इन्द्रकुमार श्रेष्ठफरक
छेडी पहाड अरुले द्रुत रेल हाँके
पुर्दै समुद्र उसमाथि विमान राखे
सुख्खा मरूभूमि थियो शहरै बसाए
भएर एक जनता श्रममा रमाए ।
शिक्षा त प्राविधिक नै सबमा दिलाए
ठूला विचार मनभित्र अझै बढाए
धेरै अरु मुलुकले गति तीव्र पारे
संमृद्धिको अझ नयाँ बिरुवा उमारे ।
बोकेर चिन्तन सदा ’अझ गर्न बाँकी’
धेरै छ रे मुलुकमा रुप भर्न बाँकी
यस्तै निरन्तर डुबी तप सिर्जनामै
स्वर्गै बनाउन भनी कवि कल्पनाझैं ।
हामी त खालि अदलीबदली व्यवस्था
वर्षौं बिताइ दिनुको नमिठो अवस्था
गर्दै अझै पनि हरे ! मुख नाक बन्द
बोली छ प्राप्ति अधिकार नयाँ बुलन्द ।
जैल्यै तनाव झगडा र विरोध हुन्छ
जैल्यै शहीद विचरा अविराम रुन्छ
मार्नेहरू जति भए अझ देख्छु भुक्ने
हार्नेहरू सब भए दुखभित्र लुक्ने ।
जोगीहरू सब भए अब कान चिर्ने
भोगीहरू सब भए जनचाह पिर्ने
हामी सदा भुइँमुनि युग चन्द्रमामा
मैले दिनै सकिनँ हे ! सुख मेरी आमा ।
‘यस्तै रहोस्’ भनिदिए मन कत्ति मिल्छ
केही गरौं नभन भो ! मन अत्ति पिर्छ
राम्रो कुरा हुन कतै किन दिन्न मान्छे
आफैं अघाउनु पर्यो किन ? दुष्ट भान्छे !
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest








































