
Oldest







































