सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भट्टराईका तीन कृति सार्वजनिक

Nepal Telecom ad

भरतपुर । समालोचक तथा कवि डा. धनेश्वर भट्टराईका तीनवटा कृतिहरू एकैचोटि बाहिर आएका छन् । भरतपुरमा सम्पन्न एक कार्यक्रममा यी कृतिहरू सार्वजनिक गरी त्यसमाथि विचार–विमर्शसमेत गरिएको छ । भट्टराईका समालोचनात्मक कृतिहरू ‘समीक्षात्मक अनुशीलन’, ‘देवकोटा : जीवनी, कविता, महाकाव्य यात्रा’ र ‘पारिजात : परिचय, चिन्तन र प्रकृति’ सार्वजनिक गरिएका हुन् ।

हाम्रो सिर्जना साहित्यिक त्रैमासिक, चितवन साहित्य संगम र प्रगतिशील लेखक संघ चितवनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । खोज तथा अनुसन्धान गरी तयार पारिएका पुस्तकका विभिन्न अंशहरू पाठ्यक्रममा समेत समावेश गर्न सकिने तरिकाले प्रकाशन गरिएको भट्टराईले बताएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा र पारिजातका विषयमा थाहा नभएका कतिपय कुराहरू समेत खोज गरी समावेश गरिएको पुस्तक नेपाली साहित्यप्रेमीहरूका लागि उपहार भएको उनले बताए ।

भट्टराईका विमोचित कृतिहरूमध्ये १६ वटा समालोचनाहरू समावेश गरिएको कृति ‘समीक्षात्मक अनुशीलन’माथि समालोचक पूर्णप्रसाद अधिकारीले टिप्पणी गरेका थिए भने ‘देवकोटा : जीवनी, कविता, महाकाव्य यात्रा’ कृतिमाथि समालोचक कपिल अज्ञातले टिप्पणी गरे । ‘पारिजात : परिचय, चिन्तन र प्रकृति’ पुस्तकमाथि अर्का समालोचक होमनाथ सापकोटाले समीक्षा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका निबन्धकार तथा समालोचक डा. नारायणप्रसाद खनालले धनेश्वर भट्टराईका कृतिहरू उपयोगी र सङ्ग्र्रहणीय रहेको बताए । कार्यक्रम समालोचक डीआर पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad