प्रेम ओली ढकलपुरेफर्सी र नेता
मलाई नेता फर्सी जस्ता
फर्सी नेता जस्ता लाग्छ
पहिले पहिले नेता घिरौला जस्ता
पछि फुलिएर फर्सी जस्ता
आँप सड्यो भने पनि बसाउँछ
अम्बा सड्यो भने पनि बसाउँछ
तर फर्सी सड्यो भने
न बसाउँछ न गनाउँछ
एकै पटक फुट्यो भने
गनाएर तपाईंंलाई ठहरै बनाउँछ
नेता पनि पहिला राम्रै लाग्छ
सबैलाई उसप्रति आशा जाग्छ
तर एक दिन यसरी गनाउँछ कि
उसलाई देखे जो पनि भाग्छ ।
जनता आँप परे अम्बा परे
फर्सीलाई थाम्ने खम्बा परे
नेता फर्सी लहरा जस्तै
फैलीराछन् फैलीराछन्
ठ्याङ्ग्रो नपाउनेहरू
ओइेलीराछन् ओइेलीराछन्
फर्सी माथि माथि जान खोज्यो भने
तरकारीको लागि मुन्टा चिमोटिन्छ
नेता माथि माथि जान खोज्यो भने
अग्रजबाट नै उसलाई निमोठिन्छ
त्यसैले अचेल मलाई
फर्सी र नेता उस्तै लाग्छ ।
फर्सीले पनि पायो भने
अर्को पाटोसम्म पुग्छ
नेताले पनि पायो भने
जसको पार्टीमा पनि पुग्छ
फर्सीले बारी फेर्न सक्छ
नेताले पनि पार्टी फेर्न सक्छ
फर्सी पनि चोरिन्छ
नेता पनि चोरिन्छ
भान्सेलाई मन लाग्यो भने फर्सी दोरिन्छ
मान्छेलाई मन लाग्यो भने नेता दोरिन्छ
झोक चल्यो भने दुबै छोरिन्छ
त्यसैले मलाई अचेल
फर्सी देख्यो भने
नेता नेता जस्तो लाग्छ
नेता देख्यो भने
फर्सी फर्सी जस्तो लाग्छ
घरमा फर्सी पाक्यो भने
खान पनि मन नलाग्ने
नेता भन्यो कि भेट्न पनि
जान मन नलाग्ने
मलाई मात्र हो कि अरुलाई पनि हो
गर्भबती महिला जस्तो
नेता र फर्सी अमन लाग्ने ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































