फित्काैली डटकमबडी ल्याङ्ग्वेज
जमाना अब ‘बडी ल्याङ्ग्वेज !’ मा आइपुगेको छ । बुद्धिको बज्रस्वाठ भए पनि ‘बडी ल्याङ्ग्वेज’ ले उसको स्वाँठपन पनि छोपिदिने भयो । यो त जमानाको रङ्गले ल्याएको एकप्रकारको ढङ्ग न हो । मेकालेको शिक्षानीति लागू भएदेखिनै नेपालमा अङ्ग्रेजीवाजहरूको सङ्ख्या उकालो लागेको लाग्यै छ । त्यसकारण पनि होला नेपाली जिब्रो ‘बडी ल्याङ्ग्वेज’ पदावली नेपाली भाषाकै पदावली जस्तो भइसक्यो । बुझे पनि नबुझे पनि बुझे जस्तो गर्नु पर्ने सर्वसाधारणको वृत्ति भइसक्यो । जनता जनार्दनको बडी ल्याङ्ग्वेजको कुरा गरेर त के अर्थ राख्छ र ? उनीहरूको शरीरबाट त पसिना धूलो मैलो असिनामात्र निस्कन्छ । त्यस्तो अद्भूत चमत्कारिक उच्छवास त नौटङ्की शिष्ट चालमा पो देखिन्छ त । यो अब टिपिक्कका सुरूवालमा देखिने सर्वसाधारणका भावभङ्गीका विपरीत राष्ट्रिय पोशाकमा सजिने ऐन नियममा ऐँजेरू लगाइ दिने शासक र उच्च कर्मचारी तन्त्रमा बाक्लै देखिन्छ आजभोलि ।
उखानको अर्थ पनि बदलिने गरी बडी ल्याङ्ग्वेज प्रस्तुत हुन्छ । ‘कुरा तिता, काम मिठा’ ‘काम तिता कुरा मिठा’मा परिवर्तन भएकोले वाक् प्रतिक्रियाभन्दा जिउ प्रतिक्रियाको अनौठो उपस्थितिलेजनहरू रनभुल्लको घनचक्करमा अलमल्ल छन् । नहुनु पनि किन ? कोट, प्यान्ट, टाइ, भादगाउँले टोपी, कुर्ता सुरूवाल, गम्छा टोपी अनेक अनेक पोशाकका बडी ल्याङ्ग्वेज हेर्ने कि बोली सुन्ने ? सुकिलामुकिलाहरूको बोली ल्याङ्ग्वेज भन्दा बडी ल्याङ्ग्वेज झन् बढी प्रष्ट हुन थालेको छ ।
सन्की, हेपाहा, सर्वज्ञाता, शक्तिशाली, मूर्ख, आडम्बरी, शौम्य, शान्त, निर्जीव, अटेरी, स्वकेन्द्रित, बहु केन्द्रित, कस्तो बडी ल्याङ्ग्वेज हो ? ड्रेसका त अनेक प्रकार छन् ड्रेस अनुसारकै बडी ल्याङ्ग्वेज । गुप्ताङ्ग मात्रै ढाक्ने कि पूरा शरीर ढाक्ने, बाँकटे लाउने कि, पूरा बाहुले लाउने, कसरी कसलाई कुन तरिकाले तान्ने, हेप्ने, खिसिट्युरी गर्ने, त्यस अनुकुलको पोशाक पहिरन गरी शरीरको चालढाल देखाउनु पनि बडी ल्याङ्ग्वेज नै हो । यसका खप्पिस वाजहरूमा देश विदेशका शक्तिकेन्द्रका प्रमुखहरू नै सर्वप्रथम दृश्य सञ्चारमा देखिन्छन्, देखिँदै आएका छन् ।
थरि थरिका र परिका बडी ल्याङ्ग्वेजको दृश्य हेरेपछि दर्शक सोही अनुकुल परिणत हुन खोज्नु स्वाभाविकै हो । त्यही घोत्ल्याइँमा बबुरो जनमन पनि पर्न थाल्छ । जताततै बडी ल्याङ्ग्वेज देखिएपछि यो शरीर भाषा पनि क, ख, ग, घ÷ए,बी, सी, डी सिके जस्तै नसिकी नहुने भइसक्यो । चालढाल नमिलाई काम गरे कसैको कुनै काम पनि हुँदैन । सरकारी काजमा, देशै सङ्कटमा पर्दा जमाखोर, सञ्चयकर्ताहरूको दामले ठाम पाएका विशिष्ट पदाधिकारीहरूको, सवैतिरबाट असुलउपर गर्ने डन दिग्गजहरूको, राज्यको ढुकटी र अन्यस्र्रोतबाट आय आर्जन गर्ने विशिष्ट सबै तप्का र तहका व्यक्तिहरूको चालढाल बुझियो भने दाम नाम कसरी कमाइन्छ ? इज्जत बेइज्जत के हो ? गर्नु पर्ने काम के हो ? सबै बडी ल्याङ्ग्वेजले नै भन्दछ ।
बडी ल्याङ्ग्वेजका रूपहरू पनि असङ्ख्य छन् । यो प्रकृति जस्तै अपरम्पार छ । मन हाँस्दा र रूँदा तनका तन्तुहरू कहाँ कहाँ सल्बलाउँछन् सबै देख्न त दुर्लभ नै भयो । थुतुनोको आकार, शरीरको मर्काइ, टाउकाको हल्लाई, खुट्टाको हिँडाई, हातको हल्लाई, अनेक हाउभाउको भाव प्रस्तुति र चालढालबाट अनेक ग्राह्य अग्राह्य, तटस्थ प्रतिक्रियाहरूको अवलोकन गर्ने अवलोकनकर्ता चाहिँ कुहिराको काग जस्तो अवस्थामा पुग्छ ।
कमिलाले पनि हात्तीको विनाश गर्छ । अपारदर्शी धन कमाउने, देशद्रोही चाल देखाउने, आफूलाई विशिष्ट ठान्ने महामहिमहरू, अरौटे भरौटे अगुवाहरूको अदृश्य प्वालहरूबाट कमिलाका ताँतीहरू छिरे कता चिलाउने, कता कन्याउने, निश्चित ठाउँ नभेटिएला । भाषासँगै आयात भएको यो बडी ल्याङ्ग्वेजले नेपाली बुद्धिमाथि भिषण आक्रमण गर्दैछ । कतै यसैको प्रस्तुतिले ल्याउने विघटनको सिकार तपाइँ हामी भइरहेका त छैनौँ ? प्रश्न उठ्ने नै भयो । यो बाङ्गो निबन्ध लेखेर मैले पनि आफ्नो ‘बडी ल्याङ्ग्वेज’ प्रदर्शन गरेको आरोप लाग्छ भने लागिरहोस्, बडी ल्याङ्ग्वेज देखाउने विशिष्टहरू मध्ये म पनि त एउटा रहेछु भनेर गौरव नै गरूँला क्यारे ….।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































