भावना न्याैपानेहातमा हम्मर लिएर
कसैका अगाडि रोएर के फरक पर्छ र ? आफ्नो कर्ममा, दैनिकीमा र मर्ममा ती कुरा त आफैमा निर्भर हुँदारहेछन् आफ्ना हात खुट्टा आफैसँग भए झैं।

भावना न्याैपाने :
रित्तो सडकमा हम्मर लिएर ढुङ्गा कुट्दैछु म
हातमा ठेला, पेटमा भोक र बूढो शरीर लिएर ।
कुनै बेला मेरो पनि बाल्यकालको समय थियो
यसले किन खाइन ? भनेर सोध्ने बाबा आमा थिए
र उनीहरूको निःस्वार्थ प्रेम थियो ।
आज म छोराछोरी भएर पनि एक्ली छु
नितान्त एक्ली म
आफ्नो बूढो शरीर लिए उभिएकी छु
बुढो भएपनि भोक त लाग्दो रहेछ
भोक लागेपछि भोक टार्न खानै पर्दोरहेछ,
त्यसैले म मरी मरी ढुङ्गा कुट्दैछु ।
बाटोमा आउने जानेले आमा ! भनेर बोलाउँछन्
म आफुसँग केही पीडा नभए जस्तै गरी
तिनका अगाडि खुलेर हाँसिदिन्छु म
किनकि अरूका अगाडि कहिल्यै रोइनँ म ।
अरूका अगाडि रोएर पनि के हुन्छ र?
कसैका अगाडि रोएर के फरक पर्छ र ?
आफ्नो कर्ममा, दैनिकीमा र मर्ममा
ती कुरा त आफैमा निर्भर हुँदारहेछन्
आफ्ना हात खुट्टा आफैसँग भए झैं।
लाग्थ्यो- बुढेसकाल आए पनि के फरक पर्ला
एक छाक खान र एक धरो लाउन त हो
छोराछोरीको साथ-सहयोग र माया पाउनेछु
बाँकी जीवन सहजै तिनकै साथमा बिताउनेछु ।
विडम्बना, छोराछोरी सबैले साथ छोडिदिए
एक पेटकै लागि पनि मुश्किल पारिदिए
काँपिरहेको कुप्रो शरीर लिएर ढुङ्गा कुट्छु
काँपि रहेका यी हातलाई कज्याइरहन्छु
प्राणै जाला जस्तो गरी दुखेर हातहरू
रातभरि सुत्न, निदाउन सक्दिनँ म।
उठेर तेल लगाउँछु, आगोमा सेकाउँछु
सोच्छु- भोलि त ढुङ्गा कुट्न जानैपर्छ ।
बेला बेलामा छोराछोरी सम्झन्छु,
एक्लै बसेर आँसुले अनुहार धुन्छु
आँसुका धारा बगाएर मात्रै के हुन्छ?
जति सम्झे पनि सम्झेको कसले सुन्छ ?
बाँच्नै पर्नेरहेछ मान्छेलाई
त्यसका लागि पेट भर्नैपर्ने रहेछ
त्यसैले आफ्नो काममा फर्कन्छु सधै झैं
हातमा हम्मर लिएर कुट्न थाल्छु ढुङ्गा ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































